
नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी–२० आई क्रिकेटमा अर्को एउटा रेकर्ड आफ्नो नाममा लेखाएका छन् । ऐरीले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा धेरै इनिङ्स शून्यमा आउट नहुने रेकर्ड आफ्नो नाममा लेखाएका हुन् । उनले यो सफलता हङकङमा चलिरहेको चारदेशीय टी–२० आई सिरिजमा कुवेतविरुद्ध बनाएका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को आधिकारिक तथ्यांकअनुसार ऐरी टी–२० आई करिअरमा अहिलेसम्म शून्यमा आउट भएका छैनन् । आइसिसीले सार्वजनिक गरेको तथ्यांकअनुसार उनी ७६ खेलमध्ये ६६ इनिङ्समा नटआउट रहे । उनले १० खेलमा ब्याटिङको अवसर नै पाएनन् । नेपालले कुवेतमाथि ६ विकेटको जित निकाल्दा ऐरीले १२ बलमा ३१ रन बनाउँदै नेपालको रोमाञ्चक जित पक्का पारेका थिए । ऐरीले वेस्ट इन्डिजका मार्लोन सामुइल्सको रेकर्ड तोडेका हुन् । सामुइल्स ६७ मध्ये ६५ इनिङ्समा डकआउट भएनन् । ऐरीले सामुइल्सलाई पछि पारेका छन् ।
अन्तर्राष्ट्रिय टी–२० आईमा ऐरीको नाममा ६ बलमा ६ छक्का प्रहार गर्ने रेकर्ड पनि छ । यो उनले कतारविरुद्ध प्रहार गरेका थिए । उनले टी–२० आईमा सन् २०१८ देखि ०२५ सम्म ७६ खेलमा एक हजार ७५६ रन बनाएका छन् । यसक्रममा उनले एक शतक तथा नौ अर्धशतकीय इनिङ्स खेले । उनले टी–२० आईको करिअरमा १३४ चौका र ७५ छक्का प्रहार गरेका छन् । यसैगरी, ऐरीको नामा अर्को दुर्लभ विश्व कीर्तिमान छ । उनले सन् २०२३ मा चीनको हाङझाउमा भएको १९औँ एसियन खेलकुदअन्तर्गत क्रिकेट विधामा मंगोलियाविरुद्ध केवल नौ बलमा ५० रन बनाएका थिए ।
नेपालले पछ्यायो ठुलो लक्ष्य
नेपाली खेलाडीले व्यक्तिगत रेकर्ड बनेको दिनमा नेपाली पुरुष क्रिकेट टोलीले पनि कीर्तिमान बनाएको छ । नेपालले पहिलोपटक १८० रनमाथिको लक्ष्य पछ्याउन सफल भयो । कुवेतले पहिलो ब्याटिङ गरी २० ओभरमा आठ विकेट गुमाएर १८५ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले १८.५ ओभरमा १८६ रन जोड्यो । सन् २०२३ मा नेपालले टी–२० आईमा मलेसियाले दिएको १६६ रन सहजै पाखा लगाएको थियो ।
कुवेतको ब्याटिङ इनिङ्समा चिन्टो अन्टोले ३० बलमा चार चौका र दुई छक्का प्रहार गरी ४१ तथा मित भवसारले २८ बलमा समान दुई चौका र छक्का प्रहार गरी ३५ रनको योगदान दिएका थिए । ओपनर रभिजाले १५ बलमा दुई चौका र एक छक्का प्रहार गरी २६ रन जोडे । मध्यक्रमका विलाल ताहिरले १३ बलमा चार छक्का र एक चौकाको सहयोगमा ३२ रन जोडेका थिए । बलिङमा नेपालका लागि सोमपाल कामीले ३६ रनमा तीन र नन्दन यादवले ३४ रनमा दुई विकेट हात पारे ।
भुर्तेलको धेरै अर्धशतक
दीपेन्द्रसिंहले टी–२० आईमा रेकर्ड राखेकै दिन उनको नाममा रहेको एउटा कीर्तिमान नेपाली खेलाडीले तोडेका छन् । भुर्तेल टी–२० आईमा धेरै अर्धशतकीय इनिङ्स खेल्ने नेपाली खेलाडी बनेका छन् । उनले यो रेकर्ड ऐरीकै तोडेका हुन् । भुर्तेलले ५५ खेलमा ११ अर्धशतक ठोकेका छन् । यसअघि ऐरीको नाममा १० अर्धशतकको रेकर्ड थियो । कुवेतले दिएको १८६ रनको बलियो लक्ष्य पछ्याएको नेपालका ओपनर भुर्तेलले केवल २५ बलमै अर्धशतक पूरा गरेका थिए ।
उनी लगातार दोस्रो खेलमा म्यान अफ दी म्याच भए । सन् २०२५ सिजनको पहिलो अन्तर्राष्ट्रिय सिरिजमा भुर्तेल ब्याटिङ र बलिङमा चम्किरहेका छन् । उनले कुवतेविरुद्ध ५० बलमा समान ६ चौका र छक्का प्रहार गरी सर्वाधिक ८१ रनको योगदान दिए । यसैगरी बलिङमा उनले २७ रन खर्चेर एक विकेट हात पारे ।
भुर्तेल र शेखले तोडे आफ्नै रेकर्ड
चारदेशीय टी–२० आई सिरिजमा नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेख उत्कृष्ट फर्ममा छन् । भुर्तेल र शेखले ओपनिङमा लगातार उत्कृष्ट प्रदर्शन गरेका छन् । कुवेतविरुद्ध उनीहरूले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरे । दुवैले १३.५ ओभरमा १२७ रनको साझेदारी गरेका हुन् ।
उनीहरूले पहिलो विकेटका लागि आफूहरूले बनाएको रेकर्ड नै तोडे । सन् २०२१ मा भुर्तेल र शेखले ओपनिङमा नेदरल्यान्ड्सविरुद्ध ११६ रनको रेकर्ड बनाएका थिए । नेपालका लागि कप्तान रोहितकुमार पौडेल र कुशल मल्लले तेस्रो विकेटका लागि अहिलेसम्मकै सर्वाधिक १९३ रनको साझेदारी गरेका छन् । पौडेल र मल्लले सन् २०२३ मा १९औँ एसियाडमा मंगोलियाविरुद्ध रेकर्ड बनाएका थिए ।
शेखले कुवेतविरुद्ध करिअरकै सातौँ अर्धशतक बनाए । यसक्रममा उनले ३८ बलमा दुई चौका र चार छक्का प्रहार गरे । नेपालको ब्याटिङ इनिङ्समा पहिलो विकेट शेखकै गुमेको थियो । १५.३ ओभरमा भुर्तेलले पनि विकेट गुमाएका थिए । कुशल र कप्तान रोहित समान ४ रनमा पेभेलियन फर्के । त्यसपछि दीपेन्द्रसिंह र गुल्सन झाले पाँचौँ विकेटका लागि आवश्यक रन जोडेका थिए । झाले तीन बलमा दुई चौकाको सहयोगमा नौ रन बनाए ।