मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २७ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार २७ शुक्रबार o८:४३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टी–२० विश्वकप छनोटमा नेपाल र कुवेत एकै समूहमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २७ शुक्रबार o८:४३:oo
  • ओमानमा आगामी ८–१७ अक्टोबरसम्म हुने एसिया तथा प्रशान्त क्षेत्रको आइसिसी टी–२० विश्वकप छनोटका शीर्ष तीन टोली अन्तिम चरणमा पुग्ने

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रको अन्तिम चरणको छनोटको समूह विभाजन गरेको छ । आइसिसीले सार्वजनिक गरेको ‘ड्र’अनुसार नेपाल समूह ‘बी’मा परेको छ । नेपालको समूहमा बलियो कुवेत र जापान छन् । छनोट खेल आगामी ८ देखि १७ अक्टोबरसम्म ओमानमा हुनेछ । यसैगरी, समूह ‘ए’मा मलेसिया, कतार र युएई छन् । 

समूह ‘सी’मा आयोजक ओमानले पपुवा न्युगिनी र सामोसाविरुद्ध खेल्नेछ । प्रतियोगितामा सहभागी नौवटा टोलीलाई आइसिसीले तीन समूहमा विभाजन गरेको हो । एसिया तथा प्रशान्त क्षेत्रको छनोटमा युएईले माथिल्लो वरीयता पाएको छ । आइसिसीको टी–२० पुरुष वरीयतामा युएई १४औँ स्थानमा छ । युएईको १८३ रेटिङ छ । दोस्रो वरीयतामा नेपाल रहेको छ । नेपाल १८औँ स्थानमा छ । नेपालले १६८ रेटिङ पाएको छ । 

ओमान २०औँ स्थानमा रहँदा नेपालको समूहमा रहेको जापानको वरीयता ४३औँ छ । पछिल्लो साता जारी वरीयतामा जापानले एक स्थान सुधार गरेको हो । नेपालले सन् २०१४ र ०२४ को विश्वकप खेलेको थियो । तेस्रोपटक छनोट हुने लक्ष्यका साथ नेपालले ओमान प्रस्थान गर्नुअघि वेस्ट इन्डिजको सिनियर टोलीसँग टी–२० आई खेल्नेछ । नेपाली टोलीले अस्ट्रेलियामा आयोजना हुने टी–२० सिरिजमा प्रतिस्पर्धा गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । 

नयाँ प्रतिद्वन्द्वी जापान
नेपालले नयाँ प्रतिद्वन्द्वीका रूपमा जापानलाई पाएको छ । अहिलेसम्म जापान र नेपालबिच खेल भएको छैन । जापानले सन् १९८९ मा आइसिसीको सदस्यता प्राप्त गरेको थियो । आइसिसीमा जापानले इस्ट एसिया प्यासिफिक क्षेत्रको प्रतिनिधित्व गरेको छ । जापानले आफ्नो पहिलो टी–२० आई खेल सन् २०२२ मा इन्डोनेसियाविरुद्ध खेलेको थियो ।

अहिलेसम्म जापानले ४५ वटा टी–२० आई खेलेको छ । जसमा ३१ जित र १३ खेलमा हार सामना गरेको छ । यो सिजनमा जापानले पाँच खेलमा चारमा जित र एकमा हार निकालेको छ । सन् २०२३ मा जापानले पहिलोपटक टी–२० आई विश्वकपअन्तर्गत एसिया छनोट खेलेको थियो । यसैगरी, नेपालले आफ्नो समूहको दोस्रो प्रतिद्वन्द्वी कुवेतसँग तीनपटक टी–२० आईमा प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले दुई तथा कुवेतले एक खेलमा जित निकालेका छन् । पछिल्लो दुई खेलमा कुवतेमाथि जित हात पारेको छ । १३ अप्रिल २०२५ मा नेपालले पहिलोपटक कुवेतविरुद्ध खेलेको थियो । 

शीर्ष तीन टोली विश्वकपमा छनोट हुने
आइसिसीले बनाएको टी–२० विश्वकप फम्र्याटअनुसार समूहगत चरणमा सहभागी सबै टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन् । प्रारम्भिक चरणको खेलपछि प्रत्येक समूहबाट दुई टोली ‘सुपर–६’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर–६’ का टोलीलाई एउटै समूहमा राखेर प्रतिस्पर्धा गराइनेछ । त्यसपछि अंकतालिकाको माथिल्लो तीन स्थानमा रहने टोली आगामी विश्वकपमा छनोट हुनेछन् । १०औँ टी–२० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दै छन् ।  विश्वकपमा २० वटा टोलीले सहभागिता जनाउनेछन् ।

त्यसमध्ये १३ टोलीको टुंगो लागिसकेको छ । भारत र श्रीलंकाले आयोजकका रूपमा विश्वकप खेल्नेछन् । अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज गत संस्करणमा गरेको प्रदर्शनका आधारमा विश्वकपमा छानिएका हुन् । ३० जुन २०२४ सम्मको आइसिसी वरीयताका आधारमा आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तानले आगामी विश्वकपमा स्थान बनाएका छन् । क्यानडा भने अमेरिकी क्षेत्रबाट छनोट चरण पार गर्दै विश्वकपमा छनोट भएको हो । अब एसिया तथा प्रशान्त क्षेत्रबाट तीन, अफ्रिका क्षेत्रबाट दुई र युरोपेली क्षेत्रबाट दुई टोली विश्वकपमा छनोट हुन बाँकी छ ।