
प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकार निजी क्षेत्रसँग साझेदारी भएर काम गर्न पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारणसभा तथा उद्योग दिवस २०८१ कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभित्र लगानीको वातावरण सुधार गर्न विभिन्न कानुनमा महत्वपूर्ण परिवर्तन गरिएको बताए । कानुनी सुधारको उद्देश्य पारदर्शिता बढाउने, प्रक्रियागत झन्झट कम गर्ने र लगानीकर्ताको विश्वास बढाउने रहेको उनको भनाइ थियो ।
सरकारका उच्चपदस्थको सहभागीलाई देखाउँदै प्रधानमन्त्री ओलीले निजी क्षेत्र र अर्थतन्त्र जहिल्यै सरकारको प्राथमिकतामा रहेको बताए । ‘यस्ता कार्यक्रममा प्रधानमन्त्रीसहित यति धेरै मन्त्रीहरू आउने गरेका छैनन्,’ उनले भने, ‘सरकारले निजी क्षेत्रलाई यति महत्व दिएको छ, यति धेरै प्रोत्साहित गरिएको छ ।’ प्रधानमन्त्री ओलीले निजी क्षेत्रका सुझावलाई सरकारले गम्भीरतापूर्वक लिएको र तदनुरूप नीतिगत सुधार गर्दै देशमा लगानीमैत्री वातावरण सिर्जना गर्दै गइरहेको बताए ।
महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने बताएका छन् । उनले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रले निर्बाध रूपमा काम गर्न पाउने विषय पहिलो प्राथमिकता हुनुपर्ने बताए । अर्थतन्त्र, विकास र समृद्धिमा राजनीतिक दलहरूले साझा धारणा बनाउनुपर्नेमा पनि उनले जोड दिए । उनले भने, ‘अर्थतन्त्रलाई कुनै पनि वादले बिथोल्नुहँुदैन, यसलाई सबैभन्दा माथि राखिनुपर्छ ।’
उनले देशमा ८६ प्रतिशत रोजगारी सिर्जना गरेको, ८० प्रतिशतभन्दा बढी प्रत्यक्ष र अप्रत्यक्ष राजस्वमा योगदान गरेको र ८१ प्रतिशत हिस्सा लगानी रहेको निजी क्षेत्र अझै सम्मानित हुन नसकेकोमा गुनासो पोखे । उनले भने, ‘हामीले सुरक्षाको विषय उठाएका हौँ, सम्मानको विषय उठाएका हौँ, मर्यादाक्रमको विषय उठाएका हौँ, यसमा राज्यको कुनै लगानी हुँदैन । मात्र सद्भाव चाहिएको हो ।’ महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले निजी क्षेत्रलाई साक्षीका रूपमा मात्र नभई सहयात्रीका रूपमा अगाडि सार्नुपर्ने धारणा व्यक्त गरे ।
उद्योगी–व्यवसायी सम्मानित
महासंघले वार्षिक साधारणसभा तथा उद्योग दिवसको अवसर परेर विभिन्न सदस्य संस्था र सबैभन्दा धेरै आयकर बुझाएर राज्यलाई योगदान पुर्याउने व्यवसायीलाई सम्मानित गरेको छ । आर्थिक वर्ष ०७९/८० को आय विवरणअनुसार सबैभन्दा धेरै आयकर दाखिला गर्नेहरू वस्तु निर्याततर्फ डाबर नेपाल, बैंक वित्तीय संस्था र बिमातर्फ नबिल बैंक, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटेल, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी, रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये सिटी एक्सप्रेस, विशेष उद्योगमध्ये वरुण बिभरेज सम्मानित भएका छन् ।
महासंघमा २५ वर्ष सेवाअवधि पूरा गरेका निर्देशक सूर्यराज पौडेल र उपनिर्देशक विदुरचन्द्र लामिछानेलाई प्रशंसापत्र प्रदान गरिएको छ । त्यसैगरी, पाँचथर उवासंघ, पर्वत उवासंघ, चितवन उवासंघ र सिन्धुली उद्योग वाणिज्य संघ, नेपाल हस्तकला महासंघ, नेपाल–भारत उद्योग वाणिज्य संघ, प्रादेशिक शाखामा ‘नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश’ सम्मानित भएका छन् ।
हुल बाँधेर पुगे मन्त्रीहरू
नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारणसभा तथा उद्योग दिवस २०८१ मा प्रधानमन्त्रीसहित आधा दर्जन मन्त्रीहरू उपस्थित भएका थिए । महासंघले मन्त्रीमण्डललाई चुलै निम्तो दिएपछि साधारणसभामा मन्त्रीहरूको बाक्लो उपस्थिति देखिएको थियो ।
प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, रक्षामन्त्री मानवीर राई कार्यक्रममा उपस्थित थिए । यस्तै, उपसभामुख इदिरा राना, मुख्यसचिव एकनारायण अर्याल र विभिन्न मन्त्रालयका सचिव तथा उच्चपदस्थ सरकारी अधिकारी पनि कार्यक्रममा सहभागी थिए ।
महासंघले सिंगो मन्त्रीमण्डललाई निमन्त्रणा गरे पनि करिब एकतिहाइ मन्त्री उपस्थित भएका हुन् । कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलको उपस्थिति देखिएन । कार्यक्रममा प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री राणा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीलगायतले सम्बोधन गरेका थिए ।