१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ५ सोमबार
  • Tuesday, 22 October, 2024
टेकराज थामी काठमाडाैं
२o८१ कार्तिक ५ सोमबार o६:४४:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमालेले दान पाएको जग्गा कालु गुरुङदम्पतीका नाममा

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ५ सोमबार o६:४४:oo

ललितानिवासको सरकारी जग्गा हिनामिनामा विशेष अदालतबाट दोषी ठहर भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एमालेको केन्द्रीय कार्यालय भवन बनाउन दान गरेको कीर्तिपुरको जग्गा घरजग्गा (रियल इस्टेट) कारोबारी कालु गुरुङको रहेको खुलेको छ । उनी १४ वर्षअघि पिरामिड शैलीको युनिटी लाइफ ठगी प्रकरणमा पक्राउ परेका थिए । यद्यपि, उनले जिल्ला अदालत ललितपुरबाट सफाइ पाइसकेका छन् । 

मीनबहादुरले केन्द्रीय कार्यालय निर्माण प्रयोजनार्थ एमालेलाई दानमा दिने घोषणा गरेको कीर्तिपुर नगरपालिका–२, मित्रनगरस्थित करिब पाँच रोपनी जग्गा कालुको हो । उक्त जग्गा अहिले रोड सो रियल इस्टेट प्रालिको नाममा छ । यो रियल इस्टेटको सेयरहोल्डर कालुसहित उनकी श्रीमती मीनाकुमारी गुरुङ र आफन्त सागर गुरुङ हुन् । 

मालपोत कार्यालय कलंकीका अनुसार कालुले कीर्तिपुर मित्रनगरको सिट नं. १०२–११४१–२४ को कित्ता नं. ७५, २५७, ३१३, २५८, ३१७ र ३११ को करिब पाँच रोपनी जग्गा बनबारीलाल साहसँग १८ कात्तिक ०७७ मा खरिद गरेका थिए । बनबारीलाल नेपाल प्रहरीका पूर्वहवल्दार हुन् । सेवाबाट अवकाशपछि उनी घरजग्गाको कारोबारमा लागेका थिए । बाराका स्थायी बासिन्दा बनबारीलालको अहिले मित्रनगरमै भव्य घर छ । 

त्यस्तै, २८० नं. कित्ता भने कालुले उदयश्वर श्रेष्ठबाट लिएका थिए । उदयश्वर कीर्तिपुरकै स्थानीय हुन् । कालुले सोही जग्गासँगै सिट नं. १०२–११४१–२५ को कित्ता नंं. ६९१ र ६७६ को जग्गा पनि लिएका छन् । ६९१ को जग्गा प्रमिला साह र ६७६ को जग्गा उनै बनबारीलालबाट खरिद गरेका थिए । प्रमिला बनबारीलालकै श्रीमती हुन् । मालपोत कार्यालय कलंकीका अनुसार उक्त सबै जग्गा अहिले कुमारी बैंकमा बन्धक छ । कालुले उक्त जग्गा तत्कालीन नेपाल क्रेडिट एन्ड कमर्स बैंक(एनसिसी)मा धितो राखी १२ करोड ३० लाख रुपैयाँ ऋण झिकेका थिए । एनसिसी पछि कुमारी बैंकमा मर्ज भएको थियो । कालुले उक्त ऋण अझै चुक्ता गरेका छैनन् । 

मालपोत कार्यालय कलंकी स्रोतले भन्यो, ‘एमालेको केन्द्रीय कार्यालय निर्माण प्रयोजनार्थ दिने भनिएको जग्गा रोड सो रियल स्टेटको नाममा छ । उक्त जग्गा हाल कुमारी बैंकमा बन्धक छ । रियल स्टेटको जग्गा बैंकमा राखेर कालु गुरुङले १२ करोड ३० लाख रुपैयाँ ऋण झिकेको देखिन्छ । त्यसो हुँदा उक्त जग्गा हाल रोक्का छ ।’

सोही जग्गा दान दिने घोषणापछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र मीनबहादुरले दसैँको अष्टमीको दिन २५ असोजमा संयुक्त रूपमा भवनको शिलान्यास गरेका छन् । एमालेले सार्वजनिक गरेको विज्ञप्तिअनुसार मीनबहादुरले भवन निर्माण प्रयोजनार्थ १० रोपनी १४ आना जग्गा दिएका छन् । कालु गुरुङको कम्पनीको नाममा रहेको पाँच रोपनी र बाँकी वरिपरिको जुटाएर उक्त क्षेत्रफल पुर्‍याउने प्रतिबद्धता मीनबहादुरको छ । 

