मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २७ शुक्रबार
  • Saturday, 12 July, 2025
बलराम केसी
२o८२ असार २७ शुक्रबार o८:२३:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

शिलान्यास र उद्घाटन ‘कल्चर’माथि प्रश्न

सिंगमरमरमा नाम लेखाएर गरिने उद्घाटन वा शिलान्यास दुवै सरकारी रकमको दुरुपयोग, भ्रष्टाचार र चुनावलक्षित प्रचारप्रसार हुन् 

Read Time : > 4 मिनेट
बलराम केसी
नयाँ पत्रिका
२o८२ असार २७ शुक्रबार o८:२३:oo

केही दिनअघि तामझामसहित प्रधानमन्त्री केपी शर्मा ओलीबाट ग्वार्को फ्लाइओभर र २२ असारमा कर्णाली नदीमाथिको बेलिब्रिज उद्घाटन गरियो । फ्लाइओभर उद्घाटनमा रातोनिलो बत्ती बल्ने सरकारी गाडीको लावालस्कर र उपस्थित कर्मचारीको संख्या देख्दा नेपालमा कार्यालय समय र सरकारी ढुकुटीको रकमको कुनै मतलब र महत्व नहुने देखियो । विकसित देशमा भए प्रधानमन्त्रीलाई फ्लाइओभर उद्घाटन गर्ने फुर्सद हुँदैन । सिंगमरमरमा नाम लेखाएर गरिने उद्घाटन वा शिलान्यास दुवै सरकारी रकमको दुरुपयोग, भ्रष्टाचार र चुनावलक्षित प्रचारप्रसार हो । धारा ७५(१) र (२) ले लाखौँलाख खर्च गरेर उद्घाटन गर्दै हिँड्ने प्रधानमन्त्री चाहेको होइन । धारा ७५ ले रिङरोडका सबै चौबाटा र अब बन्ने सबै राजमार्गमा फ्लाइओभर र नदीमा बेलिब्रिज बनाउने आर्थिक विकासको भिजन भएको सिंहदरबारमा बसेर नीतिगत निर्णय गर्ने प्रधानमन्त्री चाहेको हो, उद्घाटन र शिलान्यास गर्दै हिँड्ने होइन । नीति–निर्माण सिंहदरबारमा बसेर गर्ने उच्चस्तरीय, महत्वपूर्ण, मर्यादित, बौद्धिक, विकासप्रेमी, सार्वभौम, संवैधानिक कार्यकारी काम हो । प्रधानमन्त्रीबाट त्यस्तो काम हुनुपर्छ । कर्मचारीबाट नमस्ते खाँदै कार्यकर्तालाई भेला गराएर जयजयकार गराउँदै खोजीखोजी उद्घाटन गरेर हिँड्नु प्रधानमन्त्रीको काम होइन । शिलान्यास र उद्घाटन समय र सरकारी ढुकुटीको बर्बादी हो । यस्तो कार्यलाई महालेखाले बेरुजु निकाल्नुपर्छ । उद्घाटन र शिलान्यासमा भएको खर्च गलत हो भनेर प्रतिवेदनमा समेट्नुपर्छ ।

