कल्पना गर्नुस्, क्युबा सरकारले क्युबाको सैन्य अपराध पर्दाफास गरेको आरोपमा बेलायतमा रहेका एक अस्ट्रेलियाली प्रकाशक आफूलाई सुपुर्दगी गर्न माग गरिरहेको छ । कल्पना गर्नुस्, त्यस सैन्य अपराधमा सन् २००७ मा हेलिकोप्टर सवार क्युबाली सैनिकद्वारा गरिएको एक दर्जन इराकी नागरिकको नरसंहार पनि समावेश छ, जसमा रोयटर्स समाचार एजेन्सीका दुई पत्रकार पनि छन् ।
अब कल्पना गर्नुस्, यदि ती अस्ट्रेलियाली प्रकाशकलाई बेलायतबाट क्युबा सुपुर्दगी गरियो भने तिनले १७५ वर्षसम्म कडा सुरक्षा भएको जेलमा बस्नु पर्नेछ, त्यो पनि केवल मिडियाकर्मीले गर्नुपर्ने काम गरेका कारण । अर्थात् वास्तविकतालाई उजागर गरेकोमा । र अन्तमा, मानव अधिकार र लोकतन्त्रको दुहाई दिँदै क्युबाको निन्दाका लागि विश्वलाई आह्वान गर्ने अमेरिकाले क्युबाको व्यवहारलाई लिएर देखाउने प्रतिक्रियाको कल्पना गर्नुस् ।
निःसन्देह, माथिको परिदृश्य साँचो घटनाहरूलाई पुन सिलसिलाबद्ध गरिएको र यहाँ प्रकाशक भनिएका व्यक्ति विकिलिक्सका संस्थापक जुलियन असान्ज हुन् भनेर अनुमान गर्न कल्पनाको सहारा लिनै पर्दैन । त्यो भिलेन राष्ट्र क्युवा होइन, अमेरिका आफैँ हो । असान्जको व्यक्तिगत मानव अधिकारको उन्मूलन मात्र होइन, विश्वभरका मानिसहरूमाथि व्यापक स्तरका आक्रमणहरूको आश्चर्यजनक शृंखलाका लागि जिम्मेवार पनि अमेरिका नै हो ।
अमेरिकी भाष्यअनुसार असान्जको विकिलिक्सले इराक, अफगानिस्तान र अन्य ठाउँका मानिसको जीवनलाई खतरामा पारेको छ । तर, ती स्थानका जीवनलाई खतरामा नपार्ने एउटा सुनिश्चित तरिका उनीहरूमाथि बमबारी नगर्नु नै होइन र ?
जुन राष्ट्रका लागि सैन्य हत्या एक संस्थागत खेला भएको छ, उसले केही जघन्य विवरण उजागर गर्ने व्यक्तिमाथि यस्तो अफवाह फैलाउनु उदेक लाग्दो कुरा हो । अट्टहास गर्दै गरेको हेलिकोप्टर चालक दलद्वारा भिडियो गेममा निशाना बनाए जसरी निहत्था नागरिकलाई नजिकबाट निसाना साधेको फुटेजले अमेरिकीहरूको प्रक्षेपित राम्रो मान्छेको छविको पृष्ठपोषण पक्कै गर्थेन ।
विकिलिक्सका संस्थापक असान्जमाथि अमेरिकाले गरेको अन्तहीन उत्पीडनले विचारको स्वतन्त्रतालाई विश्वव्यापी रूपमा नै खतरामा पारेको छ
यदि असान्जले आफूलाई खतरामा नपार्न चाहेको भए उनले पनि मूलधारे पत्रकारिताले जस्तै साम्राज्यवादी प्रोपोगान्डा नै छर्ने थिए, जसले अफगानिस्तान र इराकको युद्धलाई अमेरिकी जनतासामु जायज ठहर्याउन महत्वपूर्ण भूमिका खेलेका छन् । यसको सट्टा, उनी दक्षिणपूर्वी लन्डनको बेलमार्स जेलमा थुनिएका छन् । तथाकथित ‘स्वतन्त्रताको भूमि’मा सुपुर्दगीको पर्खाइमा छन् । यातनासम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदकद्वारा सन् २०१९ मा दस्ताबेजकृत गरिएअनुसार लामो मनोवैज्ञानिक प्रताडनाको एक वास्तविक केस स्टडीको रूपमा रहेका छन् ।
