१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २६ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज २६ शुक्रबार o९:३१:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

संसदमा उठ्यो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कालापानी भ्रमणको मुद्दा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज २६ शुक्रबार o९:३१:oo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूभाग कालापानी भ्रमण गरेको विषय संसद्मा उठेको छ । मोदीले नेपालको दार्चुलाअन्तर्गत पर्ने कालापानी क्षेत्रको कुटी, नाभी, गुन्जी गाउँको अवलोकन गरेपछि प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । 

रास्वपा सभापति रवि लामिछानेले मोदीको भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरे । ‘छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हाम्रो भूभागमा आउनुभएको रहेछ । चुच्चे नक्साभित्र पर्ने नेपाली गाउँ कुटी, नाभी र गुन्जीमा भारतका प्रधानमन्त्रीले भ्रमण गर्नुभयो । तर, न सरकारले स्वागत गरेको छ, न देशलाई जानकारी गराएको छ,’ उनले भने । 

प्रमुख जिल्ला अधिकारीसँग कुरा गर्दा मोदीको भ्रमणबारे जानकारी पाएको, तर त्यहाँ आफूहरू जान नपाउने प्रतिक्रिया दिएको उल्लेख गर्दै लामिछानेले सोधे, ‘छिमेकी देशमा प्रधानमन्त्रीको आफ्नो भूमिमा यति ठूलो भ्रमणबारे सरकारले जनता र सदनलाई जानकारी दिनुपर्दैन ? छिमेकी राष्ट्रको सरकार प्रमुख हाम्रो भूमिमा आउँदा कुनै स्वागत वा औपचारिक कार्यक्रम हुनुपर्दैन ? कुनै औपचारिकता हुँदैन ?’ 

मोदीको भ्रमणबारे परराष्ट्र मन्त्रालयले वास्तविकता के हो भनेर सदनलाई जानकारी गराउन उनले सरकारको ध्यानाकर्षण गराए । ‘हामीले भोग गरेको, प्राप्त गरेको भूभाग भएकाले त्यहाँ आउनुभएको छिमेकी राष्ट्रको प्रधानमन्त्रीलाई हामीले औपचारिक पूरा गर्नुपर्ने हो, यसको जवाफ सरकारबाट सदनलाई यथाशीघ्र होस्,’ उनले भने । 

सांसद विनिता कठायतले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसहित भारतका प्रधानमन्त्री कालापानी पुगेको भन्दै भ्रमण केका लागि भनेर प्रश्न गरिन् । ‘अचानक यस्तो भ्रमण केका लागि हुँदै छ ? नेपाली भूभागमा अचानक विना कुनै जानकारी यसप्रकारको भ्रमणलाई के भनेर बुझ्ने ? के–कति कारणले भएको पत्ता लगाउन परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराउँछु,’ उनले भनिन् । 

सांसदहरूले इजरायलमा रहेको नेपालीलाई स्वदेश फर्काउन, चाडपर्वको मुखमा बजारमा बढेको महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । 

बैठकमा कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमा दफावार छलफल गरी समितिले तयार पारेको प्रतिवेदन पेस गरेकी थिइन् । यसैगरी, शिक्षामन्त्री अशोक राईको प्रस्तावमा प्रतिनिधिसभाले विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि विषयगत समितिमा पठाएको थियो ।

रवि लामिछाने सभापति, रास्वपा
छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हाम्रो भूभागमा आउनुभएको रहेछ । चुच्चे नक्साभित्र पर्ने नेपाली गाउँ कुटी, नाभी र गुन्जीमा भारतका प्रधानमन्त्रीले भ्रमण गर्नुभयो । तर, न सरकारले स्वागत गरेको छ, न देशलाई जानकारी गराएको छ । छिमेकी देशमा प्रधानमन्त्रीको आफ्नो भूमिमा यति ठूलो भ्रमणबारे सरकारले जनता र सदनलाई जानकारी दिनुपर्दैन ? हामीले भोग गरेको, प्राप्त गरेको भूभाग भएकाले त्यहाँ आउनुभएको छिमेकी राष्ट्रको प्रधानमन्त्रीलाई हामीले औपचारिक पूरा गर्नुपर्ने हो, यसको जवाफ सरकारबाट सदनलाई यथाशीघ्र होस् ।