१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ कार्तिक ७ बुधबार o६:३८:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जिबीको सहकारी ठगी धन्दामा राष्ट्रपतिका कानुनी सल्लाहकार कुँवरको ‘कनेक्सन’

Read Time : > 4 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार o६:३८:oo

जिबी राईले पाँचवटा सहकारीको रकम अपचलन गर्दा पूर्वप्रदेश प्रमुखसमेत रहेका बाबुराम कुँवर उनको कानुनी सल्लाहकार थिए, आइजिपी वसन्तबहादुर कुँवरका सहोदर दाइ उनीमाथि न प्रहरीले अनुसन्धान गर्‍यो, न संसदीय छानबिन समितिले बयान लियो

जिबी राईको सहकारी ठगी धन्दामा राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरको पनि ‘कनेक्सन’ देखिएको छ । जिबीले पाँचवटा सहकारीको रकम विभिन्न कम्पनीमा लगेर अपचलन गर्दा पूर्वप्रदेश प्रमुखसमेत रहेका कुँवर उनको कानुनी सल्लाहकार रहेको खुलेको छ । उनी नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवरका सहोदर दाइ हुन् । 

जिबीको व्यक्तिगत मात्र नभई रकम अपचलन गरिएका संस्थामा पनि कुँवर कानुनी सल्लाहकार थिए । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिले नै यसलाई पुष्टि गरेको छ भने प्रहरी अनुसन्धानबाट पनि उनको ‘कनेक्सन’ देखिएको छ । तर, राजकीय सत्ता र प्रहरी प्रशासनमा भएको पहुँच र शक्तिका कारण कुँवरमाथि अनुसन्धान नै गरिएको छैन । 

स्रोतका अनुसार सहकारीको रकम अपचलन भएका वेला जिबी राईको नेचर हर्ब्सलगायत कम्पनीका कानुनी सल्लाहकारका रूपमा कुँवरले काम गरेका थिए । जिबीको मुख्य कानुनी सल्लाहकारको भूमिकामा पनि थिए । त्यसबापत उनले डेढ वर्षसम्म पारिश्रमिक नै बुझेका छन् । कतिसम्म भने जिबीका कम्पनीका साधारणसभामा समेत कुँवरले भाषण दिने गर्थे । ९ पुस ०७७ मा गोर्खा ग्रुप अफ कम्पनीको एक कार्यक्रममा उनले भाषण गरिरहेको तस्बिर सार्वजनिक भएको छ । जिबीका हरेकजसो कम्पनीमा उनी कानुनी सल्लाहकार थिए । तिनै कम्पनीमा पाँचवटा सहकारीको रकम लगेर अपचलन भएको थियो । जसकारण हाल हजारौँ सर्वसाधारणको बिचल्ली भएको छ ।

संसदीय छानबिन समितिका सभापति सूर्य थापाका अनुसार कुँवरको भूमिका जिबीको मुख्य ब्याकअपका रूपमा थियो । ‘उहाँ (कुँवर) जिबी राईको मुख्य ब्याकअपका रूपमा देखिनुहुन्छ, छविलाल जोशीलगायतलाई जिबी राईसँग जोड्न पनि उहाँको भूमिका थियो । कुनै कम्पनीमा जिबी राईसँग पार्टनर पनि हुनुहुन्थ्यो भन्ने कुरा आएको थियो, तर हामीलाई गोर्खा मिडिया नेटवर्कमा केन्द्रित भएर अनुसन्धान गर्ने जिम्मेवारी भएकाले त्यसतर्फ खोज्ने समय पुगेन,’ उनले भने, ‘कुँवरविरुद्ध उजुरी पनि परेको थिएन, हामीसँग समयसमेत निकै कम भएकाले सोधपुछमा बोलाउन भ्याएनौँ ।’

छानबिन समितिका एक सदस्यका अनुसार विदेश भाग्नुअघिसम्मै जिबीलाई कुँवरले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सघाएको देखिन्छ । सहकारी विभागबाट पासपोर्ट रोक्का राखेकामा त्यो उजुरी रातारात मिलाएर अरू उजुरी रोक्दै उनी विदेश भागेका थिए । जब कि त्यतिवेलासम्म उनका सबै सहकारीविरुद्ध उजुरी पर्न थालिसकेको थियो । जिबीका सबै कम्पनीको विवरण निकालेर छानबिन गरे त्यसमा कुँवरको साझेदारीसमेत बाहिर आउने ती सदस्यको भनाइ छ । 

