१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:२७:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिको ढोका खोल्दै एमाले

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:२७:oo

एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिको ढोका खुला गर्दै छ । सोमबार कम्युनिस्ट पार्टी स्थापनाको ७५औँ वर्षगाँठको अवसरमा ‘गणतन्त्र गौरव’ पदकबाट सम्मान गर्दै छ भने लगत्तै मध्यजेठमा हुने राष्ट्रिय महिला भेलामा प्रमुख अतिथि बनाउँदै छ । औपचारिक निर्णय नै गरेर एमालेले त्यसको सन्देश दिइसकेको छ ।

शनिबार उद्घाटन भएर आइतबार समापन भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सोमबार हीरक महोत्सवमा राष्ट्रिय गौरव ‘गणतन्त्र गौरव’ पदकबाट पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्ने घोषणासहित राखेको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । त्यस्तै, १६ र १७ जेठमा हुने २३ जनवर्गीय संगठनको राष्ट्रिय महिला भेला पूर्वराष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यमा गर्ने निर्णय ५ वैशाखमा बसेको जनवर्गीय संगठन समन्वय संयन्त्रको बैठकले गरिसकेको छ । 

२९ फागुन ०७९ मा राष्ट्रपतिबाट अवकाश भएपछि भण्डारी पार्टीले आयोजना गरेका कार्यक्रममा सहभागी भएकी छैनन् । उनी प्रमुख अतिथि रहने महिला भेलाको समापन भने अध्यक्ष केपी ओलीले गर्ने तय भएको छ । दुई कार्यकाल राष्ट्रपति भएर देशको अभिभावकत्व गरेकी भण्डारी त्यसअघि एमालेको उपाध्यक्ष र अखिल नेपाल महिला संघको अध्यक्ष थिइन् । 
समग्र महिला आन्दोलनको इतिहास, नेतृत्व र उपलब्धिलाई स्मरणसहित स्थापित गराउन राष्ट्रिय महिला भेलामा भण्डारीलाई प्रमुख अतिथि बनाउने निर्णय जनवर्गीय संगठन समन्वय संयन्त्रले गरेको थियो । 

राष्ट्रिय महिला भेलाको व्यवस्थापनका लागि अनेमसंघका अध्यक्ष टुका हमालको संयोजकत्वमा ११ सदस्यीय व्यवस्थापन कमिटी गठन भइसकेको छ । समितिको सचिवमा एमाले केन्द्रीय सदस्य तथा बागमती प्रदेश जनसंगठन संयोजक रचना खड्का छिन् । भेलामा सबै जनसंगठनमा रहेका महिला पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्ला तहसम्मका महिला विभाग प्रमुखलाई सहभागी गराउने मापदण्ड तय गरिएको छ । 

पार्टीको हीरक महोत्सवका अवसरमा आज ‘गणतन्त्र गौरव’ पदकबाट सम्मान गरिँदै

पार्टीसम्बद्ध नेता–कार्यकर्ता, शुभेच्छुक र सञ्चारमाध्यमका प्रतिनिधिहरूसँगको भेटघाटमा पूर्वराष्ट्रपति भण्डारीले पनि तत्काल पार्टी राजनीतिमा फर्किने सोच नभए पनि तत्कालीन आवश्यकताले नै सबै निर्धारण गर्ने बताएर विकल्प खुला रहेको जनाउ दिँदै आएकी छिन् । 

पूर्वराष्ट्रपति भण्डारीनिकट एक एमाले स्थायी समिति सदस्यले पनि परिस्थितिले नै पार्टीभित्र अभिभावकीय भूमिका निर्वाह गर्ने समन्वयकारी व्यक्तिको पनि खोजी गरिरहेकाले भण्डारीलाई पार्टीको सक्रिय राजनीतितिर उन्मुख गराउन खोजेको बताए । ‘परिस्थितिले नै ढोका खोलेजस्तो देखिन्छ, किनभने पार्टीमा नेतृत्वले नचाहे पनि प्रदेश, जिल्लाका अधिवेशनहरूमा प्यानल निर्वाचन भएको छ,’ ती नेताले भने, ‘त्यसैले पार्टीलाई अर्को महाधिवेशनसम्म एक ढिक्का बनाएर लैजान र बलियो निर्णायक राष्ट्रिय पार्टी बनाउन पनि उहाँजस्तो व्यक्तित्वको भूमिकाको खोजी हुँदै गएको छ ।’ 