राजा चाल्र्सको राज्याभिषेकअघि उनलाई सम्बोधन गर्दै लेखिएको पत्रमा असान्जले आफूलाई एक लज्जित विदेशी सार्वभौमसत्ताका निम्ति महाराजको राजमा थुनिएको एक राजनीतिक कैदीको रूपमा वर्णन गरेका छन् । ‘कुनै पनि समाजले उसका कैदीसँग कस्तो व्यवहार गर्छ भन्नेबाट त्यस समाजको मापदण्ड थाहा पाउन सकिन्छ र यस सन्दर्भमा तपाईंको राज्य पक्कै अगाडि छ,’ उनले लेखेका छन् ।
त्यस लज्जित विदेशी सार्वभौमले विश्वमै उच्चतम कैद दर र निर्दाेष मानिसलाई मृत्युदण्ड दिने प्रभावशाली ट्र्याक रेकर्डमा घमन्ड गर्दै निश्चित रूपमा यो क्षेत्रमा उत्कृष्टता प्रदर्शन गरेको छ । साँचो बोलेको कारण अर्काे देशको नागरिकलाई १७५ वर्षको जेल सजाय दिने उसको प्रयास पनि समाजमा केही न केही गलत छ भन्ने कुराको राम्रो संकेत हो ।
त्यसपछि सिआइएको पूर्वयातना अड्डा र कालो धब्बाका रूपमा रहेको क्युबाको ग्वान्टानामो बे स्थित अमेरिकाको अपतटीय बन्दीगृहमा अमेरिकाले आफ्ना अन्तहीन युद्धका केही अमानवीय कर्ततु मेटाउने प्रयास गरेको छ । वास्तवमा, कब्जा गरिएको क्युबाको भूमिमा अमेरिकाले गैरकानुनी जेल चलाउँदा आफ्ना राजनीतिक कैदीका निम्ति क्युबा सरकारको आलोचना गर्नुलाई न्यायोचित ठान्नुलाई मन बहकाउने पाखण्डको रूपमा वर्गीकृत गर्न सकिन्छ ।
तर जसरी तपाईं कैदीहरूको कलाकृतिको वर्गीकरण गरेर ग्वान्टानामोको अपराधलाई ढाकछोप गर्न सक्नुहुन्न, त्यसरी नै जुलियन असान्जलाई प्रभावकारी रूपमा उनको अस्तित्वबाटै बाहिर निकालेर अमेरिकी नीतिको भयावहता लुकाउन पनि सक्नुहुन्न । यो त उही पुरानो दूतलाई मार भन्ने दृष्टिकोणजस्तो भयो, जसमा हत्याले दीर्घ मनोवैज्ञानिक युद्धको रूप लिन्छ । यो असान्जलाई अनन्तकालका लागि जेलमा राख्नुपर्छ भन्ने विचारलाई सामान्यीकरण गर्ने अभियानको साथ आयोजित छ ।
अन्तमा, असान्जमाथिको आक्रमण साम्राज्यवादी हिस्टेरिया मात्र होइन । अन्तिम परिणाम जेसुकै होस, यसले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई मात्र होइन, विचारको स्वतन्त्रतालाई पनि अपराधीकरण गर्ने खतरनाक नजिर स्थापित गरिसकेको छ । असान्जको रिहाइका लागि अस्ट्रेलियाली अधिकारीले चर्काे आवाज उठाइरहे पनि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिसले मे २४ मा सिड्नीमा हुने क्वाड लिडर्स समिटमा अमेरिकी राष्ट्रपति जो बाइडनसँग यस विषयमा कुरा गर्ने वा नगर्ने भन्नेबारे केही बताउन अस्वीकार गरेका छन् । र, जसरी अमेरिकाका अन्तहीन युद्ध जति–जति उग्र हुँदै जान्छन्, त्यसरी नै जुलियन असान्जमाथिको असीमित युद्ध पनि बढ्दै जानेछ ।
अलजजिराबाट