
जेन–जी आन्दोलनका कारण प्रभावित भएको नेपालको वैदेशिक व्यापार पुन: लयमा फर्किएको छ । आन्दोलनका क्रममा देशभरका सरकारी संरचनामा भएको आगलागी तथा तोडफोडका कारण २४ र २५ भदौमा देशभरका सम्पूर्ण वैदेशिक व्यापार गर्ने नाका ठप्प रहे । तर, नयाँ सरकारको गठन भएसँगै भारतसँग जोडिएका आठ नाका सहज बन्न थालेका छन् । अधिकांश नाकाबाट आयात–निर्यातका मालसामान भन्सार पास सुरु गरिएका छन् । नेपालमा सबैभन्दा बढी आर्थिक गतिविधि हुने दसैँ–तिहारको समयमा नाका ठप्प हुँदा व्यवसायी निराश भएका थिए । तर, अब देशको अवस्था सहज बनेसँगै बजारमा चहलपहल तथा आर्थिक गतिविधि पनि बढ्न थालेको छ ।
विराटनगर भन्सारमा धमाधम जाँचपास
जेन–जी आन्दोलनले मंगलबारदेखि ठप्प विराटनगर भन्सारको जाँचपास धमाधम सुरु हुन थालेको छ । विराटनगर भन्सार प्रमुख उमेश श्रेष्ठले शुक्रबारदेखि अत्यावश्यक वस्तुहरू पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, सड्न सक्ने कृषिउपज सामग्रीलाई प्राथमिकता दिएर २७ भदौदेखि जाँचपास गराउन थालेको बताए । उनका अनुसार शनिबार पनि दिनभरि एक सयभन्दा बढी सवारी जाँचपास भएका थिए भने आइतबार र सोमबार पनि दैनिक डेढ सयको संख्यामा मालवाहक सवारी जाँचपास भएका छन् । आन्दोलनले २४ भदौदेखि विराटनगर भन्सार कार्यालयमा आयात–निर्यात हुने मालवस्तुको जाँचपास ठप्प भएको थियो । जसले गर्दा भन्सार जाँचचौकीमा नेपाल–भारत दुवैतर्फ एक हजारभन्दा बढी मालवाहक सवारीसाधन रोकिएर बसेका थिए ।
मेचीबाट आयात–निर्यात सुरु
जेन–जी आन्दोलनका कारण ठप्प भएको पूर्वी नाकाबाट हुने वैदेशिक व्यापार सुरु भएको छ । आगजनीका कारण भन्सारको कार्यालय पूर्ण रूपमा जलेर नष्ट हुँदा २४ भदौदेखि पूर्वीनाकाबाट आयात–निर्यात ठप्प भएको थियो । तर, सोमबार बिहान ११ बजेबाट आयात–निर्यात सुरु भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । जलेको मध्ये कम क्षति भएको कार्यालयको बैठक कक्षमा काम गर्ने स्थान बनाएर जाँचपासको काम सुरु गरिएको उनले बताए । केही कम्प्युटरहरू मेचीनगर उद्योग वाणिज्य संघ र केही कार्यालय आफैँले खरिद गरेर काम सुरु गरिएको उनले बताए । अहिले सबै कर्मचारीले त्यही बैठक कक्षलाई कार्यस्थल बनाएर काम गर्न सुरु गरेको छ । सोमबारबाट नै भारतले सवारीसाधन पठाउन थालेको उनले बताए ।
त्यस्तै, झापाको अर्को नाका भद्रपुर पनि सुचारु भएको छ । आन्दोलनकारीको आगजनीबाट बचेको एउटा कोठाबाट आइतबारबाट नै काम सुरु गरिएको भद्रपुर भन्सार कार्यालयका प्रमुख अर्जुनप्रसाद सिटौलाले जानकारी दिए । ‘भएको सबै सामग्री जलेको छ । कर्मचारीको घरमा भएको ल्यापटप ल्याएर काम गरिरहेका छौँ,’ उनले भने । यो नाकाबाट आयात मात्रै हुँदै आएको थियो । निर्यात भने हुँदैन ।
जनकपुर भन्सार अझै खुलेन
जनकपुरधाम भन्सार कार्यालय २४ भदौदेखि पूर्ण रूपमा बन्द छ । जेन–जी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी भएपछि भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा पुगेको छ ।
भन्सार कार्यालयका सूचना अधिकारी राजकुमार गेवाका अनुसार पूर्ण रूपमा क्षति भए पनि सामान्य प्रशासनिक कार्य भइरहेको छ । धनुषाको जटही सीमानाकामा भारततर्फ सडक निर्माण कार्य भइरहेकाले अहिले भन्सार जाँचपासको काम १४ दिनदेखि बन्द रहेको उनले बताए । उनले भन्सार जाँचपासका लागि गाडी आएमा आफूहरूले जाँपपास दिन सक्ने अवस्थामा रहेको बताए ।
वीरगन्ज भन्सार पनि नियमित
आन्दोलनका कारण दुई दिन अवरुद्ध रहेको वीरगन्ज भन्सार कार्यालयको आयात–निर्यात नियमित भएको छ । २४ र २५ भदौमा पूर्ण रूपमा ठप्प भएको आयात–निर्यात २६ गते आंशिक र २७ गतेबाट नियमित सञ्चालनमा आएको भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । दुई दिन नाका बन्द हुँदा आर्थिक गतिविधि प्रभावित भएको बताउँदै नाका सञ्चालनमा आएपछि व्यापारीलाई राहत मिलेको उनको भनाइ छ ।
लयमा फर्कँदै बेलहिया नाका