राजनीतिक विश्लेषक झलक सुवेदी पार्टीको भेलामा पूर्वराष्ट्रपति भण्डारीको उपस्थितिले राजनीतिमा उहाँको स्पेस छ भन्ने सन्देश दिने बताउँछन् । ‘एमालेले गर्ने सम्मानको कार्यक्रमले पूर्वराष्ट्रपतिको इतिहास, नेपालको लोकतान्त्रिक गणतन्त्र र महिला आन्दोलनमा उहाँ (विद्या भण्डारी)ले खेलेको योगदानको कदर गर्दै त्यसको स्वामित्व लिन खोजेको अर्थमा बुझ्न सकिन्छ,’ उनले भने, ‘तर, पार्टीको भेलामा उहाँको सहभागिता हुँदा राजनीतिमा स्पेस छ भन्ने सन्देश दिन्छ । जे–जे उद्देश्यले गरेको भए पनि त्यसले उहाँ निकट भविष्यमा राजनीतिमा आउन सक्ने संकेत गर्छ । यसले उहाँलाई राजनीतिमा ल्याउन खोजेको वा उहाँ आफैँ आउन खोजेको दुवै सन्देश दिन्छ ।’

पूर्वसञ्चारमन्त्री तथा पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले पार्टी स्थापना दिवसमा गणतन्त्र गौरव राष्ट्रिय सम्मान र पार्टीको राष्ट्रिय भेलामा पूर्वराष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाउने निर्णय गरेर पार्टीले राम्रो निर्णय गरेको बताए । ‘पार्टीले जे निर्णय गर्‍यो, राम्रै गर्‍यो । पूर्व र वर्तमानको कुरा होइन, वर्तमान हैसियतमा उहाँलाई पार्टीको कार्यक्रममा प्रमुख अतिथि बनाउने कुरा कुनै आश्चर्य मान्नुपर्ने विषय होइन,’ बाँस्कोटाले भने, ‘पार्टी स्थापना दिवसमा सम्मान र महिलाको राष्ट्रिय भेलामा उहाँलाई प्रमुख अतिथि बनाउँदा सिंगो गणतान्त्रिक आन्दोलन, महिला आन्दोलनको ठूलो सम्मान भएको छ र यो आमनेपाली महिलाका लागि पनि धेरै खुसीको कुरा हो । अब राजनीतिक आँखाले हेर्ने हो भने त के–के देखिन्छ, देखिन्छ ।’ 

स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति भण्डारीलाई गणतन्त्रको प्रतीकका रूपमा पार्टीले सम्मान गर्न लागेको जानकारी दिँदै पार्टी कार्यक्रममा सहभागी भएको अवस्थामा मात्र अलग अर्थ लगाउन सकिने बताए ।‘उहाँलाई पार्टीले गणतन्त्रको प्रतीकका रूपमा राष्ट्रिय गौरव पदकका रूपमा सम्मान गर्न लागेको हो,’ गौतमले भने, ‘त्यही कुरालाई लिएर ढोका खोलेको भन्न मिल्दैन, अहिलेसम्म उहाँ पार्टीको कार्यक्रममा सहभागी हुनुभएको पनि छैन, मलाई उहाँ पार्टी कार्यक्रममा आउनुहुन्छ जस्तो पनि लाग्दैन, सहभागी हुनुभएछ भन्ने बेग्लै अर्थ लाग्ने कुरा अलग हो ।’

राजनीतिक विश्लेषक कृष्ण पोखरेलले भने सम्मान र कार्यक्रमको प्रमुख अतिथि बनाउनुको अर्थ सक्रिय राजनीतिमा नभएर सम्मानित भूमिकामै बस्दा उपयुक्त हुने सन्देशकै रूपमा बुझ्न सकिने बताए । ३ असोज ०७२ मा संविधान जारी भएपछि ११ कात्तिकमा पहिलोपटक राष्ट्रपति निर्वाचित भण्डारीले करिब दुई वर्ष चार महिना कार्यकाल सम्हालिन् । ०७४ को निर्वाचनपछि २९ फागुन ०७४ मा दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित उनले २८ फागुन ०७९ मा पाँचवर्षे कार्यकाल पूरा गरेकी थिइन् । 

भण्डारी राजनीतिमा फर्किन सक्ने संकेत गरेको छ 
झलक सुवेदी,राजनीतिक विश्लेषक 

एमालेले गर्ने सम्मानको कार्यक्रमले पूर्वराष्ट्रपतिको इतिहास, नेपालको लोकतान्त्रिक गणतन्त्र र महिला आन्दोलनमा उहाँ (विद्या भण्डारी)ले खेलेको योगदानको कदर गर्दै त्यसको स्वामित्व लिन खोजेको अर्थमा बुझ्न सकिन्छ । तर, पार्टीको भेलामा उहाँको सहभागिता हुँदा राजनीतिमा स्पेस छ भन्ने सन्देश दिन्छ । जे–जे उद्देश्यले गरेको भए पनि त्यसले उहाँ निकट भविष्यमा राजनीतिमा आउन सक्ने संकेत गर्छ । यसले उहाँलाई राजनीतिमा ल्याउन खोजेको वा उहाँ आफैँ आउन खोजेको दुवै सन्देश दिन्छ । 

