Skip This
बैंकहरूको नाफा कमाउने क्षमतामा सुधार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ कार्तिक ११ आइतबार १o:४७:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

बैंकहरूको नाफा कमाउने क्षमतामा सुधार

लगानीकर्ताको स्वपुँजीमा आधारित प्रतिफल दर बढेर औसत ९.३१ प्रतिशत पुगेको छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार १o:४७:oo

वाणिज्य बैंकहरूको नाफा कमाउने क्षमतामा सुधार आएको छ । बैंकहरूको नाफा कमाउने क्षमता मापन गर्ने दुई सूचक स्वपुँजीमा आधारित प्रतिफल दर (रिटर्न अन इक्विटी) र सम्पत्तिमा प्रतिफल दर (रिटर्न अन एसेट)मा सुधार देखिएको हो । 

साधारणतया खुद नाफालाई स्वपुँजी र सम्पत्तिसँग तुलना मापन गरेर बैंकहरूको नाफा कमाउने क्षमता हेर्ने गरिन्छ । सेयरधनीको पुँजीलाई बैंकहरूले मुनाफा आर्जनमा प्रभावकारी रूपमा उपयोग गरिरहेका छन् वा छैनन् बुझ्न स्वपुँजीमा प्रतिफल दर हेर्ने प्रचलन छ । त्यसैले बैंकहरूको खुद नाफाभन्दा पनि यसको नाफा दिने क्षमताबारे यकिन जानकारी लिन प्रतिफल दर हेर्ने गरिन्छ । सामान्यतयाः खुद नाफालाई सेयरधनीको पुँजीसँग तुलना गरेर यस्तो प्रतिफल दर मापन गरिन्छ । चालू आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)मा स्वपुँजीमा आधारित औसत प्रतिफल दर ९.३१ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो दर ८.१९ प्रतिशत थियो । कर्जा असुली प्रभावकारी बन्दै गएपछि यसले बैंकहरूको नाफा दिने क्षमतामा सुधार आएको बैंकरहरू बताउँछन् ।

त्यस्तै, बैंकहरूको सम्पत्तिका आधारमा प्रतिफल दर (रिटर्न अन एसेट)मा पनि सुधार आएको छ । चालू आवको पहिलो त्रैमासमा बैंकहरूको औसत रिटर्न अन एसेट ०.९७८ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ०.८७९ प्रतिशत थियो । 

कसको प्रतिफल दर खस्कियो ?
२० वाणिज्य बैंकमध्ये सात वाणिज्य बैंकहरूको प्रतिफल दर खस्किएको देखिन्छ । एनआइसी एसिया, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, सानिमा बैंक, प्रभु बैंक र माछापुच्छ्रे बैंकको स्वपुँजीमा प्रतिफल दर खस्किएको छ । 

एनआइसी एसियाको स्वपुँजीमा प्रतिफल दर १३.३२ प्रतिशतबाट खस्किएर १.४३ प्रतिशतमा झरेको छ । त्यस्तै, यसको सम्पत्तिमा प्रतिफल दर १ प्रतिशतबाट झरेर ०.११ प्रतिशतमा पुगेको छ । 

राष्ट्रिय वाणिज्य बैंकको स्वपुँजीमा प्रतिफल दर ६.२७ प्रतिशतबाट घटेर १.१४ प्रतिशत पुगेको छ । त्यस्तै, सम्पत्तिमा प्रतिफल दर ०.८६ प्रतिशतबाट झरेर ०.१२ प्रतिशत पुगेको छ । सिटिजन्स इन्टरनेसनलको स्वपुँजीमा प्रतिफल दर ७.७८ प्रतिशतबाट घटेर ३.६५ प्रतिशत कायम भएको छ । त्यस्तै, यो बैंकको सम्पत्तिमा प्रतिफल ०.८ प्रतिशतबाट ०.३५ प्रतिशतमा खुम्चिएको छ । हिमालयन बैंकको स्वपुँजीमा प्रतिफल दर ११.६२ प्रतिशतबाट घटेर ७.५४ प्रतिशत कायम भएको छ । यसको सम्पत्तिमा प्रतिफल दर ०.७७ प्रतिशत कायम छ । 

