मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २६ बिहीबार
  • Thursday, 10 July, 2025
बेलेन फर्नान्डेज
२o८२ असार २६ बिहीबार o९:४९:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको मनोनयन बहसमा

Read Time : > 3 मिनेट
बेलेन फर्नान्डेज
नयाँ पत्रिका
२o८२ असार २६ बिहीबार o९:४९:oo
  • ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनीत गर्ने नेतन्याहुको कदमलाई एक युद्ध अपराधीले आफ्नो सबैभन्दा ठुलो समर्थकलाई सम्मानित गर्ने प्रयासका रूपमा हेरिएको छ

विश्वव्यापी राजनीति र कूटनीतिमा चल्ने ‘यति हदसम्म पनि कसैले गर्न सक्छ’ भन्ने प्रतियोगिताको पछिल्लो संस्करणमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनीत गरेका छन् । सीधा भाषामा भन्दा गाजामा प्यालेस्टिनीहरूको नरसंहारको नेतृत्व गरेका नेताले विश्वको प्रतिष्ठित शान्ति पुरस्कारका लागि सो नरसंहारको सबैभन्दा ठुला समर्थकलाई मनोनयन गरेका छन् । 

ट्रम्प तिनै हुन्, जसले गत मार्च महिनामा मात्रै गाजाको ‘काम फत्ते गर्न इजरायललाई आवश्यक पर्ने सबै कुरा सहयोग पठाउने’ वाचा गरेका थिए । त्यो ‘सबै कुरा’मा अर्बौं डलर मूल्यको घातक हतियार र अन्य सहयोग समावेश छन् । अक्टोबर २०२३ देखि हालसम्म लगभग ६० हजार प्यालेस्टिनी इजरायली आक्रमणमा मारिइसके । यद्यपि, धेरै मानिस अझै भवनका भग्नावेशमा पुरिएको आशंका गरिन्छ । सो संख्यासमेत ख्याल गरियो भने वास्तविक मृत्युदर नि:सन्देह धेरै बढी हुन आउँछ । पछिल्लो केही साताभित्रै अमेरिका र इजरायल दुवैको समर्थनमा ‘गाजा ह्युमानिटेरियन फाउन्डेसन’ले सञ्चालन गरिएको सहायता लिन गएका झन्डै ७०० भन्दा बढी प्यालेस्टिनीहरू इजरायली आक्रमणमा मारिएका छन् ।

जनवरीमा दोस्रो कार्यकाल ग्रहण गरेदेखि ट्रम्पले यमनी नागरिकमाथि जथाभावी बमबारी गर्नेदेखि इरानमाथिको अवैध आक्रमणजस्ता स्पष्ट रूपमा अशान्तिपूर्ण प्रकृतिका धेरै कामको निर्देशन दिइसकेका छन् । वास्तवमा मिडियाले ट्रम्पको नोबेल शान्ति पुरस्कारको मनोनयनसम्बन्धी समाचार जसरी प्रस्तुत गरिरहेका छन्, त्यो आफैँमा उदेकलाग्दो छ । उदाहरणका लागि, सिएनले लेख्यो ‘नोबेल शान्ति पुरस्कार ट्रम्पको अन्तिम लक्ष्य बनेको छ, जुन विश्वभरका द्वन्द्व अन्त्य गर्ने प्रयासका लागि उपयुक्त भएको उनले बताएका छन् ।’ 

सन् २०२५ को आफ्नो तेस्रो वासिंटन भ्रमणका क्रममा ह्वाइट हाउसको डिनरमा भाग लिने क्रममा नेतन्याहुले राष्ट्रपति ट्रम्पलाई पुरस्कारका लागि मनोनयन गरेकोबारे जानकारी गराइएका थिए । यस सम्मानका लागि नेतन्याहुलाई धन्यवाद दिँदै ट्रम्पले भने, ‘ओहो ! यो प्रस्ताव विशेषगरी तपाईंबाट आउनु धेरै अर्थपूर्ण छ ।’ अब यसलाई ‘अर्थपूर्ण’ भन्नुमा अन्य रहस्य पनि होला, तर यो शब्दले यस सम्पूर्ण प्रायोजनको आडम्बरपनलाई राम्रोसँग व्यक्त गर्न सक्दैन । 

रेकर्ड हेर्ने भने नोबेल शान्ति पुरस्कार आफैँमा सधैँ उपयुक्त व्यक्तिलाई दिइएको इतिहास भने छैन । यो पुरस्कार घोषित रूपमा ‘राष्ट्र–राष्ट्रबिचको भ्रातृत्वका लागि, स्थायी द्वन्द्व उन्मूलन वा सेना कटौतीको र शान्ति सम्मेलनको आयोजना तथा प्रवद्र्धनका लागि सबैभन्दा वा उत्तम काम गर्ने व्यक्तिलाई प्रदान गरिने’ भनिएको छ । तर, सधैँ यी सर्त पूरा गर्ने व्यक्तिले मात्र पुरस्कार पाएका छैनन् । 

सन् २००९ मा भर्खरै अमेरिकी राष्ट्रपति पद सम्हालेका बराक ओबामालाई पुरस्कार प्रदान गरिएको थियो । जसले पछि गएर अफगानिस्तान, पाकिस्तान, लिबिया, यमन, सोमालिया, इराक र सिरियामाथि व्यापक बमबारी गरे । अब त्यसबाट कत्तिको अन्तर्राष्ट्रिय ‘भ्रातृत्व’ विकास भयो, त्यो सबैले देखेकै छन् । त्यसबाहेक ओबामाले ‘सूची’ बनाएर उनको व्यक्तिगत लहडका आधारमा विदेशमा सैन्य हत्याको निर्देशन दिएको पाइएको छ ।