गत बिहीबारदेखि आंशिक सुरु भएको रुपन्देहीको भैरहवा भन्सार कार्यालयले आइतबारदेखि नियमित काम थालेको छ । आगलागीका कारण भैरहवा भन्सार कार्यालय परिसरको राजस्व दाखिला गर्ने बैँक र मुद्दा शाखासहित पहिलो तला पूर्ण रूपमा जलेको थियो । आइतबारदेखि कार्यालय परिसरमा टेन्ट टाँगेर काम सुरु गरेको भैरहवा भन्सार कार्यालय रुपन्देहीका प्रमुख शिवलाल न्यौपानेले बताए ।
आइतबार दिनभर तीन सय २० मालवाहक गाडी नेपाल भित्रिएकामा तीन सय १५ गाडी भारत फर्किएका थिए । त्यसैगरी, सोमबार तीन सय ५० मालवाहक सवारीसाधन नेपाल भित्रिएका छन् भने पाँच सय पाँच गाडी भारत फर्किएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । त्यस्तै, कपिलवस्तुको कृष्णनगर र सुनौली नाका पनि २८ भदौदेखि सञ्चालनमा आएका छन् ।
सामान्य अवस्थामा नेपालगन्ज नाका
नेपालगन्जस्थित जमुनाहा नाका पूर्ण रूपमा सञ्चालनमा आएको छ । २८ भदौबाट आंशिक सञ्चालनमा आएको भन्सार कार्यालय सोमबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको भन्सार अधिकृतसमेत रहेका सूचना अधिकारी पवित्रकुमार खड्काले बताए ।
उनले भन्सार कार्यालयको भवन, उपकरण, फर्निचर र कागजपत्रमा आगजनी तथा तोडफोड भएपछि २४ भदौदेखि सेवा अवरुद्ध भएको बताए । ‘नेपालगन्ज नाकाबाट हुँदै आएको आयात–निर्यात सुचारु भएको छ,’ उनले भने ।
नेपालगन्ज भन्सार कार्यालयले २८ भदौदेखि पेट्रोलियम पदार्थ आयात गरेको उनले बताए । ‘पेट्रोलियम पदार्थ अभाव हुन नदिन खुला चौरमा कार्यालय स्थापना गरी ढुवानीको व्यवस्था मिलाएका थियौँ,’ उनले भने, ‘नेपालगन्ज नाकाबाट हुँदै आएको आयात–निर्यात सोमबारबाट पूर्ण रूपमा सञ्चालनमा ल्याएका छौँ ।’
पाँच दिनपछि गड्डाचौकी–वनबासा नाका सञ्चालनमा
जेन–जी आन्दोलनका कारण पाँच दिनदेखि बन्द रहेको पश्चिमको गड्डाचौकी–वनबासा नाका सञ्चालनमा आएको छ । आन्दोलनका कारण उक्त नाकाबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालीलाई भारत र भारतीयलाई नेपालमा आवतजावत गर्न दिएको थिएन । २५ भदौ बिहान ६ बजेदेखि बन्द भएको उक्त नाका ३० भदौ बिहान ६ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले जानकारी दिए । ‘सोमबार बिहानदेखि पहिलेकै अवस्थामा नाका सञ्चालनमा आएको छ, ‘प्रवक्ता बोहराले भने, ‘आउजाउदेखि व्यावसायिक गतिविधि भइरहेका छन् ।’ कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख राजनबाबु काफ्लेले आइतबारदेखि आंशिक नाका सञ्चालनमा आएपछि सोमबारदेखि पूर्ण खुलेको बताए । ‘आइतबार उता भारतदेखि एक–दुई ट्रकमा कृषिजन्य सामग्री आयात भयो, ‘उनले भने, ‘सोमबार बिहानैदेखि पूरै खुलेको छ, पाँच दिनदेखि बन्दले एकैपटक धेरै सामान आउँदा झन्डै ५० लाख भन्सार राजस्व संकलन भएको छ ।’
सहज बन्दै त्रिनगर नाका
जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण अवरुद्ध कैलाली भन्सार कार्यालयको सेवा सुचारु भएको छ । भन्सारले सेवा सुचारु गरेसँगै गौरीफन्टा–त्रिनगर नाका भएर मालवस्तुको आयात सहज बन्दै गएको छ । कार्यालय परिसरमा रहेको ग्यारेज र आगलागीबाट कम क्षति भएको कोठाबाट आइतबारदेखि सेवा सुचारु गरेको हो । अहिले सबैखाले सामानको जाँचपास दिन थालिएको भन्सार अधिकृत एवं कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालले जानकारी दिए । २६ भदौबाट पेट्रोलियम पदार्थको जाँचपास दिन सुरु गरेको भन्सारले आइतबारबाट अन्य सामानको पनि जाँचपास दिन थालेको हो ।
आन्दोलनकारीले आगजनी गर्दा कैलाली भन्सार कार्यालयभित्र रहेका कम्प्युटर, महत्वपूर्ण कागजात, टेबल, कुर्सीलगायत अधिकांश सामान जलेर नष्ट भएको उनले बताए । आगजनीबाट भन्सार कार्यालय भवनमा पनि क्षति पुगेको छ । कार्यालय परिसरमा राखिएका आधा दर्जन सरकारी गाडी तथा लिलामीमा राखिएका करिब दुई सय मोटरसाइकल पनि आन्दोलनकारीले जलाइदिएका थिए ।
विराटनगरमा गणेश लम्साल, झापामा चिरञ्जीवी घिमिरे, जनकपुरमा हदिश खुद्दार, वीरगन्जमा तिवारी यादव, भैरहवामा दीपेश पछाईं, बाँकेमा विश्वराज पछल्डङ्ग्या, कपिलवस्तुमा डिलाराम भुसाल, कञ्चनपुरमा मोहन विष्ट र धनगढीमा तेजराज भट्ट