ग्वार्को फ्लाइओभर र बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्रीको फुर्सद देख्दा अचम्म लाग्यो । हामी राणाकालमा छाैँ जस्तो लाग्यो । फ्लाइओभर र बेलिब्रिज सडककै सामान्य अंश हो । इन्जिनियरिङ र प्राविधिक हिसाबले चामत्कारिक काम होइन । गाडीका लागि बेलिब्रिज मानिसका लागि झोलुंगे पुलजस्तै हो । सन् १९०३ मा राणा प्रधानमन्त्रीले चोभारको गल्छी र ललितपुरलाई कीर्तिपुरसँग जोड्ने सुन्दरीघाटमा झोलुंगे पुल बनाउन लगाए । ती दुई पुल आजसम्म चालू अवस्थामै छन् । त्यतिवेला उद्घाटन गर्नुपरेन । पुल बनाउने कम्पनी स्कटल्यान्डको ‘लुइस हार्पर कम्पनी’ले बनाएको भन्ने छाप मात्र छ त्यहाँ । २१औँ शताब्दीमा प्रधानमन्त्रीबाट झोलुंगे पुलको उद्घाटन गर्नु अन्तर्राष्ट्रिय जगत्ले अनौठो मान्छ । विकसित देशका फ्लाइओभरसित तुलनामा गर्दा ग्वार्को फ्लाइओभर एउटा सानो ‘कल्भर्ट’जस्तो मात्र हो । टाढा जानुपर्दैन, बैंकक, सिंगापुरलगात देशमा दुईतले सडक सामान्य हो । अमेरिका, जर्मनीलगायत देशमा १२ लेनको सडक सामान्य हो । ती देशमा एकमाथि अर्को थप्दै जेरीजस्तो जेलिएका फ्लाइओभर र पुल बनेका हुन्छन् । त्यहाँ ठेकेदारले नै निर्माणाधीन अवस्थामा प्लास्टिकका ठुल्ठुला ब्लकमा ‘निर्माणाधीन सडक बन्द’ भन्ने सूचना बोर्ड राख्छन् । मोबाइल गाडीमा पहेँलो बत्तीले बाटो बन्द र खुलाइएको बाटो देखाइरहेको हुन्छ । निर्माण पूरा भएपछि ठेकेदारले नै अन्य सडकसँग जोडेर आवागमन खुला गर्छन् । राष्ट्रपतिको त कुरै नगरौँ, मेयरले समेत उद्घाटन गर्दैनन् त्यहाँ । हाम्रोमा एउटा सामान्य फ्लाइओभर र बेलिब्रिज उद्घाटनमा तामझामसहित लाखौँलाख खर्च गरेर लावालस्कर लिएर उद्घाटन गर्न प्रधानमन्त्री पुगेको देख्दा नेपालका प्रधानमन्त्री कति फुर्सदिला र खर्चिला छन् भन्ने प्रमाणित हुन्छ ।

तत्कालीन राजा वीरेन्द्रको समयमा पश्चिम पोखरामा भारी वर्षाका कारण पुल बगायो । पहिरो गयो । जनताको बालिनाली नोक्सानी भयो । सरकारले बेलायती सरकारसित अनुरोध गरेर बेलायती सेनाको जहाजबाट बेलिब्रिज ल्याएर बिछ्याएर गाउँगाउँमा खाद्यान्न पुर्‍यायो । आविष्कार र विकासको उत्कर्षमा पुगेको आजको विश्वमा सिंहदरबारमा काम छाडेर प्रधानमन्त्री लाखौँ खर्च गरेर बेलिब्रिज उद्घाटन गर्न पुग्नु भनेको अधिकारको चरम दुरुपयोग हो । देश संघीय बनिसक्यो । सातवटा प्रदेश सरकार छन् । मार्बलमा प्रधानमन्त्रीको आफ्नो नाम लेखाउने स्वार्थ नभए प्रदेश सरकारप्रमुखबाट उद्घाटन गराएको भए पनि त हुन्थ्यो नि ! संघीय देशमा एकात्मक सोचको ‘माइन्ड सेट’ भनेको यही हो ।

शिलान्यास र उद्घाटन आवश्यक काम कदापि होइन । अनावश्यक खर्च, प्रचारबाजी, भ्रष्टाचार, अख्तियारको दुरुपयोग, समय, स्रोत र साधनको दुरुपयोग हो । ग्वार्कोको एउटा फ्लाइओभरले रिङरोडमा हुने सवारी जाम एक प्रतिशत पनि कम हुँदैन । ग्वार्कोबाट उत्तर गएको गाडी कोटेश्वर चोकमा थुप्रिन्छ र दक्षिण जाने गाडी सातदोबाटो चोकमा । जाम नगराउने हो भने ग्वार्कोका साथै रिङरोडका कम्तीमा १० वटा चौबाटोमा एकसाथ फ्लाइओभर बनाउनुपथ्र्यो । प्रधानमन्त्रीले ‘मेरै पालामा बन्यो’ भनेर गर्व गरे पनि यो गर्व गर्नलायक विषय नै होइन । दर्जनौँ फ्लाइओभर चाहिनेमा सडकमा एउटा बनाएर जाम घट्ने हो र ? भिजनको कमी भनेकै यही हो । 

