१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

३८ वर्षपछि नेपाली फुटबल टोली युरोपमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै

१७ वैशाखमा इंग्ल्यान्ड उड्ने नेपाली टोलीको तयारी भने कमजोर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:१८:oo

३८ वर्षपछि नेपाली फुटबल टोलीले युरोपमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै छ । १७ वैशाखमा इंग्ल्यान्ड उड्ने नेपाली टोलीले अहिलेसम्म प्रतिस्पर्धाको तयारी भने गर्न पाएको छैन । मुख्य प्रशिक्षक भिसेन्जो अल्बेर्टाे एनेस इटालीमै रहँदा एन्फाले मैत्रीपूर्ण खेलका लागि घोषित २६ खेलाडीलाई प्रशिक्षण दिन सकेको छैन ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबारबाट भद्रकालीस्थित आर्मीको मैदानमा प्रशिक्षणको तयारी गर्दै छ । राष्ट्रिय टोलीले इंग्ल्यान्डको ‘सी’ डिभिजन टोली एल्डर्सट टाउन फुटबल क्लबविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ । टोली २५ वैशाखमा फर्कने कार्यक्रम छ । 

धेरैजसो सिनियर खेलाडी मोसफलमा भइरहेको गोल्डकप फुटबल प्रतियोगितामा सहभागी भइरहँदा र मैदानसमेत उपलब्ध नहुँदा एन्फाले राष्ट्रिय टोलीका खेलाडीलाई प्रशिक्षण गराउन नसकेको जनाएको छ । युरोपियन भूमिमा प्रतिस्धर्पा गर्न जाने खेलाडीको राम्रो तयारी हुनुपर्ने खेलाडी संघका अध्यक्ष विक्रम लामाले नयाँ पत्रिकालाई बताएका छन् ।

‘इंग्ल्यान्डको डिभिजन क्लबविरुद्ध राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्न लागे पनि उनीहरूका खेलाडी हाम्राभन्दा स्तरीय छन्, हामीले त्यसका लागि राम्रो तयारी गर्नुपर्छ, तर सामान्यभन्दा सामान्य तयारीका साथ खेल्न जाँदै छौँ,’ १३औँ सागमा नेपाललाई फुटबलमा स्वर्ण दिलाउँदाका कप्तान लामाले भने, ‘मोफसलमा आयोजित गोल्डकप खेले खेलाडीको भरमा युरोपमा खेल्न जानु भनेको हामीहरूको तयारी निकै कमजोर हो ।’

राष्ट्रिय टोलीका व्यवस्थापक उत्तम भण्डारी मैदान अभावका कारण तयारी केही दिन ढिला हुन गएको बताए । ‘हामीले प्रशिक्षणका निमित्त खेलाडीलाई बोलाइसकेको छौँ । उनीहरू अहिले मोसफलको गोल्डकपमा व्यस्त छन्,’ भण्डारीले भने, ‘फेरि सातदोबाटो र च्यासल मैदानमा प्रतियोगिता भइरहेको छ, यसले पनि खेलाडीहरूलाई समयमै अभ्यास गराउन नसकेको हो ।’ राष्ट्रिय टोलीका एक खेलाडीले कमजोर तयारीबीच प्रतिस्पर्धा गर्दा फिटनेसमा समस्या आउने बताए । ‘पछिल्लो समय लिग भएको छैन । 

मोफसलको गोल्डकप खेलेकै भरमा नेपालले बहराइनमा विश्वकप छनोट खेल्यो अब एक हप्ताको तयारीमा इंग्ल्यान्डको टोलीविरुद्ध खेल्नु पर्छ,’ उनले भने, ‘खेलाडीको फिटनेसको पनि पक्ष छ, फिटनेस राम्रो हुँदा मात्र उत्कृष्ट नतिजा दिन सक्छौँ ।’ एन्फा महासचिव किरण राईले बहराइनबाट फर्केपछि खेलाडीलाई विश्राम दिएको बताए । ‘हाम्रा खेलाडी अभ्यासमै छन्, उनीहरू हालै मात्र बहराइनबाट खेलेर फर्किएका हुन् ।’ 

कमजोर तयारीका कारण नै नेपालले विश्वकप छनोटमा बहराइनसँग दुई खेलमा आठ गोलको सामना गरेको थियो । नेपालले बहराइनविरुद्ध एक गोल पनि फर्काउन सकेन । प्रशिक्षक एनेसले तयारी गतिलो नहुँदा नै नतिजा राम्रो नभएको प्रतिक्रिया दिएका थिए । 

