
गत वर्ष चीनमा नयाँ विवाह पाँच भागको एक भागले घटेको तथ्यांक बाहिरिएको छ । यसको प्रत्यक्ष असर जन्मदरमा पर्नेछ । एक अनुमान अनुसार चीनमा सन् २०२४ मा ९५.४ लाख नयाँ जन्म रेकर्ड भएकोमा सन् २०२५ मा घटेर ७३ देखि ७८ लाख पुग्ने प्रक्षेपण गरिएको छ । चीनको जनसंख्याले विश्व जनसंख्याको १७.२ प्रतिशत प्रतिनिधित्व गर्छ । जबकि घट्दै गएको जन्मदरका कारण त्यहाँ हुने जन्म विश्वका कुल जन्मको ६ प्रतिशतभन्दा कम हिस्सा ओगट्ने अवस्थामा पुगेको छ, जुन अफ्रिकी मुलुक नाइजेरियाको हाराहारी हो ।
यसबाहेक, सन् २०२५ मा चीनको प्रजनन दर प्रतिमहिला ०.९ मा झर्ने अपेक्षा गरिएको छ । जबकि, जनसंख्या स्थिर राख्नसमेत २.१ जन्म मानक मानिन्छ, जसलाई प्रतिस्थापन दर भनिन्छ । यो सरकारी अधिकारीले सन् २०१६ मा अनुमान प्रक्षेपण गरेकोभन्दा आधा मात्र हो । यो निकै चिन्ताजनक जनसांख्यिकीय वास्तविकता हो । नयाँ चुनौतीपूर्ण परिदृश्यबिच चिनियाँ प्रधानमन्त्री ली छ्याङले नयाँ नीति ल्याउने घोषणा गरेका छन् । तर, जन्मदर वृद्धि प्रयासलाई विवाह संकटले धेरै कमजोर बनाउनेछ ।
चीनमा हुने विवाह सन् २०१३ मा एक करोड ३४ लाख ७० हजार जोडीबाट घटेर सन् २०२४ मा ६१ लाख १० हजार पुगेको छ । यसमा शून्य–कोभिड नीति लागू भएको अवधिमा केही उतारचढाव देखिएको थियो । त्यस्तैगरी, समग्र विवाह दर पनि सोही अवधिमा प्रतिएक हजार मानिसमा ९.९ बाट घटेर ४.३ पुगेको छ । जबकि, यो दर ताइबानमा हजारमा ५.४ र संयुक्त राज्य अमेरिकामा ६.१ (२०२३) थियो ।
आखिर यो किन भइरहेको छ ? दुर्भाग्यवश चिनियाँ नेतृत्वले यसमा धेरै कारण देख्ने गरेको छ । प्रमुख कारकमा चीनको बच्चा जन्माउने उमेरको जनसंख्यामा निरन्तर गिरावट, जीवनशैलीमा आएको परिवर्तन, हाल खारेज भएको बच्चा नीतिको दीर्घकालीन प्रभाव, पुरुषहरूको निरन्तर अत्यधिक आपूर्ति र उच्च युवा बेरोजगारीलाई मान्ने गरिएको छ ।
चीनको द्रुत गतिमा घट्दो प्रजनन दर यति चिन्ताजनक अवस्थामा पुगेको छ कि चिनियाँ प्रधानमन्त्री ली छ्याङले हालै जन्मदर बढाउने नयाँ नीति घोषणा गरेका छन् । तर, विगत डेढ दशकमा विवाह घटेकाले चीनको प्रजनन दर बढाउने एजेन्डा अनिवार्य रूपमा असफल हुने देखिन्छ ।
सन् २०२० को जनगणनाअनुसार चीनमा जन्मिएका कुल नयाँ बालबालिकामध्ये ६१ प्रतिशत बच्चा २०–३० वर्ष उमेर समूहका महिलाबाट जन्मिएका थिए । तर, यस समूहमा महिलाको संख्या सन् २०१२ मा ११ करोड १० लाखबाट घटेर सन् २०२४ मा सात करोड ३० लाख पुगेको छ । सन् २०५० सम्ममा यो उमेर समूहको संख्या तीन करोड ७० लाख हुने प्रक्षेपण गरिएको छ ।
जन्म दिने आमाकै संख्या घट्यो र पछि प्रजनन दर केही हदसम्म बढ्यो भने पनि जन्मसंख्या घट्दै जानेछ । चीनमा दशकौँदेखि छोरी भएको थाहा पाए गर्भपतन गर्ने प्रवृत्ति रह्यो । यसले अहिले दुलहीको अभाव निम्त्याएको छ । एकातर्फ कुल जनसंख्यामा पुरुषको तुलनामा महिलाको जनसंख्या कमी छ भने अर्कोतर्फ एकल छोरी सन्तानका अभिभावकले तिनको छोरीको विवाहभन्दा शिक्षा र आर्थिक स्वतन्त्रतालाई प्राथमिकता दिने हुँदा विवाहमा थप असर पर्ने गरेको छ । चीनमा २५–२९ वर्ष उमेर समूहका अविवाहित महिलाको अनुपात सन् २००० मा नौ प्रतिशत थियो भने सन् २०२० मा ३३ प्रतिशत र सन् २०२३ मा ४३ प्रतिशत पुगेको छ । यो प्रवृत्ति तीव्र गतिमा बढिरहेको छ ।