गत असोजको बाढीले कमलादीमा बिच सडकमा भ्वाङ पर्‍यो । त्यसलाई पुर्न तीन महिना लाग्यो । खाडल पुरेपछि तामझामसहित उद्घाटन गरियो । धन्न प्रधानमन्त्री उद्घाटनमा पुग्नुभएन । प्रधानमन्त्रीले फ्लाइओभर उद्घाटनमा समय खेर फाल्नुभन्दा सिंहदरबारमै बसेर ग्वार्कोमा मात्र फ्लाइओभर बनाउनु गल्ती भएछ, बुद्धि पुगेनछ, यसपालिको बजेटमा पनि हालिएनछ, अब आउँदो आर्थिक वर्षमा कोटेश्वर, चाबहिल, नारायणगोपाल चोक, टोखा चोक, बालाजु चोक, स्वयम्भू चोक, नक्खु, एकान्तकुना, सातदोबाटोलगायत चोकमा एकसाथ फ्लाइओभर बनाउनुपर्छ भन्ने भिजनसहितको नीतिगत निर्णय गर्नुपर्ने हो । प्रधानमन्त्री भनेको विचारको पोको हुनुपर्छ । ती विचारलाई सिंहदरबारमा बसेर योजना र नीतिमा परिणत गर्नुपर्छ । कर्मचारीबाट लागू गराउनुपर्छ । कति लागू भयो या भएन, निगरानी गर्नुपर्छ । तर, हाम्रा प्रधानमन्त्रीलाई उद्घाटन र शिलान्यासबाट फुर्सद मिले पो !

२२ असारमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सिनेटकोे बैठक कुलपति अर्थात् प्रधानमन्त्रीकै आदेशमा बोलाइयो । विश्वविद्यालयको बजेट पास गर्नुपर्ने थियो । ९० हजार विद्यार्थी दीक्षान्त हुनुपर्ने थियो । पदाधिकारी बैठकका लागि सब तयार थिए । तर, प्रधानमन्त्री तामझाम र लावालस्करसहित बेलिब्रिज उद्घाटनका लागि कर्णालीतिर जानुभयो । बेलिब्रिज उद्घाटनले गर्दा सब अस्तव्यस्त भयो । यस्तो काम कर्मचारीबाट भएको भए विभागीय कारबाही हुनुपर्ने स्तरको गल्ती हो । तर, प्रधानमन्त्रिलाई कसले छुने ? यस अनुपस्थितिले गर्दा प्रधानमन्त्रीबाट त्रिविका पदाधिकारीको अपमानसमेत भयो । उद्घाटन महत्वपूर्ण कि कुलपतिको हैसितयले सभा सञ्चालन गर्नु महत्वपूर्ण हो ? कानुन पनि त्यस्तै बेढंगी बनाइएको छ, प्रधानमन्त्री नै कुलपति बन्नुपर्ने गरी । सार्वजनिक भएअनुसार प्रधानमन्त्रीसँग ‘पिएचडी’को उपाधि छ । यस्ता विद्वान् कुलपति पाउनु त्रिविको अहोभाग्य मान्नुपर्छ । कानुनअनुसार प्रधानमन्त्री पदीय हैसियतमा कुलपति बन्ने हुनाले कुनै दिन ८–१० कक्षा मात्र पढेका व्यक्ति प्रधानमन्त्री भएर कुलपति बनेमा हाम्रो शिक्षाको अवस्था कस्तो होला ? हार्बर्ड, अक्सफोर्ड, क्याम्ब्रिजलगायत विश्वका सबैजसो विश्वविद्यालयमा प्रधानमन्त्री वा राष्ट्रपतिलाई कुलपति बनाइँदैन । कुलपति अति विद्वान्लाई बनाइन्छ । हामीले पनि भावी प्रधानमन्त्री आजको जस्तो पिएचडीवाला नपाउन सक्छौँ । त्यसैले ऐन संशोधन गरिहाल्नुपर्छ । 

