
घरमा जडान भएको विद्युत् सर्ट भई आगलागी हुँदा रामेछापको लिखु तामाकोशी गाउँपालिका– २ सैपुमा गएराति एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। आगलागीबाट सैपुका चन्द्रबहादुर पौडेलको घर जलेर नष्ट भएको हो।
अकस्मात् विद्युत् सर्ट भई आगलागी भएपछि आगो निभाउने क्रममा पौडेल घाइते भएका छन्। उनको घटनास्थलबाट उद्धार गरी उपचारका लागि मन्थली अस्पतालमा ल्याई उपचार भइरहेको लिखु तामाकोशी गाउँपालिका– २ सैपुका वडाध्यक्ष सन्तोष पौडेलले जानकारी दिए।
आगो निभाउने क्रममा पौडेललाई घरमा पालिएको मौरीले समेत चिलेको थियो। उनलाई एकैपटक सयौँ मौरीले चिल्दा अनुहारलगायतका भाग सुन्निएको छ। उनको अवस्था खतरामुक्त रहेको मन्थली अस्पतालका मेसुु डा. केशव धामीले जानकारी दिए।
आगलागीबाट मानवीय क्षति नभए पनि घरमा रहेका लत्ताकपडा, गरगहना, अन्नपात र भाँडावर्तन सबै जलेर नष्ट भएका छन्। केही समयदेखि सैपुमा विद्युत् सर्ट भएर आगलागी हुने घटना बढ्दै गएको छ।