नोबेल शान्ति पुरस्कार हासिल गर्नेको सूचीमा कोलम्बियाका दक्षिणपन्थी पूर्वराष्ट्रपति हुवाँ म्यानुयल सान्तोसको नाम पनि समावेश छ । इजरायली उदारवादी पत्रिका ‘हारेट्ज’को सन् २०१३ को एक रिपोर्टअनुसार सान्तोसले आफ्नो देशलाई ‘ल्याटिन अमेरिकाको इजरायल’ भनिएकोमा ‘गर्व’ रहेको बताउने गर्थे । राष्ट्रपति निर्वाचित हुनुअघि रक्षामन्त्री रहँदा सान्तोसले कोलम्बियाली सैनिकलाई करिब १० हजारभन्दा बढी नागरिकको हत्या गर्न निर्देशन दिएको र तिनलाई ‘आतंकवादी’ भनेर प्रचार गराएका थिए । ‘आतंकवाद’विरुद्ध लड्ने नाममा नागरिकहरूको नरसंहार गर्ने इजरायलको स्वभावलाई मध्यनजर गर्दा सान्तोसले उनको देशलाई इजरायलसँग तुलना गर्नु उपयुक्त ठहर्‍याउन सकिन्छ । 

धेरैले बिर्सिसके होलान् तर नोबेल शान्ति पुरस्कार विजेताहरूको सूचीमा स्वर्गीय इजरायली राजनीतिज्ञ सिमोन पेरेस पनि समावेश छन् । उनलाई सन् १९९४ मा पुरस्कार प्रदान गरिएको थियो । जबकि, त्यसको दुई वर्षअघि उनकै निगरानीमा लेबनानको काना भन्ने ठाउँमा संयुक्त राष्ट्र संघको परिसरमा आश्रय लिइरहेका १०६ शरणार्थीको हत्या भएको थियो । सन् २०२१ मा, ट्रम्पका आफ्नै ज्वाइँ जेर्ड कुसनरलाई हार्वर्ड कानुन स्कुलका पूर्वप्राध्यापक एलन डेरसोविट्जले नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेका थिए । डेरसोविट्ज तिनै व्यक्ति हुन्, जसले आफ्नो कानुनी करियरको अधिकांश समय इजरायलले गरेका अरब नागरिकको हत्यालाई जायज ठहर्‍याउन समर्पित गरेका थिए । कुस्नरले इजरायल र विभिन्न अरब राज्यबिचको सम्बन्धलाई सामान्य बनाउने अब्राहम सम्झौताहरू निर्माणमा भूमिका निभाएको भन्दै उनको नाम मनोनयन गरिएको थियो । 

ट्रम्पले यसअघि अमेरिकाले गाजापट्टी कब्जा गर्ने, त्यहाँ बसोवास गर्ने प्यालेस्टिनी जनसंख्यालाई जबर्जस्ती निकाल्ने सो तहसनहस क्षेत्रमाथि ‘मध्यपूर्वको रिभेरा’ बनाउने प्रस्ताव गरेका थिए । जे भए पनि यो अझै नोबेल शान्ति पुरस्कार मनोनीतको कार्यसूचीमै भएको काम हो । 

‘टाइम्स अफ इजरायल’ले वासिंटनमा ट्रम्प–नेतन्याहु भेटघाटसम्बन्धी समाचारको शीर्षक : ‘नेतन्याहुले ट्रम्पलाई भेटेर नोबेल पुरस्कारका लागि मनोनयन गरी चकित पारे, भेटमा दुई नेताले गाजालाई खाली गर्ने विषयमा कुरा गरे’ दिएको छ । सोही समाचारमा ‘नेतन्याहुले ट्रम्पलाई इरानविरुद्ध अमेरिका र इजरायलले मिलेर गरेको आक्रमणले मध्यपूर्वको अनुहार परिवर्तन गरेको र अब्राहम सम्झौता विस्तार गर्ने अवसर सिर्जना गरेको’ बताएको उल्लेख छ । आखिर, प्यालेस्टाइनलाई पूर्ण रूपमा समाप्त गर्नुजस्तो ‘राष्ट्र–राष्ट्रबिचको भ्रातृत्व’ अब यो संसारमा अरू के बाँकी रह्यो र ! 

इरानमाथिको बमबारी गर्ने आफ्ना कदमलाई ट्रम्पले केहीअघि दोस्रो विश्वयुद्धको समयमा जापानी सहर हिरोसिमा र नागासाकीमा परमाणु बम खसाल्ने अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानको निर्णयसँग तुलना गरे । लाखौँ मानिसको ज्यान लिने परमाणु आक्रमणलाई सकारात्मक रूपमा प्रस्तुत गर्ने कुनै पनि व्यक्ति खासमा गम्भीर शान्ति पुरस्कारका लागि स्पष्ट रूपमा अयोग्य हुनुपर्छ । तर, हामी यस्तो विश्वमा बाँचिरहेका छौँ, जहाँ शान्तिको खोजीलाई प्राय: थप युद्धको बहानाको रूपमा प्रयोग गरिन्छ, त्यहाँ ट्रम्पजस्ता नेताको यस्तो पुरस्कारको लागि मनोनयन साँच्चै अर्थपूर्ण हुन्छ ।

अल – जजिरा