धनगढीमा तेजराज भट्ट कञ्चनपुरमा मोहन विष्ट बाँकेमा विश्वराज पछल्डङ्ग्या
वर्षौँको दूरी मेटाउँदै परिवारको न्यानो अँगालोमा रमाउने, मान्यजनबाट टीका र आशीर्वाद थाप्ने अनि आफ्नै गाउँघरमा चाडपर्वको रौनकमा रमाउने चाहनाले प्रवासी नेपालीहरू दसैँको मुखमा उमंग बोकेर धमाधम घर फर्किरहेका छन् ।
रोजगारीको बाध्यताले परदेश पुर्याए पनि दसैँले उनीहरूलाई मातृभूमि, परिवार र आफन्तको न्यानो सान्निध्यमा ल्याइपुर्याएको छ ।टीका, जमरा र मिठोमसिनो खाने मात्रै नभई दसैँ पर्व परदेशमा पसिना बगाइरहेका नेपालीका लागि परिवारसँग पुनर्मिलन, बाल्यकालका सम्झना र आफ्नोपन महसुस गर्ने अभूतपूर्व अवसर बन्छ ।
सोही कारण वर्षभरि परदेशमा कामको बोझ र घरपरिवारबाट टाढिनुको पीडा सहेकाहरू दसैँ आउँदा सकेसम्म बिदा मिलाएर घर फर्किरहेका छन् । कोही एक दशकपछि
छोराछोरीसहित परिवारसँग चाड मनाउन फर्किएका छन्, कोही पाँच वर्षपछि दसैँको टीका र तिहारको भाइटीका लगाउन नेपाल आउँदै छन् ।
तीमध्ये एक हुन् अञ्जना तिवारी । उनले अमेरिकाको मियामी सहरबाट दसैँ मनाउन अष्टमीको साँझ काठमाडौं ओलिर्ने टिकट काटेकी छिन् । काठमाडौंमा एक रात बसेपछि उनी भोलिपल्टै माइती झापाको बेलडाँगी जाने योजनामा छिन् । पाँच वर्षपछि नेपाल आएकी उनी यसपटक दसैँको टीका र तिहारको भाइटीका लगाएर अमेरिका फर्किने तयारीमा छिन् ।
‘अरू वेलाभन्दा दसैँमा धेरै आफन्तसँग भेटघाट हुने भएकाले नेपाल आउने योजना बनाएकी हुँ,’ उनले भनिन् । आठ वर्षअघि पनि जाडो मौसममा नेपाल आएकी थिइन् । तर, त्यतिवेला अमेरिकाबाट सपरिवार आएकाले घुमघाममै व्यस्त हुँदा धेरै आफन्तसँग भेट हुन पाएको थिएन । ‘धेरै आफन्तलाई भेट्न दसैँमै आउनुपर्ने रहेछ भन्ने लाग्यो । त्यसैले यसपटक दसैँ–तिहारको मेसो मिलाएर टिकट काटेकी छु,’ उनले सुनाइन् । एक महिना बसेर उनी अमेरिका फर्किनेछिन् ।
त्यस्तै, वैदेशिक रोजगारीका लागि १२ वर्षदेखि ओमानमा बस्दै आएका प्रवीण ढकाल पनि दसैँको छेको पारेर मोरङ आउँदै छन् । रतुवामाई नगरपालिकाका स्थायी बासिन्दा उनी हरेक वर्ष दसैँ मनाउन नेपाल आउने गरेको बताउँछन् । ‘म हरेक दसैँमा नेपाल आउँछु । गाउँघर घुम्छु र फर्किन्छु,’ उनले भने, ‘ओमान गएको पहिलो वर्ष आउन पाइनँ । एकपटक दुई वर्षपछि नेपाल फर्किएको थिएँ । तर, तेस्रो वर्षदेखि भने हरेक वर्ष दसैँमा आउने गरेको छु ।’
उनका अनुसार अरू वेला गाउँघर सुनसानजस्तै भए पनि दसैँमा साथीभाइ र आफन्तसँग भेटघाट गर्ने अवसर जुर्छ । उनका साथीहरू पनि बहराइन र मलेसियामा रोजगारीका लागि छन् । उनीहरू पनि दसैँमा घर फर्किन थालेपछि आफू पनि नेपाल आउने गरेको उनले बताए । ‘देश–विदेशमा रहेका सबै साथीभाइसँग भेट्न दसैँ नै कुर्नुपर्छ । त्यसैले यही वेला आउने गरेको छु,’ उनले भने ।
बिदेसिएका नेपालीले एकैपटकमा धेरै आफन्त र साथीभाइ भेट्ने अवसर दसैँ र तिहारले जुराइदिएको छ । त्यस्तै, मान्यजनमा टीका लगाएर आशीर्वादसमेत पाइने र परिवारसँग बसेर खानपिन गर्ने अवसरसमेत जुट्ने भएकाले पनि विदेशबाट फर्किने नेपालीको संख्या दसैँका वेला धेरै हुने गरेको छ । विमानस्थलमा यसको चाप देखिने गरेको छ ।