जिबीका पूर्वसाझेदार छविलाल जोशीले पनि जिबी र कुँवरको घनिष्ठता खुलाएका छन् । आफू कुँवरकै सल्लाहमा जिबीसँग व्यावसायिक साझेदार बनेको संसदीय छानबिन समितिसमक्ष उनले बयान दिएका छन । ‘म जिल्ला प्रहरी परिसर (काठमाडौं)मा रहँदा जिबी राई, दीपेश पुनलगायत केही साथीहरू एउटा काम लिएर आउनुभएको थियो । उक्त काम सम्पन्न भएपश्चात् पनि हामी सम्पर्कमै रह्यौँ । म ०७५ मा सेवानिवृत्त भएपश्चात् पनि उहाँ मसँग सम्पर्कमै रहनुभएको थियो । उहाँले मलाई नेचर हर्ब्समा सहयोग गनुपर्‍यो भन्नुभयो । यस विषयमा मैले पूर्वमहान्यायाधिवक्ता बाबुराम कुँवरसँग सरसल्लाह गरेर ऐन–नियमअनुसार नेचर हर्ब्समा आबद्ध भएँ । पछि गोर्खा मिडिया नेटवर्क प्रालिमा पनि उहाँकै व्यावसायिक साझेदारका रूपमा आबद्ध भएँ,’ उनले बयानमा भनेका छन् ।  पूर्वडिआइजी जोशी जिबीको पूर्वपार्टनर भएकै आधारमा प्रहरी हिरासतमा छन् । 

कुँवरले पनि करिब डेढ वर्ष आफू जिबी राईको कम्पनीमा कानुनी सल्लाहकार भएको स्वीकार गरे । तर, जिबीले सहकारीबाट ठगी गरेको रकम ती कम्पनीमा लगेको विषय आफूलाई जानकारी नभएको उनको दाबी छ । ‘नेचर हर्ब्स भन्ने एउटा कम्पनी थियो । त्यो कम्पनीको कन्सलटेन्स थिएँ, त्यो सत्य हो । छविलाल (जोशी) मेरो गाउँको मान्छे हो, उसले जबर्जस्ती सल्लाहकार बस्नुपर्छ भनेर केही समय बसेको हुँ । करिब डेढ वर्ष सल्लाहकारका रूपमा काम गरेँ । पारिश्रमिक पनि लिएको सत्य हो । तर, त्यो कम्पनीमा सहकारीबाट पैसा आएको जानकारी थिएन, छोडेपछि मात्र थाहा पाएको हुँ । सहकारी ठगीबारे मलाई कहीँकतै जानकारी छैन ।’ गोर्खा मिडियामा आफू कानुनी सल्लाहकार नभएको कुँवरको दाबी छ । 

तर, कास्कीमा काम गरेका एक पूर्वप्रहरी अधिकारी भने सो विषयमा आइजिपी कुँवरले समेत चासो राख्दै आएको बताउँछन् । बाबुरामको सल्लाहकार देखिने कतिपय कागजपत्रसमेत अनुसन्धानमा नल्याइएको प्रहरी स्रोत बताउँछ । तर, सो प्रकरणमा आफूलाई कुनै जानकारी नभएकाले भाइसँग जोड्नु गलत भएको कुँवरको भनाइ छ ।  ‘आइजिपी मेरा भाइ हुन्, तर अहिले उनीसँग जोडेर यसमा कुरा गर्नु गलत हो,’ उनले भने । 

सुशील कोइराला प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेका कुँवर गण्डकी प्रदेशका पूर्वप्रमुखसमेत हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी वसन्तकुमार शर्माले सूर्यदर्शन सहकारीको ठगीमा बाबुराम कुँवरको संलग्नताबारे आफूहरूलाई जानकारी नभएको दाबी गरे । कास्की प्रहरीले हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सहकारीको रकम गएको कम्पनीको सञ्चालक रहेकै आधारमा लामिछानेलाई पक्राउ गर्नु राजनीतिक प्रतिशोध भएको भन्दै रास्वपाले आन्दोलन गरिरहेको छ । 

प्रमाण नष्ट गरिएको आशंका

बाबुराम कुँवर

संसदीय छानबिन समितिका एक सदस्यका अनुसार जिबीका सबै कम्पनीको विवरण निकालेर छानबिन गरे त्यसमा कुँवरको साझेदारीसमेत बाहिर आउँछ । तर, सत्ता र प्रहरी नेतृत्वसँगको पहुँचका कारण उनीमाथि अनुसन्धान नै गरिएको छैन । बरु, कुँवर जोडिएका विषयमा विगतमा नै प्रमाण नष्ट गरिएको स्रोतको दाबी छ । कास्कीमा काम गरेका एक पूर्वप्रहरी अधिकारी यस विषयमा आइजिपी वसन्तबहादुर कुँवरले समेत चासो राख्दै आएको बताउँछन् । बाबुरामको सल्लाहकार देखिने कतिपय कागजपत्रसमेत अनुसन्धानमा नल्याइएको प्रहरी स्रोतको भनाइ छ । हाल प्रहरीले सहकारीबाट पैसा गैरकानुनी रूपमा लगिएका राईका केही कम्पनीका सञ्चालकमाथि मात्र अनुसन्धान गरिरहेको छ । तर, कुँवरले भने जिबीको ठगीका विषयमा आफूलाई जानकारी नभएको दाबी गरे । ‘नेचर हब्र्स भन्ने एउटा कम्पनी थियो । त्यो कम्पनीको कन्सलटेन्स थिएँ, त्यो सत्य हो । छविलाल (जोशी) मेरो गाउँको मान्छे हो, उसले नै जबर्जस्ती सल्लाहकार बस्नुपर्छ भनेर केही समय बसेको हुँ । करिब डेढ वर्ष सल्लाहकारका रूपमा काम गरेँ । पारिश्रमिक पनि लिएको सत्य हो,’ उनको दाबी छ, ‘तर, त्यो कम्पनीमा सहकारीबाट पैसा आएको जानकारी थिएन, छाडेपछि मात्र थाहा पाएको हुँ ।’ आफ्नो नाम आइजिपीसँग जोड्नु गलत हुने उनको भनाइ छ ।