सानिमा बैंकको स्वपुँजीमा प्रतिफल दर ९.६८ प्रतिशतबाट घटेर ७.४२ प्रतिशत कायम भएको छ । त्यस्तै, सम्पत्तिमा प्रतिफल दर ०.८६ प्रतिशतबाट घटेर ०.६७ प्रतिशत कायम भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको स्वपुँजीमा प्रतिफल दर घटेर ९.४३ प्रतिशत र सम्पत्तिमा प्रतिफल दर १.१५ प्रतिशत कायम भएको छ । 

प्रभु बैंकको स्वपुँजीमा प्रतिफल दर १२.०७ प्रतिशतबाट ११.२४ प्रतिशत कायम भएको छ । यो बैंकको सम्पत्तिमा प्रतिफल दर १.२ प्रतिशतबाट १.१३ प्रतिशत पुगेको छ । माछापुच्छ्रे बैंकको स्वपुँजीमा प्रतिफल दर १३.२५ प्रतिशतबाट घटेर ११.४७ प्रतिशत कायम भएको छ । त्यस्तै, सम्पत्तिमा प्रतिफल दर १.१६ प्रतिशतबाट घटेर १.०४ प्रतिशत कायम छ । 

बढी प्रतिफल दर भएका बैंकहरू
प्रतिफल दर बढी हुने बैंकहरूमा स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक, प्राइम कमर्सियल बैंक र एनएमबि बैंक छन् । यी बैंकहरूको स्वपुँजीमा प्रतिफल दर १५ प्रतिशतभन्दा बढी छ भने सम्पत्तिमा प्रतिफल १.५ प्रतिशतभन्दा बढी छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको स्वपुँजीमा प्रतिफल दर १६.४३ प्रतिशत छ भने सम्पत्तिमा प्रतिफल दर २.४३ प्रतिशत छ ।

त्यस्तै, नेपाल एसबिआई बैंकको स्वपुँजीमा प्रतिफल दर १६.३७ प्रतिशत र सम्पत्तिमा प्रतिफल दर १.५४ प्रतिशत छ । एभरेष्ट बैंकको स्वपुँजीमा प्रतिफल दर १६.०७ प्रतिशत छ भने सम्पत्तिमा प्रतिफल दर १.५४ प्रतिशत छ । 

प्राइम कमर्सियल बैंकको स्वपुँजीमा प्रतिफल दर १५.९७ प्रतिशत र सम्पत्तिमा प्रतिफल दर १.८६ प्रतिशत छ । त्यस्तै, एनएमबि बैंकको स्वपुँजीमा प्रतिफल दर १५.४४ प्रतिशत र सम्पत्तिमा प्रतिफल दर १.४९ प्रतिशत छ ।

सर्वाधिक खुद नाफा आर्जन गर्ने नबिल बैंक प्रतिफल दरमा भने छैटौँ स्थानमा छ । नबिल बैंकको स्वपुँजीमा प्रतिफल दर १३.५२ प्रतिशत र सम्पत्तिमा प्रतिफल दर १.४४ प्रतिशत छ । कुमारी बैंकले स्वपुँजीमा प्रतिफल दरमा गत आवको तुलनामा सुधार गरेको छ ।

गत आवको पहिलो त्रैमासमा २.८५ प्रतिशत मात्रै स्वपुँजीमा प्रतिफल दर भएको यो बैंकको चालू आवको सोही अवधिमा ११.२५ प्रतिशत पुगेको छ । ग्लोबल आइएमई बैंकको स्वपुँजीमा प्रतिफल दर ८.२५ प्रतिशतबाट बढेर ९.७६ प्रतिशत पुगेको छ भने सम्पत्तिमा प्रतिफल दर ०.९१ प्रतिशतबाट बढेर ०.९८ प्रतिशत कायम छ ।