१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २९ शुक्रबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत २९ शुक्रबार o८:४७:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सत्तागठबन्धननिकट कानुन व्यवसायीको प्यानल नै विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत २९ शुक्रबार o८:४७:oo

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनमा सत्तागठबन्धननिकट कानुन व्यवसायी विजयी भएका छन् । अध्यक्षदेखि सदस्यसम्म नै डिएलए र पिपिएलको गठबन्धनबाट उम्मेदवारी दिएकाहरू विजयी भएका हुन् । 

कानुन व्यवसायीको स्वतन्त्र संगठन बारको अध्यक्षमा प्राडा विजयकुमार मिश्रले झन्डै दोब्बर मतान्तरले जित निकालेका हुन् । बिहीबार औपचारिक मतपरिणाम घोषणा भएको हो । जसअनुसार मिश्रले पाँच हजार ५२ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी तथा विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवारी बनेका वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले दुई हजार ६२१ मत पाए । बारको २७औँ कार्यसमितिका लागि शनिबार देशभरका ३५ केन्द्रमा मतदान भएको थियो । 

परिणामअनुसार महासचिवमा पनि सत्तानिकट कानुन व्यवसायी संगठनबाट मिश्रको प्यानलका उम्मेदवार वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला विजयी भएका छन् । उनले चार हजार ८७४ मत पाउँदा विपक्षी गठबन्धनका यज्ञमणि न्यौपानेले दुई हजार ३६७ मत प्राप्त गरे । कोषाध्यक्षमा वरिष्ठ अधिवक्ता जगतबहादुर कार्कीको मत पाँच हजार ८७ आउँदा अधिवक्ता दीपक राईको मत एक हजार ९५० छ । 

निर्वाचन समितिका अनुसार कोशी, मधेश र बागमती प्रदेश उपाध्यक्षमा क्रमशः पदमप्रसाद लिम्बू, अजयशंकर झा र तेजबहादुर रावल विजयी भएका छन् । यसैगरी, गण्डकी प्रदेश उपाध्यक्षमा भूपेन्द्र खनाल र लुम्बिनीमा कृष्णप्रसाद पोख्रेलले उक्त पद प्राप्त गरेका छन् । कर्णाली प्रदेशबाट विवशकुमार बस्नेत र सुदूरपश्चिम प्रदेशबाट उपाध्यक्षमा सिद्धराज ओझा निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा अधिवक्ता सरस्वती श्रेष्ठ विजयी भएको निर्वाचन समितिले जनाएको छ । बारको दलित सदस्यमा चिरञ्जीवी तिलक्यानी विजयी भएका छन् । 

काठमाडौं उपत्यकाबाहिरबाट मधेशी मुस्लिम सदस्यमा सूर्यकुमार यादव, मधेशी मुस्लिम खुलामा रिंकुकुमारी यादव र उपत्यकाबाहिरका सदस्य पदमा वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ निर्वाचित भएका छन् । खुला आदिवासी जनजाति पदमा मंगलसुन्दर सिल्पकार र उपत्यकाबाहिरबाट महिला सदस्यमा इन्दिरा आचार्यले जित हासिल गरेको निर्वाचन समितिले जनाएको छ ।

महिला सदस्यमा अधिवक्ता रञ्जिता कार्की निर्वाचित भएकी छिन् । साथै, उपत्यकाबाहिरको सदस्यमा किरण पौडेलले जित हासिल गरेका छन् । अन्य ६ सदस्यमा अधिवक्ता किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, डा. मुकुन्द अधिकारी र माधव मैनाली निर्वाचित भएका छन् । नौ हजार ९९७ मतदाता रहेकोमा निर्वाचनमा सात हजार ९९५ मत खसेको थियो । 

नवनिर्वाचित अध्यक्ष मिश्र भन्छन्– प्रतिबद्धता गरेका विषय केवल घोषणापत्रमा सीमित नराखी कार्यान्वयनमा लैजान्छु । घोषणापत्रमा राखेकै विषयलाई रुटिन बनाएर कार्यान्वयनमा लैजान्छौँ । न्यायपालिकाको पुनर्संरचनाका लागि संविधान संशोधनका विषय पहिचान गरी संशोधनका लागि पहल गर्छौँ । न्यायपरिषद् नियमावली संशोधन खारेजीको माग यथवात् रहेको र निवर्तमान बार अध्यक्षमाथिको मुद्दाको सामूहिक प्रतिरक्षा गर्नेछौँ ।