तेस्रो मुलुकबाट मात्र होइन, छिमेकी भारतमा रोजगारी गर्न गएका नेपाली पनि स्थलमार्ग हुँदै घर फर्किरहेका छन् । भारतका विभिन्न सहरमा मजदुरी गर्ने नेपाली पनि कमाइ र मनभरि घरपरिवारसँग भेट्ने खुसी बोकेर सीमावर्ती नाकाबाट स्वदेश प्रवेश गरिरहेका छन् । नेपालगन्ज, धनगढी र कञ्चनपुरका सीमावर्ती नाकामा अहिले स्वदेश फर्कनेको भिड छ । भारतमा रोजगारीका लागि खासगरी पश्चिमतिरका नेपाली धेरै जाने गरेका छन् ।
कञ्चनपुरको वनबासादेखि गड्डाचौकी सीमानाकामा बिहानैदेखि स्वदेश फर्किने नेपालीको घुइँचो लाग्ने गरेको छ । बाजुरा कुण्डी गाउँका हर्क नेपाली एक दशकपछि पहिलोपटक स्वदेश फर्किएका छन् । स्वदेशमा रोजगारी नपाएपछि १२ वर्षकै उमेरमा बिदेसिन बाध्य उनी लालाबालासहित दसैँ मनाउन मातृभूमि फर्किएका हुन् ।
भारतको दिल्लीमा मजदुरी गर्दै आएका उनी पत्नी र तीन सन्तानसहित १० वर्षपछि घरपरिवारसँगै दसैँ मनाउन फर्किएको बताए । ‘रोजगारी र छोराछोरीको अध्ययनका लागि १० वर्षसम्म घर पनि नआई भारतमै दसैँ मनाएँ । अहिले उता छुट्टी गरेर स्वदेश आएको छु,’ नाकामा भेटिएका उनले भने, ‘यसपटक परिवारसँगै दसैँ मनाएर फेरि काममा फर्किन्छु ।’
भारतको दिल्ली होटेलमा काम गर्दै आएका बझाङका रतनराम लुहार पनि पत्नी र दुई सन्तान लिएर दसैँ मनाउन घर फर्किएका छन् । लुहार पनि आठ वर्षअघि भारत पसेका थिए । उनले काम र छोराछोरीको पढाइका कारण पाँच वर्षदेखि दसैँमा घर आउन नपाएको बताउँदै अहिले समय जुरेपछि आएको बताए ।
त्यस्तै, भारतको बेंग्लोरमा काम गर्दै आएका अछामका भक्तबहादुर साउदले दसैँका लागि मात्रै घर आउन पाएको बताए । उनले आफू हरेक दसैँमा घर आएको बताउँदै फेरि लगत्तै फर्किने बताए ।
सिम्ला पहाडमा स्याउ टिप्ने सिजनमा रोजगारीका लागि जाने गरेका बेलडाँडीका अर्जुन रानाले दसैँ खर्च जुटाएर घर फर्किएको बताए । ‘चुनावका वेला हाम्रा नेताहरूले स्वदेशमै रोजगारी दिन्छु भन्छन्, तर चुनाव जितेपछि हाम्रा कुरा सुन्दैनन्,’ उनले भने, ‘पेट पाल्नकै लागि भए पनि असारमा रोपाइँ सकेर स्याउ टिप्न गएको हुँ ।’ कैलालीको राजीपुरका पदम चौधरीले पनि रोपाइँ सकेर हिमाञ्चलमा स्याउ टिपेर घर फर्किएको बताए । ‘रोपाइँ सकेर काम गर्न भारत गएँ । दसैँ, तिहार मनाएर गहुँ छर्केर फेरि जान्छौँ ।’
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार दसैँ लक्षित गरेर हाल दैनिक १२ सय नागरिक गड्डाचौकी नाकाबाट भित्रिने गरेका छन् । कञ्चनपुरका प्रहरी प्रवक्ता टेकबहादुर रावतले भारतबाट फर्किने नेपाली मजदुरसहितका सबै यात्रुका लागि सीमावर्ती क्षेत्रमा आवश्यक सुरक्षामा लागि हेल्पडेस्कसहितको प्रबन्ध गरिएको बताए । ‘भारतबाट स्वदेश फर्किने यात्रुका लागि भारतीय प्रहरीसँग समेत समन्वय गरेका छौँ,’ उनले भने ।