बाबुराम कुँवर जिबी राईको ब्याकअपमा हुनुहुन्थ्यो, समय निकै कम भएकाले उहाँलाई सोधपुछमा बोलाउन भ्याएनौँ : सूर्य थापा, सभापति, संसदीय विशेष छानबिन समिति 
बाबुराम कुँवर जिबी राईको मुख्य ब्याकअपका रूपमा देखिनुहुन्छ । छविलाल जोशीलगायतलाई जिबीसँग जोड्न पनि उहाँको भूमिका थियो । कुनै कम्पनीमा जिबीसँग पार्टनर पनि हुनुहुन्थ्यो भन्ने कुरा आएको थियो, तर हामीलाई गोर्खा मिडिया नेटवर्कमा केन्द्रित भएर अनुसन्धान गर्ने जिम्मेवारी भएकाले त्यसतर्फ खोज्ने समय पुगेन । उहाँविरुद्ध उजुरी परेको थिएन, हामीसँग समय पनि निकै कम भएकाले उहाँलाई सोधपुछमा बोलाउन भ्याएनौँ ।

कुँवरमाथि छानबिन गर्न रास्वपाको चुनौती 
राष्ट्रपतिका सल्लाहकार कुँवरमाथि छानबिन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई चुनौती दिएको छ । मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै कार्यवाहक प्रवक्ता मनीष झाले यो विषय उठाएका छन् । ‘सञ्चालकले पैसा ल्याएर अकाउन्टमा राखिराखेको थियो, त्यो प्रयोग गर्ने म्यानेजिङ डाइरेक्टर रवि लामिछाने हुनुहुन्थ्यो, त्यसैले उहाँलाई कारबाही गर्नुपर्‍यो भन्ने तर्क हो भने पैसा कहाँबाट आउँदै छ भन्ने कुराको नियन्त्रण, अवलोकन र सबै सूचना राख्नुपर्ने व्यक्ति को हुन्छ ? संस्थाको कानुनी सल्लाहकार हुन्छ । गोर्खा मिडियाको पनि कानुनी सल्लाहकार हुनुहुन्थ्यो । तर, उहाँलाई त तपाईंहरू (कांग्रेस–एमाले)ले राष्ट्रपतिको कानुनी सल्लाहकार बनाइदिनुभएको छ । अहिलेसम्म उहाँको बयानसमेत लिनुभएको छैन । जब कि पैसा कहाँबाट आउँदै छ, कुन प्रक्रियाबाट आउँदै छ, खर्च कसरी हुँदै छ भन्ने कानुनी रूपमा अपडेट राख्ने काम उहाँको होइन ? उहाँलाई चाहिँ पुरस्कृत गरिदिने ? भनेपछि यो नियोजित नै देखिन्छ,’ उनले भने ।

जोशीको बयान सकियो, आज पोखरा पठाइने
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीसँग रुपन्देहीमा दुई दिनसम्म बयान लिइएको छ । सरकारी वकिलको कार्यालयमा उनीसँग सोमबार र मंगलबार बयान लिइएको हो । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले दुई दिन बयान लिइएको बताए । सोमबार दिउँसो १२ बजेदेखि साझ पौने ७ बजेसम्म र मंगलबार बिहान ११ बजेदेखि साँझसम्मै जोशीसँग बयान लिइएको थियो । बयान प्रमाणीकरणको काम सकिएको पौडेलले बताए । जोशीको बयान चलिरहँदा मंगलबार भैरहवामा सहकारीपीडितले प्रदर्शन गरेका थिए । 

बयान सकिएकाले बुधबार जोशीलाई पोखरा पठाउने तयारी रुपन्देही प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले जोशीलाई बुधबार दिउँसो पोखरा पठाइने बताए । सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान भइरहेकामा जोशीलाई सोमबार सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न बुटवल ल्याइएको थियो । जोशीविरुद्ध रुपन्देहीमा उजुरी परेको तथा सहकारी रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा रुपन्देही ल्याई बयान लिइएको हो ।