Skip This
इन्स्पेक्टर र असइमा न्यून आवेदन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक ११ आइतबार o६:२६:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

इन्स्पेक्टर र असइमा न्यून आवेदन

क्षमतावान् युवा सुरक्षा सेवामा नआउँदा भावी दिनमा संगठनको प्रभावकारितामा नै असर पर्न सक्ने जोखिम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार o६:२६:oo

नेपाल प्रहरीको प्रहरी निरीक्षक(इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक(असइ)को भर्नामा न्यून आवेदन परेको छ । ६४ इन्स्पेक्टरको मागमा दुई हजार ३०५ तथा २५६ असइको मागमा १५ हजार ९२१ आवेदन परेको छ । 

यो आवेदन अन्य सरकारी सेवा तथा विगतको तुलनामा न्यून हो । गत वर्ष इन्स्पेक्टरमा ९६ जनाको माग हुँदा दुई हजार ७९३ तथा असइमा २६० जनाको मागमा १९ हजार ९३२ जनाको आवेदन परेको थियो । 

प्रहरी प्रवक्ता दानबहादुर कार्की अपेक्षित रूपमा आवेदन नपरेको बताउँछन् । ‘सुरक्षा सेवामा आकर्षण घट्दै गएको तथ्यांकले देखाउँछ,’ उनी भन्छन्,‘जोखिमपूर्ण जागिर, न्यून सेवा–सुविधा र शारीरिक परिश्रम गर्नुपर्ने भएकाले धेरै आकर्षण नदेखिएको हो भन्ने लाग्छ ।’विगत वर्षमा एकपटक मात्र भर्ना खुल्नेमा अहिले दुईपटक खुल्ने गरेकाले पनि संख्या केही कम देखिएको हुनसक्ने प्रवक्ता कार्कीको भनाइ छ ।

नयाँ पुस्तामा विदेशप्रतिको मोह बढेको, प्रहरीमा न्यून सेवा–सुविधा हुने, तर ड्युटी कठिन हुने भएकाले पनि प्रहरी सेवामा आकर्षण घटेको प्रहरीका विगतका अध्ययनले देखाएका छन् । प्रहरी सेवामा आकर्षण बढाउन नेपाल प्रहरीले अध्ययन गरेर आवेदन बढाउने प्रयास गरेपनि त्यो प्रभावकारी हुन सकेको छैन । बरु भर्ना भएकालाई टिकाउन नसक्दा पेन्सन अवधिसमेत नपुगी जागिर छाड्ने प्रवृत्तिसमेत बढ्दो छ । 

इन्स्पेक्टर न्यूनआवेदनको कारण भनेको उमेरहद पनि हो । इन्स्पेक्टरमा आवेदनका लागि स्नातक उत्तीर्ण हुनुपर्ने र २५ वर्ष उमेर कट्न नहुने मापदण्ड छ । चारवर्षे स्नातकका कारण पढाइ पूरा गर्दा उमेर करिब २३ वर्ष पुग्ने अवस्था छ । सोही कारण आवेदन घटेको निष्कर्षका आधारमा हाल सरकारले इन्स्पेक्टर भर्नाको उमेरहद २७ वर्ष बनाउने प्रक्रिया अघि बढाएको छ । हाल परामर्शका लागि लोकसेवा आयोग पुगेको प्रहरीसम्बन्धी विधेयकमा २७ वर्षसम्म आवेदन लिने प्रावधान प्रस्ताव गरिएको छ ।

निजामती सेवातर्फ भने हरेक वर्ष उच्च आवेदन पर्ने गरेको छ । नेपाल प्रहरी मात्र नभई सबै सुरक्षा निकायमा हरेक वर्ष आवेदनदर घटिरहेको छ । सुरक्षा सेवामा पहिलेजस्तो सम्मानित नहुनु र अन्यत्र धेरै अवसर हुनुले पनि आकर्षण घट्दै गएको प्रहरी अधिकारी बताउँछन् । यसरी क्षमतावान् युवा सुरक्षा सेवामा नआउँदा भावी दिनमा संगठनको प्रभावकारितामा नै असर पर्न सक्नेसमेत उनीहरूको चिन्ता छ ।