१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ५ सोमबार
  • Tuesday, 22 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक ५ सोमबार o६:४७:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

धनराजले पनि लिएका थिए मीनबहादुरबाट ९१ लाख

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ५ सोमबार o६:४७:oo

ललितपुरस्थित मितेरी सहकारीको रकम हिनामिनामा मुछिएका सत्तारूढ कांग्रेसका उपसभापति धनराज गुरुङले विवादास्पद व्यवसायी मीनबहादुर गुरुङबाट झन्डै करोड रकम लिएको खुलेको छ । जुन रकम उनले सहकारीमा बुझाएका थिए ।  

कानुनमन्त्री हुँदा न्यायाधीश नियुक्तिमा ‘आर्थिक चलखेल’ गरेको आरोप धनराजमाथि थियो, त्यसलगत्तै उनले सहकारीमा ९१ लाखभन्दा बढी बुझाएका थिए । मीनबहादुरको नामबाट काटिएका ८२ लाखका चेक त उनले एकै दिन ‘डिपोजिट’ गरेका थिए । एकमस्ट यत्रो रकम ल्याएको विषयमा धनराजमाथि छुट्टै छानबिन हुनुपर्ने सांसदहरूको माग छ । 

मितेरी सहकारीको रकम हिनामिनामा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङ कानुनमन्त्री हुँदा न्यायाधीश नियुक्तिमा ‘आर्थिक चलखेल’को आरोप थियो, त्यसलगत्तै उनले सहकारीमा ९१ लाख बुझाए, ८२ लाख त एकै दिन तिरेका थिए 

यसअघि धनराजले मितेरीबाट घर निर्माण गर्न ऋण लिएको र पछि उक्त ऋण सोही घर बेचेर तिरेको दाबी गर्दै आएका थिए । तर, उनले मीनबहादुरले काटेका चेक सहकारीमा डिपोजिट गरेको सार्वजनिक भएको छ । उनले १७ वैशाखमा र ६ जेठ ०८१ मा सातवटा चेकमार्फत ९१ लाख बुझाएका छन् । सहकारीको विवरणअनुसार १४–१४ लाखका पाँचवटा चेक १७ वैशाखमा डिपोजिट भएका छन् । त्यस्तै, १२ लाख २६ हजार ९१४ रुपैयाँको चेक पनि १७ वैशाखमै डिपोजिट भएको छ । आठ लाख ९८ हजार ७२० रुपैयाँको चेक भने ६ जेठ ०८१ मा डिपोजिट भएको छ । 

धनराजले मितेरीबाट ०७७ मा ऋण लिएका थिए । जसमा हकवाला भनी ज्योति गुरुङको नाम उल्लेख छ । जब कि धनराजले ज्योतिसँग २९ फागुन ०७६ मै कागजी रूपमा सम्बन्धविच्छेद गरेका थिए । ऋण प्रवाह गर्दा मितेरीमा प्रबन्धक ज्योति थिइन् । ३ फागुन ०७७ मा मितेरी सहकारीबाटै उनले थप १२ लाख ऋण लिएका थिए । त्यसमा पनि हकवाला ज्योति नै उल्लेख गरिएको थियो । मितेरीको १४ करोड ८१ लाख रुपैयाँ हिनामिना गरेपछि ज्योति अहिले फरार छिन् ।

धनराज र उनकी पत्नी ज्योतिसहित पाँचजनाले करिब १४ करोड ८१ लख हिनामिना गरेको भन्दै सहकारीले बागमती प्रदेश सहकारी रजिस्ट्रार र प्रहरीमा पनि उजुरी दिएको थियो । तर, राजनीतिक दबाबमा रजिस्ट्रार कार्यालयले धनराजको नाम काटेर प्रहरीमा सिफारिस गरेको सहकारीका अध्यक्ष कुम्भराज गुरुङको भनाइ छ । प्रहरीले अहिले सहकारीबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

ललितपुरस्थित मितेरी सहकारीको झन्डै १५ करोड हिनामिनामा सत्तारूढ कांग्रेसका उपसभापति धनराज प्रत्यक्ष जोडिएका छन् । तर, उनलाई उन्मुक्ति दिने गरी काम भइरहेको स्रोतको दाबी छ ।केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)मा एक महिनाअघि नै जाहेरी परे पनि सो सहकारीका कोही पनि पक्राउ परेका छैनन् । धनराजसँग सोधपुछसमेत गरिएको छैन । कांग्रेसकै गृहमन्त्री भएकाले राज्य संयन्त्र उल्टै धनराजको संरक्षणमा लागेको आरोप छ । 

धनराजले सहकारीको ऋण तिर्न मीनबहादुरसँग ऋण लिएको दाबी गरे ।  ‘मीनबहादुर मेरा आफन्त हुन् । मितेरीले ऋण तिर भनेर साह्रो किचकिच गर्‍यो । मसँग रकम थिएन । मैले मीनबहादुरसँग ऋण मागेँ । बकाइदा कागज बनाका छौँ । ऋण लिन त पाइयो नि । त्यही ऋण लगेर मैले मितेरीमा बुझाएको हुँ,’ उनले भने ।

व्यवसायी मीनबहादुर गुरुङले धनराजलाई कागजै गराएर एक करोड ऋण दिएको बताए । ‘धनराज गुरुङ मेरो १३ दिने दाजुभाइ नै हो । उसले पैसा चाहियो दिनुपर्‍यो भनेर माग्यो, चाहियो चाहियो भनेर मागेपछि दिनै पर्‍यो । उसलाई एक करोड लोन (ऋण) दिएका हौँ । कागज नै गरेर ऋण दिएका हौँ, चाहिए कागज पनि दिउँला । अरूले पनि ऋण माग्छन्, लेनदेन त चलिरहन्छ नि, अझ दाजुभाइलाई त दिनै पर्‍यो । अब हामीले दिएको ऋण उसले के गर्‍यो, कहाँ बुझायो त्यो जानकारी छैन । सहकारीको कुरा थाहा छैन,’ उनले भने, ‘मन्त्री हुँदा दिएको, राजनीतिक लाभको लागि दिएको भन्नेजस्ता विवाद र आरोप सत्य होइनन् । दाजुभाइको नाताले दिएको हो । यसमा विवाद गर्नुपर्ने कुरो छैन ।’