स्थानीय श्रीनगर टोल सुधार समितिका अध्यक्ष भानु अर्यालले हाल मीनबहादुरले दिएको जग्गा १० रोपनी १४ आना नभएकाले केही गडबढ हुन सक्ने बताए । ‘अहिले यहाँको जग्गा चर्चामा छ । मीनबहादुरले एमालेलाई १० रोपनी १४ आना जग्गा दान दिएको भनिएको छ । तर, अहिले यहाँ रहेको जग्गाको परिमाण त्यति पुग्नेजस्तो देखिँदैन । न त उक्त जग्गा मीनबहादुरको नै हो । जग्गाको छेउकुना पनि मिलेको छैन । यहाँ पक्कै पनि केही गडबढ हुन सक्ने हामीलाई आशंका छ ।’

मालपोत कार्यालय कलंकीका प्रमुख पूर्णबहादुर केसीले व्यवसायी मीनबहादुरले एमालेलाई दानमा दिएको भनिएको जग्गा अहिले पनि रोड सो रियल स्टेट प्रालिकै नाममा रहेको र उक्त जग्गा कुनै पनि पार्टीको नाममा नगएको बताए । ‘व्यवसायी मीनबहादुरले मित्रनगरको जग्गा एमालेलाई दिने चर्चापछि हामीलाई पनि चासो भयो । हामीले आन्तरिक रूपमा बुझ्यौँ । उक्त जग्गा हाल रोड सो रियल स्टेट प्रालिको नाममा रहेको देखिन्छ । कुनै राजनीतिक दलको नाममा उक्त जग्गा गएको देखिएको छैन ।’

पोखराका कालु र खोटाङका मीनबहादुर व्यावसायिक साझेदार हुन् । कालु अर्का रियल स्टेट व्यवसायी लालकाजी गुरुङसँग पनि निकट छन् । यी दुई पनि व्यावसायिक साझेदार हुन् । लालकाजी तिनै व्यक्ति हुन्, जो सिभिल सहकारी प्रकरणमा मुछिएका थिए । सुन्धारास्थित सिभिल मल उनै लालकाजीको हो । सिभिलको मुद्दा अझै अदालतमा विचाराधीन छ । 

पिरामिड शैलीमा सर्वसाधारणबाट रकम संकलन गरेको युनिटी लाइफबाट कालुले जग्गा कारोबारका लागि रकम लिएका थिए । तत्कालीन अनुसन्धानमा संलग्न नेपाल प्रहरीका पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीले युनिटीबाट घरजग्गा कारोबार गर्ने उद्देश्यले गुरुङले रकम लिएको र सोही क्रममा उनलाई पक्राउ गरिएको बताए । ‘युनिटीले सर्वसाधारणबाट पिरामिड शैलीमा रकम संकलन गरेको थियो । संकलित सोही रकम कालु गुरुङले पनि प्रयोग गरेको भेटियो । उनलाई हामीले पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याएका थियौँ ।’ 

युनिटीले गैरकानुनी रूपमा करिब ५ वर्षमा तीन लाख ६६ हजार ३३४ सदस्यबाट तीन अर्ब ७९ करोड संकलन गरेको थियो । त्यसवेला सिआइबीले युनिटीका ११२ अभियुक्तविरुद्ध १८ जेठ ०६७ मा १२ अर्ब ७५ करोड रुपैयाँ बिगोदाबी गर्दै जिल्ला अदालत ललितपुरमा ठगी कसुरमा मुद्दा चलाएको थियो । मुद्दा खेप्नेमा कालु पनि थिए । तर, उनी ११ असार ०६७ मा नौ करोड धरौटी तिरेर साधारण तारेखमा छुटेका थिए । पछि जिल्ला अदालत ललितपुरले १८ चैत ०७० मा कालुसहित १०० प्रतिवादीलाई सफाइ दिएको थियो भने युनिटीका अध्यक्ष काशीराज गुरुङसहित १२ जनालाई दोषी ठहर गरेको थियो । कालु हाल पोखरास्थित अन्नपूर्ण केबलकारको समेत मालिक हुन् ।