Skip This
गुल्मीको सत्यवतीमा जारी काष्ठकला तथा चित्रकला कार्यशाला सम्पन्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
२o८१ कार्तिक ११ आइतबार ११:१९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीको सत्यवतीमा जारी काष्ठकला तथा चित्रकला कार्यशाला सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार ११:१९:oo

गुल्मीको सत्यवतीमा जारी काष्ठ मूर्तिकला तथा चित्रकला कार्यशाला सम्पन्न भएको छ। सत्यवती गाउँपालिका गुल्मीको आयोजनामा १ कात्तिकदेखि १० गतेसम्म कार्यशाला सञ्चालन गरिएको थियो ।

धार्मिक तथा पर्यटकीय क्षेत्र सत्यवतीको प्रचार–प्रसारमा टेवा पुराउने उद्देश्यले सत्यवती गाउँपालिका– ३ ठुलोलुम्पेकको सत्यवती क्षेत्रमा काष्ठ मूर्तिकला तथा चित्रकला कार्यशाला आयोजना गरिएको सत्यवती गाउँपालिका– ३ का वडाध्यक्ष जितबहादुर तरामूले जानकारी दिए ।

कार्यशालामा स्वदेश तथा विदेशमा ख्याति कमाएका २३ जना मूर्तिकार तथा चित्रकारको सहभागिता रहेको थियो । गाउँपालिकाको पहिचानसँग जोडिएको सत्यवती क्षेत्रको पछिल्लो समय भौतिक विकासलाई तीव्रता दिइएको छ ।

ग्रामीण पर्यटन प्रवर्द्धनका लागि कार्यशालाले थप टेवा पुर्‍याउने अपेक्षा गरिएको तरामूले बताए । मूर्तिकार तथा चित्रकारले एकजनाले एउटा मूर्ति तथा तीन–चारवटा चित्र बनाएका छन् । कलाकारहरूको संयोजन गरिरहेका प्राज्ञ वरिष्ठ मूर्तिकार यामबहादुर थापाले जंगलमा कुहिएर र सुकेर जाने गुराँसका काठहरूमा सांस्कृतिक, प्राकृतिक र धार्मिक आस्थासहित सत्यवती क्षेत्रको भावना समेटिएका आकर्षक मूर्तिहरू कोरिएको बताए । 

सत्यवती गाउँपालिकाकै मूर्तिकार तथा चित्रकारहरूको अगुवाइमा निःशुल्क कार्याशाला गरिएको थियो । सत्यवती गाउँपालिकाका प्राज्ञ मूर्तिकार भुवन थापा मगर ‘बहुवी’, यामबहादुर थापा र नरेन्द्र भण्डारीले आफू र विभिन्न ठाउँका कलाकारमार्फत सत्यवती क्षेत्रको पर्यटकीय विकासका लागि निःशुल्क रूपमा मूर्ति तथा चित्रहरू निर्माण गरेका थिए। 

प्राज्ञ वरिष्ठ मूर्तिकार नरेन्द्र भण्डारीले मूर्ति तथा चित्रमार्फत देश तथा विदेशमा पहिचान बनाए पनि आफ्नै गाउँमा आफू र आफ्नो प्रतिभा गुमनाम भएकाले कार्यशालामार्फत जोडिन खोजेको बताए । चित्रकारहरूले सत्यवती क्षेत्रका मठमन्दिर तथा पूर्वप्रधानपञ्चदेखि गाविस अध्यक्षसम्मको फोटो निर्माण गरेका छन् । नेपाल सरकारका सय नयाँ पर्यटकीय गन्तव्यमध्ये सत्यवती क्षेत्र पनि पर्दछ ।

सत्यवती क्षेत्रको विकास गाउँपालिकाको प्राथमिकतामा परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिए । उनले संघ, प्रदेश र स्थानीय सरकारमार्फत विभिन्न पर्यटकीय योजनाहरूको काम गरिएको बताए । पर्यटन बोर्ड र पालिकाले गरेर दुई चरणमा ५८ लाखभन्दा बढीका संरचना निर्माण गरिएको बताए ।

सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले आफ्नो जन्मभूमिप्रति मूर्ति तथा चित्रकारले देखाएका ऊर्जा र सहयोगी भावनाको उच्च प्रशंसा गरे । उनले सत्यवतीको लागि केन्द्र र प्रदेश सरकारमार्फत सोचेअनुसारको सहयोग नपाए पनि सकेको विकास गरिरहेको बताए । साथै पाण्डेले देश तथा विदेशमा कहलिएका कलाकारहरू गाउँपालिकाले चिन्न नसक्नु दु:खद पक्ष भएको बताउँदै आगामी दिनमा समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताए।

उनले मूर्तिकार तथा चित्रकारहरूले बडो दु:खले निर्माण गरेका मूर्ति तथा चित्रहरूको संरक्षणमा गाउँपालिकालाई चुनौती थपिएको बताए । गाउँपालिकाले १० दिनसम्म मूर्ति तथा चित्र निर्माण गरेका कलाकारहरू तथा स्वयंसेवकहरुलाई सम्मान गरेको छ ।

कार्यशालाको समापन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य यमु गैरे, कालीगण्डकी गाउँपालिका अध्यक्ष बेद थापा, सत्यवती तथा कालीगण्डकीका वडाध्यक्ष तथा जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।