गौरीफन्टा–त्रिनगर नाका भएर अहिले दैनिक करिब तीन हजारको संख्यामा भारतबाट नेपाली आउने गरेको प्रहरीले जानकारी दिएको छ । रोजगारीमा गएकाहरू फर्केका कारण सुदूरपश्चिमका गाउँघरमा दसैँको उमंग छाएको छ । सीमानाकाहरूमा पनि अहिले घर फर्कनेको थामिनसक्नु भिड छ । बाध्यताले भारत जानुपरे पनि परिवारसँग खुसीसाथ चाडबाड मनाउन फर्किएको उनीहरू बताउँछन् ।
घरमा परिवारसँग बसेर दसैँ मनाउन आएका डोटीको दिपायल–सिलगढी नगरपालिका बागठाटाका टेक आउजी गौरीफन्टा नाका भएर स्वदेश फर्किएका छन् । भारतको महाराष्ट्रमा ४० वर्षदेखि बजारको चौकीदारी काम गर्दै आएका उनी गत वर्ष पनि यसैगरी दसैँका वेला घर फर्किएका थिए ।
६० वर्षीय आउजीले आफू १७–१८ वर्षको उमेरमै गरिबीको बाध्यताले रोजगारीको खोजीमा भारत छिरेको बताए । चाडबाडका वेला एकाध महिनाका लागि छुट्टीमा घर आउनेबाहेक जीवनका ४०–४२ वर्ष भारतमै बिताएको उनले बताए । त्रिनगर नाकामा भेटिएका आउजीले भने, ‘बालबच्चा पाल्न, गुजारा चलाउन काम नगरी सुख छैन ।’ घरमा
श्रीमती, छोराबुहारीसहित परिवारसँग दसैँ मनाउन घर आएको उनले सुनाए ।
भारतको दिल्लीबाट रातभर बसको यात्रापछि मंगलबार बिहान त्रिनगर नाका आइपुगेका अछामको मेल्लेखका हेमराज साउद घर जाने हतारोमा थिए । तीन वर्षदेखि उनी दिल्लीको गाजियाबादस्थित एक होटेलमा खाना बनाउने काम गर्छन् । उनी दिल्लीमै काम गर्ने गाउँका तीनजना साथीसँग घर फर्किरहेका थिए ।
तीन वर्षअघि आठ कक्षाको पढाइ छाडेर काम खोज्दै भारत पुगेका साउदले गरिबीको बाध्यताले भारत जानुपरेको सुनाए । ‘आफ्नै ठाउँमा काम पाएको भए, परिवारमा आर्थिक समस्या नभएको भए पढाइ छोडेर किन अर्काको देश जाने थिएँ र ?’ उनले भारत जानुपर्ने बाध्यता सुनाए ।
नाकामा घर फर्कनेको भिडमा युवा र तन्नेरी मात्रै होइन, १६–१७ वर्षका किशोरदेखि ६०–६५ का प्रौढ उत्तिकै छन् । रोजगारीका लागि र श्रीमान्सँगै भारतमा रहेका महिला दुधे बालबालिका काखे च्यापेर फर्किरहेका भेटिन्छन् ।
‘यहाँका नाकाहरूमा अहिले घर फर्किने र काम खोज्न भारत जानेको भिड देख्दा लाग्छ आधा सुदूरपश्चिम भारतमै छ,’ धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक राजेन्द्रवीर चन्द भन्छन्, ‘यो घर फर्कनेको भिड मात्र होइन, यसले सुदूरपश्चिमको गरिबी र बेरोजगारीको अवस्था पनि दर्साउँछ ।’ मुलुक संघीय संरचनामा गएपछि पनि गाउँमा रोजगारीका अवसर सिर्जना र गरिबी न्यूनीकरण हुन नसकेको उनले बताए ।
खासगरी यहाँका पहाडी जिल्लामा घरैपिच्छे एकजना भारतीय रोजगारीमा छन् । भारत जानेमध्ये धेरैजसो कठिन काम र न्यून ज्यालामा काम गर्न बाध्य छन् । डोटीको खुल्लेखका लक्ष्मण बोगटी मुलुकमा ठुलो आन्दोलन र परिवर्तन भए पनि आफूहरू सामान्य कामका लागि भारत जानुपर्ने बाध्यता अझै उस्तै रहेको बताउँछन् ।
गाउँमा केही काम नपाएपछि तीन वर्षअघि १० कक्षामा पढाइ छाडेर भारत जानुपरेको उनले बताए । ‘बुवा हुनुहुन्न । घरको जेठो छोरो भएकाले आमा, भाइबहिनीको जिम्मेवारी मेरा काँधमा आयो,’ बोगटीले भने, ‘घरको आर्थिक स्थिति कमजोर छ, भाइबहिनीलाई पढाउन आफ्नो पढाइ छोडेर काम खोज्न भारत गएँ ।’