चीनले सन् १९८० मा एक बच्चा नीति लागू गर्दा यसले विवाहमा अवरोध मात्र बढाएन, सम्बन्धविच्छेदलाई पनि सजिलो बनाइदियो । यसले संकट अझ बढ्यो । सम्बन्धविच्छेद दर सन् १९८० मा प्रतिएक हजारमा ०.३ बाट बढेर सन् २०१९ मा ३.४ पुगेको छ । पछिल्लो समय चीनले सन् २०२१ मा बेलायत र फ्रान्सको उदाहरण पछ्याउँदै सम्बन्धविच्छेदका लागि ३०–दिनको ‘कुलिङ–अफ’ अवधि आवश्यक पर्ने नयाँ नागरिक संहिता लागू गर्यो । तर, यसले सम्बन्धविच्छेद दरलाई प्रतिएक हजारमा दुईमा घटाए पनि, सन् २०२३ सम्ममा यो २.६ मा पुनः बढेको देखियो । जुन जापानको दर (१.५) भन्दा धेरै उच्च हो ।
विश्वभरका लगभग दुईतिहाइ बच्चा ३० वर्ष र सोभन्दा कम उमेरका महिलाबाट जन्मिन्छन् । सन् २०२१ मा पहिलो जन्ममा आमाहरूको औसत उमेर संयुक्त राज्य अमेरिकामा २७, मेक्सिकोमा २७ र भारतमा केवल २१ थियो । तुलनात्मक रूपमा चिनियाँ महिलाको पहिलो जन्ममा औसत उमेर सन् २००० मा २५ बाट बढेर सन् २०२० मा २८ पुगेको छ, जसमा पछिल्ला वर्षमा थप द्रुत वृद्धि देखिएको छ । सांघाईमा यो सन् २०१९ मा ३० बाट बढेर सन् २०२४ मा ३२ पुगेको छ । अझ निराशाजनक कुरा चीनमा समग्र बाँझोपन दर सन् १९७० को दशकमा १–२ प्रतिशत थियो भने यो बढेर सन् २०२० मा १८ प्रतिशत पुगेको छ । विवाहपछि वा आफ्नो पहिलो बच्चा जन्माएपछि धेरैभन्दा धेरै मानिस बाँझोपनको सिकार भइरहेका छन् ।
अन्तर्राष्ट्रियस्तरमा विवाहका लागि कानुनी न्यूनतम उमेर सामान्यतया १६ र १८ वर्षको बिचमा हुन्छ । तर, चीनमा सन् १९८० मा विवाह गर्ने पुरुषहरूको उमेर २२ र महिलाका लागि २० वर्ष तोकियो । लामो अभ्यासले मानिस ढिलो विवाह गर्न र बच्चा जन्माउन यति अभ्यस्त भइसकेका छन् कि अब १८ वर्ष उमेर घटाएर पनि प्रजनन दर बढाउन सकिँदैन ।
अविवाहित व्यक्तिहरूको बढ्दो अनुपातजस्तै व्यापकस्तरमा ढिलो विवाह र बच्चा जन्माउने प्रवृत्ति खासमा सरकारको प्रतिभा लाभांश र ‘नयाँ गुणस्तरीय उत्पादक शक्तिहरू’को खोजी गर्ने नीतिको परिणाम हो । निश्चित रूपमा यी नीतिले स्नातक र स्नातकोत्तर तहमा भर्ना हुने दर बढाउन सघाएको छ । जस्तो, सन् २००० मा क्रमशः २२.१ लाख र एक लाख २९ हजारबाट बढेर एक करोड ६.९ लाख (यस वर्षको जन्मभन्दा धेरै बढी) र सन् २०२४ मा १३.६ लाख पुगेको छ । यसबिच चीनको विश्वविद्यालय तहमा हुने भर्ना दरले जापानलाई उछिनेको छ । यस तथ्यांकले चीनको प्रजनन दर जापानको हालको १.१५ मा स्थिर हुन कठिन हुने संकेत गर्छ ।के चीन सरकारले आफ्नो आर्थिक महत्वाकांक्षा र जनसांख्यिकीय वास्तविकताबिचको विरोधाभास समाधान गर्न सक्छ ? विगतका प्रयासलाई हेर्दा कसैले पनि सटिक रूपमा भन्न सक्दैन ।
(विस्कन्सिन–म्याडिसन विश्वविद्यालयका वरिष्ठ वैज्ञानिक फुक्सियानले विगतमा चीनमा लागू ‘एक–बच्चा नीति’विरुद्धको आन्दोलनको नेतृत्व गरेका थिए ।)