Skip This
धनगढीमा खोलानालाको अतिक्रमण हटाउने तयारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
२o८१ कार्तिक ११ आइतबार १२:२९:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

धनगढीमा खोलानालाको अतिक्रमण हटाउने तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार १२:२९:oo

धनगढी उपमहानगरले नगरभित्र खोलानालाको क्षेत्र मिचेर बनाइएका संरचना हटाउने तयारी गरेको छ। उपमहानगरले सूचना जारी गर्दै पानीको वहाब रोकिने गरी खोलानालाको क्षेत्राधिकारभित्र निर्माण गरिएका भौतिक संरचनाहरू कात्तिक मसान्तभित्र हटाइसक्न अल्टिमेटम दिएको छ।

खोलानालामा पानीको प्राकृतिक वहाबलाई यथावत् राख्न अतिक्रमित भौतिक संरचनाहरू हटाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले बताएका छन्। अतिक्रमण हटाएर खोला किनारमा सडक तथा फुटपाथ निर्माण गर्नुका साथै हरियाली विकास गर्ने योजना रहेको उनले जानकारी दिए। त्यसरी बनाइएका संरचना कात्तिक मसान्तभित्र नहटाए स्थानीय सरकार सञ्चालन ऐनअनुसार कारबाही गरिने उपमहानगरले चेतावनी दिएको छ।

उपमहानगरले सहरी क्षेत्रका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८ र १३ का प्राकृतिक खोलानाला मिचेर बनाइएका संरचना हटाउन लागेको हो। सडक तथा फुटपाथ निर्माण कार्यका लागि खोलानालाको अधिकार क्षेत्र र ‘सेटब्याक’ रेखांकन तथा सीमांकन गर्न लागिएको उपमहानगरले जनाएको छ। उपमहानगरले धनगढी मुख्य बजारमा रहेका खोलाको अतिक्रमण हटाउने सुरुवात दुई वर्षअघि पनि गरेको थियो, तर त्यसले निरन्तरता पाउन सकेको थिएन।   

उपमहानगरका डिभिजनल इन्जिनियर दिजराज भट्टले तिहारलगत्तै खोलानालाको क्षेत्राधिकार छुट्याउन सर्भेको काम सुरु गरिने बताए। उनले अतिक्रमण क्षेत्राधिकार छुट्याउने र अतिक्रमण हटाउने काम सँगसँगै गरिने बताए। ‘तिहारलगत्तै बजार क्षेत्रका खोलामा नक्सांकन गर्ने, पोलहरू गाड्ने, चिह्न लगाउने काम गर्छौँ,’ उनले भने, ‘क्षेत्राधिकार छुट्याएपछि अतिक्रमण हटाएर फुटपाथ बनाउने योजना छ।’

मुख्य बजार क्षेत्रमा बग्ने कैलाली नालाको केही भागमा ‘पाइलट प्रोजेक्ट’को रूपमा अहिले फुटपाथ बनाउने योजना रहेको उनले जानकारी दिए। उपमहानगरका अनुसार धनगढी बजार क्षेत्र भएर बग्ने सुकुटी नाला र कैलाली नालाको क्षेत्राधिकार १०–१० मिटर कायम छ। केही ठाउँमा अतिक्रमण गरेर भौतिक संरचना बनाइएका छन्। खोलानालाको अतिक्रमण हटाउनुपर्ने माग उठ्दै आएको छ।

आगामी जेठसम्म सहरी क्षेत्रमा खोलानालाको कम्तीमा चार किलोमिटर क्षेत्रमा सर्भे र अतिक्रमण हटाउने कार्ययोजना नै बनाइएको डिभिजनल इन्जिनियर भट्टले जानकारी दिए। उपमहानगरले यसअघि सुकुटी नालामा करिब दुई किलोमिटर क्षेत्रमा अतिक्रमण हटाए पनि त्यसलाई निरन्तरता दिन सकेको थिएन। उपमहानगरले नगरभित्रका तालतलैयाको अतिक्रमण हटाउने कार्य पनि अभियानका रूपमा सञ्चालन गरिरहेको छ।