 भण्डारीले पुनरागमन गर्ने यस्ता आधार
नवौँ महाधिवेशनपछि अध्यक्ष केपी ओलीपछिको शक्तिशाली उपाध्यक्षका रूपमा विद्यादेवी भण्डारीले राष्ट्रपति निर्वाचित हुनुअघि अलग्गै समूह निर्माणको कसरत गरेकी थिइन् । नवौँ महाधिवेशनमा थोरै मतले ईश्वर पोखरेलसँग महासचिवमा पराजित सुरेन्द्र पाण्डेलाई आफ्नो समूहमा सामेल गराउने गरी दशौँ महाधिवेशनलक्षित उनको तयारी थियो । तर, ओलीको परामर्श र प्रस्तावमा भण्डारी दुईपटक राष्ट्रपति बनिन् । सिनियर नेताहरू झलनाथ खनाल र सुवास नेम्वाङ राष्ट्रपतिको आकांक्षी भए पनि वरिष्ठ नेता माधवकुमार नेपालको समेत साथ लिएर ओली भण्डारीलाई दोस्रोपटक पनि राष्ट्रपति बनाउन सफल भएका थिए । 

तत्कालीन महासचिव मदन भण्डारी र जनताको बहुदलीय जनवादको विरासतका कारण पनि भण्डारी सक्रिय राजनीतिमा आउने थुप्रै नेता–कार्यकर्ताको अनुमान छ । जबजको सिद्धान्तको जगमा एमाले संसदीय राजनीतिमा ठूलो दलका रूपमा स्थापित भएकाले राष्ट्रपति भइसकेपछि पनि विरासतका रूपमा भण्डारीलाई प्रमुख नेतृत्व स्विकार्न र पार्टीलाई स्थापित गर्न सहज हुने बुझाइ भएका नेता–कार्यकर्ताको पंक्ति पनि ठूलो छ ।

६१ वर्ष हाराहारी मात्र पुगेकाले पार्टी विधानअनुसार अझै सक्रिय राजनीतिका लागि भण्डारीको १० वर्ष उमेर बाँकी नै छ । जब कि अहिले अध्यक्ष ओली ७२ वर्ष टेकेका छन् भने बहुसंख्यक पदाधिकारी ६० वर्षभन्दा माथिका छन् । त्यस्तै, भण्डारीसँग पार्टीभित्र पदाधिकारी, स्थायी समिति, पोलिटब्युरोदेखि केन्द्रीय सदस्य र सांसदहरूको ठूलो पंक्ति पनि छ । जसका कारण मुख्यमन्त्री, मन्त्री, सांसदको टिकट, मनोनीत सांसद, संवैधानिक नियुक्तिदेखि पार्टीमा केन्द्रीय सदस्य मनोनीत गर्नेसम्ममा अध्यक्ष ओली भण्डारीको कुरा सुन्नैपर्ने बाध्यतामा छन् । भण्डारी सक्रिय राजनीतिमा आउँदा पनि शक्तिशाली नेताकै रूपमा स्थापित हुन सक्ने बुझाइ एकथरी नेता–कार्यकर्तामा छ । 

नेपाली महिलाका लागि खुसीको कुरा हो
गोकुल बाँस्कोटा, पूर्वसञ्चारमन्त्री तथा पोलिटब्युरो सदस्य

पार्टीले राम्रै गर्‍यो । पूर्वराष्ट्रपतिलाई पार्टी कार्यक्रममा प्रमुख अतिथि बनाउने कुरा आश्चर्यको विषय होइन । स्थापना दिवसमा सम्मान र राष्ट्रिय महिला भेलामा उहाँलाई प्रमुख अतिथि बनाउँदा सिंगो गणतान्त्रिक आन्दोलन, महिला आन्दोलनको सम्मान भएको छ । यो नेपाली महिलाका लागि पनि धेरै खुसीको कुरा हो ।

पार्टी कार्यक्रममा आउनुहुन्छ जस्तो लाग्दैन
राजेन्द्र गौतम, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख

उहाँलाई पार्टीले गणतन्त्रको प्रतीकका रूपमा राष्ट्रिय गौरव पदकका रूपमा सम्मान गर्न लागेको हो । त्यही कुरालाई लिएर ढोका खोलेको भन्न मिल्दैन, अहिलेसम्म उहाँ पार्टीको कार्यक्रममा सहभागी हुनुभएको पनि छैन, मलाई उहाँ पार्टी कार्यक्रममा आउनुहुन्छ जस्तो पनि लाग्दैन, सहभागी हुनुभएछ भन्ने बेग्लै अर्थ लाग्ने कुरा अलग हो । 

ad
ad