Skip This
व्यावसायिक टिमुरखेतीमा सल्यानका किसान, फ्रान्स र जर्मनीसम्म निर्यात
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
२o८१ कार्तिक ११ आइतबार १४:o३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

व्यावसायिक टिमुरखेतीमा सल्यानका किसान, फ्रान्स र जर्मनीसम्म निर्यात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार १४:o३:oo

सल्यानको बनगाड कुपिण्डे नगरपालिका– ६ काराकोटका लोकबहादुर बुढाथोकीले बारीभरि टिमुरखेती गरेका छन्। दशक अघिसम्म घरमा अचार खान मात्रै टिमुरको बोट रोपेका उनले अहिले बारी, कान्ला सबैतिर टिमुरखेती गरेका छन्। सुरुवातमा टिमुरबाट आम्दानी गर्न सकिन्छ भन्ने सुन्दा उनलाई अचम्म लाग्थ्यो, तर अहिले आफैँले टिमुर बेचेर बर्सेनि आम्दानी गर्न थालेपछि हर्षित छन्। उनले भने, ‘वर्षमा दुई–चार क्विन्टल टिमुर उत्पादन हुनु त सामान्य कुरा हो, तीन वर्षअघि मात्रै मैले तीन सय बोट टिमुर रोपेको थिएँ, अहिले उत्पादन दिन सुरु गरिसकेको छ, गत वर्ष पनि लगाएँ, यस वर्ष पनि टिमुरकै बिरुवा रोपेको छु।’

लाम्पाटाकै तुलसी थापाले टिमुरका बिरुवा रोपेका छन्। बारीका छेउ, कान्ला आदिमा टिमुर रोपेका उनले यस वर्ष सामूहिक रूपमै टिमुर लगाएका छन्। ‘यहाँ रहेको लेकबेँसी सामुदायिक वन समूहमा रहेका उपभोक्ताले वन विकासकै लागि ३२ सय टिमुरका बिरुवा रोपेका छौँ, टिमुरसँगै तेजपातलगायत अरू बिरुवा गरेर नौ हेक्टरमा बिरुवा रोपिएको छ,’ उनले भने।

अहिले रोपिएको टिमुरले भविष्यमा राम्रो आम्दानी दिने भएकाले सामूहिक टिमुरखेतीमा हौसिएको उनको भनाइ छ। ‘अहिले मिचाहा प्रजाति वनमारा र जंगली बँदेलको प्रकोप जस्तै छ, यस्तो अवस्थामा खेतीपाती गर्न समस्या छ, त्यसैले वातावरण पनि हरियाली हुने र आम्दानी पनि हुने भएकाले टिमुरखेतीमा हौसिएका हौँ,’ उनले भने, ‘बिरुवा रोप्ने मात्रै होइन बिरुवाको संरक्षण, रेखदेख र हुर्काउने दायित्व पनि हामीले नै  लिएका छौँ, हामी नै गर्छौँ।’

स्थानीयले टिपेको टिमुर नसुकाएर वा घाममा सुकाएर बजार पठाउँदा सोचेअनुसारको मूल्य नपाउने र घाममा सुकाएको भन्दा ड्राई हाउसमा सुकाएको टिमुरको स्वाद र गुणस्तर उच्च हुने भएकाले ड्राई हाउससमेत स्थापना गरिएको छ । यससँगै टिमुरको ग्रेडिङ गर्न थालिएको छ। विगतमा प्रशोधन नगरी टिमुर बेच्दै आएकोमा अहिले भने टिमुरको दानाको बोक्रा, गेडा, काँडा सबै अलग बनाउँदा बजार मूल्य पनि राम्रो पाउने सुनौली बजारमा रहेको टिमुर प्रशोधन उद्योगका सञ्चालक लालमती बस्नेतले बताइन्। यस वर्षदेखि टिमुर प्रशोधन गर्न थालिएको उनको भनाइ छ।

फ्रान्स र जर्मनी निर्यात
जिल्लामा उत्पादित टिमुरको बजार राम्रो छ। यस वर्ष बजारमा प्रतिकेजी ४५० देखि ६०० रुपैयाँसम्म बिक्री भइरहेको छ । ग्रेडिङ गरेको टिमुर एक हजारदेखि एक हजार ६ सय रुपैयाँ प्रतिकेजीसम्ममा बिक्री हुन्छ । जिल्लाका करिब एक सयभन्दा बढी किसानले फर्म नै दर्ता गरेर टिमुर खेती गरिरहेका छन् । यसबाहेक सामुदायिक वन, निजी बारी, कान्लामा समेत टिमुर खेती हुँदै आएको छ । जिल्लामा उत्पादन भएको टिमुर विभिन्न कम्पनीमार्फत देशभरका विभिन्न सहर हुँदै फ्रान्स र जर्मनीमा समेत निर्यात हुने गरेको छ।

बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्णबहादुर बुढाथोकीले उत्पादन भएको टिमुर फ्रान्स र जर्मनीमा समेत निर्यात भइरहेकाले टिमुर खेतीको प्रवर्द्धन र विस्तारमा नगरपालिकाले ध्यान दिएको बताए। टिमुरको बजारलाई थप व्यवस्थित गर्न अर्ग्यानिक प्रमाणित गर्न लागिएको उनले बताए। ‘बनगाडको माथिल्लो भेग सुन्तलाखेती हुने क्षेत्र हो, तर हावापानी नमिलेर होला बिस्तारै बोट सुक्दै गएका छन्, हामीले अब टिमुरखेतीलाई विस्तार गर्न खोजिरहेका छौँ,’ उनले भने, ‘किसानको उत्पादन हुनुपर्छ, बजारीकरण पालिकाले गर्छ।’