कुमाख गाउँपालिका– ५, सल्यानका दीपक बुढा भारतबाट दसैँ मनाउन नेपाल फर्किएका छन् । भारतको सिमलास्थित एक स्याउ फार्ममा काम गर्छन् । चार वर्षदेखि भारतमै रहेका उनले तिहार मनाएर फर्किने गरी नेपाल आएको बताए । ‘धेरै वर्षपछि दसैँ मनाउन आएको छु,’ उनले भने, ‘परिवारसँग बसेर दसैँ र तिहार मनाउने योजना छ ।’
बबई– १, दाङका दीपेश बुढाथोकी पनि दसैँ मनाउन घर फर्किएका छन् । भारतको चण्डीगढबाट आएका उनी नेपालगन्ज नाका पार गरेपछि खुसी भए । ‘अब त नेपाल प्रवेश गरियो । दसैँ र तिहार धुमधामसँग मनाउने हो,’ उनले भने । उनी दुई वर्षदेखि चण्डीगढमै थिए । दुई वर्ष उतै दसैँ मनाएका उनले अर्काको देशमा जति मिठो खाए पनि रमाइलो नहुने गरेको अनुभव सुनाए । ‘अर्काको देशमा दसैँ, तिहार मनाउँदा जति मिठो भोजन भए पनि नमिठो लाग्दो रहेछ,’ उनले भने, ‘आफ्नो देशमा प्रवेश गरेपछि मन अर्कै हुन्छ । परिवार, इष्टमित्र, साथीभाइसँग बसेर खाँदाको आनन्द बेग्लै हुन्छ ।’
सानीभेरी गाउँपालिका– ३, रुकुम पश्चिमका सन्तोष थापा पनि बुधबार नेपालगन्ज नाकामा भेटिए । दसैँ मनाउन भारतको कुल्लु मनालीबाट आएको उनले बताए । उनले गत वर्षको दसैँ कुल्लु मनालीमै मनाए । ‘साथीभाइसँग दसैँ मनाए पनि न्यास्रो लाग्दो रहेछ । ज्यान उता भए पनि मन आफ्नै गाउँघरमा हुन्थ्यो,’ उनले भने, ‘मालिकले यस वर्ष पनि यतै मनाउन भन्दै थिए, मनले मानेन, जबर्जस्ती आएँ ।’
१० वर्षपछि दसैँ मनाउन फर्किएको भेरीगंगा नगरपालिका– ६, सुर्खेतका शंकर परियारले बताए । उनले १५ वर्षदेखि हिमाञ्चल प्रदेशको सिमलास्थित कृषि फार्ममा काम गर्दै आएका छन् । ‘नौवटा दसैँ उतै मनाइयो । यस वर्षको दसैँ आफ्नै गाउँमा मनाउनुपर्छ भनेर नेपाल आएका छौँ,’ परिवारसहित आएका उनले भने, ‘कति अर्काको देशमा मात्र मनाउने हो । आफ्नो देशमा छुट्टै आनन्द आउँछ,’ उनले भने ।
कामका लागि भारत गएकाहरू फर्किनेको नेपालगन्ज नाकामा घुइँचो लाग्ने गरेको छ । नेपालगन्ज नाकाबाट दैनिक औसत सात हजार नेपाली स्वदेश फर्किने गरेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईले जानकारी दिए । सोह्रश्राद्ध सुरु भएदेखि नेपाल फर्किनेको संख्या बढेको उनले बताए ।
भारतको पुनाबाट फर्किएकाअछामको चौरपाटी गाउँपालिका– ७, मार्कुका भरत मयल्की भन्छन्– देशमा आन्दोलन भयो । सरकार परिवर्तन भयो, तर हाम्रा लागि परिवर्तन भएन । मजदुरी गर्न भारत जानुपर्ने बाध्यता छँदै छ । यहाँ काम पाएको भए यत्रो दुःख गरेर, अपहेलित भएर अर्काको देश किन जान्थ्यौँ र ? कम तलब भए पनि काम पाएको भए यहीँ बस्थ्यौँ ।
भारतको महाराष्ट्रबाट फर्किएका डोटीको दिपायल–सिलगढी नगरपालिका– २, खुल्लेकका लक्ष्मण बोगटी भन्छन्– गरिबीका कारण १७ वर्षको उमेरमै पढाइ छोडेर अर्काको देश जानुपरेको छ । स्वदेशमै रोजगारी भएको भए यतै बस्थ्यौँ । अहिले देशमा परिवर्तन भएको छ । सरकारले हामी युवालाई यहीँ रोजगारीको व्यवस्था गरिदिनुपर्छ । गुजाराका लागि सामान्य काम गर्न पनि अर्काको देश जानुपर्ने बाध्यता सरकारले हटाउनुपर्छ ।