जम्बो टोलीको तयारीमा एन्फा 
सन् १९८९ मा नेपाली टोलीले पश्चिम जर्मनीमा पहिलोपटक स्थानीय टोलीविरुद्ध प्रतिस्पर्धा गरेको थियो । ३८ वर्षपछि नेपालले दोस्रोपटक कुनै पनि युरोपियन टोलीविरुद्ध फुटबल खेल्न लागेको हो । यसपटकको नेपालको इंग्ल्यान्डको यात्रामा एन्फाले २३ खेलाडी र सात अफिसियलसहित जम्बो टोली पठाउने तयारी गरिरहेको छ । एन्फाको नेतृत्वलाई सहयोग गरेको कार्यसमितिका सदस्य, जिल्ला र क्लबका पदाधिकारीलाई इंग्ल्यान्डको भ्रमण गराउने तयारी गरेको एन्फाका एक सदस्यले बताए । नेपाली टोलीसँग स्वयं एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र उपाध्यक्ष दीपक खतिवडा पनि जाँदै छन् । 

टोलीमा कार्यसमिति सदस्य पुरुषोत्तम थापा, टीका लामा, महेन्द्र क्षेत्री, भरतबुढ थापा, मनीषराज जोशी, मणि विष्ट, विकास नारायण श्रेष्ठ छन् । ‘पछिल्लो समय बहराइन जाँदा एन्फाभित्र र बाहिर विवाद भएको थियो, यसपटक जानेको सूची गोप्य राखिएको छ,’ उनले भने, ‘आफूलाई कार्यसमितिमा सहयोग गर्ने केन्द्रीय सदस्यदेखि क्लबका पदाधिकारीलाई पठाउने तयारी छ ।’ 

एन्फाले इंग्ल्यान्ड जाने नाम राष्ट्रिय खेलकुद परिषद्(राखेप) लाई बुझाएको छैन । खेलकुद विकास ऐन २०७७ अनुसार कुनै पनि संघले प्रतियोगितामा भाग लिन, तालिम, सभा, गोष्ठी, सेमिनार र सम्मेलनमा भाग लिन स्वीकृति लिनुपर्ने हुन्छ । 

त्रिपक्षीय सम्झौता के छ ? 
मैत्रीपूर्ण खेलका लागि द फुटबल एसोसिएसन (एफए), एन्फा र एल्डर्सट टाउन फुटबल क्लब लिमिटेडबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौताअनुसार खेल ९० मिनेटको हुनेछ । यसमा दुवै टोलीले पाँच खेलाडी परिवर्तन गर्न सक्छन् । सम्झौताअनुरूप खेलाडी, अफिसियल र भिआइपीसहित नेपाली टोलीको संख्या ३५ जना हुनेछ । ती सबैका हवाई खर्च एन्फाले व्यहोर्नेछ । इंग्ल्यान्डमा रहँदा सबै खर्च क्लबले व्यहोर्नेछ । इंग्ल्यान्ड रहँदा नेपालले ब्रिटिस आर्मीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । आयोजकले पाँच भिभिआइपीबाहेक अन्य खर्च सबै खर्च एन्फाले नै व्यहोर्ने सम्झौता गरेको छ । 

मैदान व्यस्त हुँदा तयारी ढिला भयो
उत्तम भण्डारी, व्यवस्थापक, राष्ट्रिय फुटबल टोली 

अझै हामीसँग दुई हप्ताको प्रशिक्षण गर्ने समय छ । सी डिभिजन लिगका कारण सातदोबाटोका मैदान र यू–१३ को छनोटले च्यालस मैदान प्रयोग गर्न पाएका छैनौँ । त्यसैले हाम्रो तयारीमा ढिला भइरहेको हो । एक हप्ता तयारी ढिला हुँदा फरक नहोला । हामी अभ्यास भोलिपर्सिबाटै तयारी गर्छाैँ । 

युरोपमा खेल्न तयारी राम्रो हुनुपर्छ 
विक्रम लामा, अध्यक्ष, खेलाडी संघ

हामीले जुनसुकै टोलीविरुद्ध खेल्न तयारी राम्रो गर्नुपर्छ । साथसाथै फिटनेस पक्ष पनि हेर्नुपर्छ । नयाँ टोली हुँदा लामो समय तयारी गर्नुपर्छ । सबै खेलाडीले लिग खेल्न पाएका छैनन् । खेलाडीले मोफसल प्रतियोगिता मात्रै खेलेका छन् । युरोप खेल्न जाँदा तयारी अलि बलियो चाहिन्छ ।

ad
ad