नेताहरूमा शिलान्यास र उद्घाटनको भोक देख्दा युवायुवती, विद्यार्थी, बुद्धिजीवी र समाज हाँसिरहेछन् । शिलान्यास र उद्घाटन धार्मिक शुभकार्य मानेर होला सरकारी खर्चमा हिन्दु विधिअनुसार ब्राह्मणबाट पूजापाठ गराएर गरिन्छ । तर, शपथ खाँदा राष्ट्रपतिले ईश्वरका नाममा भन्दा कि मौन बस्ने कि जनताका नाममा भन्ने गरेको सुनिन्छ । मिडियामा ‘मन्दिर जान्नँ र हिन्दु धर्म धर्म नै होइन भन्ने गरेको पनि सुनिन्छ । त्यस्ता व्यक्तिबाट हिन्दु विधिको पूजापाठ गराएर शिलान्यास किन गराउने ? अर्को अनौठो कुरा, धर्मनिरपेक्ष राष्ट्रमा शिलान्यासमा हिन्दु विधि अपनाइन्छ, तर मुस्लिम वा क्रिस्चियन मन्त्रीबाट शिलान्यास गराइँदा मन्त्रीको धर्मअनुसार गराइँदैन । मन्त्रीको धर्मअनुसार पूजापाठ गराउन केको आपत्ति हो ? होइन भने धर्म र मन्त्रीको अनादर भयो । देश धर्मनिरपेक्ष र संघीय भए पनि हिन्दु विधिअनुसार शिलान्यास गर्नु भनेको नेतागणको माइन्ड सेट अझै नफेरिएको प्रमाण हो ।

वर्तमान प्रधानमन्त्री स्वयंले शिलान्यास गरेका कतिपय आयोजना अलपत्र छन् । कतिपय आयोजनामा शिलान्यासबाहेक कुनै काम भएको छैन । केही वर्षअघि प्रधानमन्त्रीले उद्घाटन गरेका ३०० अस्पताल बजेट नभएर लथालिंग अवस्थामा रहेको पनि समाचार आइरहेकै छ । कतिपय आयोजना हस्तान्तरण नहुँदै बाढीले बगाउँछ । गुणस्तर कम भएकाले पुल भत्केका र सडक बिग्रेका घटना धेरै छन् । समयमै काम पूरा नभएर पटक–पटक म्याद थपेका धेरै घटना छन् । यी सब विकृति थाहा हुँदाहुँदै पनि प्रधानमन्त्री अझै शिलान्यास र उद्घाटनमा रमाउनुहुन्छ । आफैँले शिलान्यास गरेको आयोजना लथालिंग भएको थाहा पाएर पनि चुप बसेर पुन: शिलान्यास गर्न मिल्छ ? के यो पदीय मर्यादा र राज्यकोषको गम्भीर दुरुपयोग होइन ?

अन्त्यमा सुझाव, पहिलो कुरा शिलान्यास र उद्घाटन बन्द गरौँ, विदेशबाट सिकौँ । अमेरिकाले चन्द्रमा र अन्तरिक्ष अनुसन्धान गर्न ह्युस्टनमा नासाको स्थापना गर्‍यो । रकेट प्रक्षेपण गर्न ‘केप केनेभ्रल’मा ‘लन्चप्याड’ बनायो । तर, राष्ट्रपतिले या अरू कसैले उद्घाटन नै गरेन । राष्ट्रपति केनेडी थिए । उनले एउटा भाषणमा सन् ६० को दशकभित्र अमेरिकाले चन्द्रमामा मान्छे ओरालेकै हुनुपर्छ भने । आज विश्वभर केनेडीको त्यो बोली गुन्जिरहेको छ ।

उद्घाटन र शिलान्यास मार्बलमा नाम लेखाउने होडबाजी मात्र हो । नाम र कीर्ति मार्बलमा लेखाएर होइन, देश निर्माणको भिजन र त्यसअनुसारको कामबाट राख्न सक्नुपर्छ । भारतका प्रधानमन्त्री डा. मनमोहन सिंहले कुनै उद्घाटन गरेनन् । तर, १९९० मा लाइसेन्स प्रणाली खारेज गरेर उदारीकरणको व्यवस्था बसाए । आज सिंहको नाम विश्वभर लिइन्छ । 

उद्घाटन र शिलापत्र प्रचारका लागि हो । काम गर्न प्रचार गरिरहनुपर्दैन । प्रचारप्रसारका पछाडि स्वार्थ गाँसिएको हुन्छ । नेता स्वार्थी हुनुहुँदैन । प्रचारप्रसारका लागि मार्बलमा नाम लेखाउनु सालिक निर्माण गर्नु तानाशाह प्रवृत्ति हो । युरोप घुम्ने हो भने प्रजातान्त्रिक देशमा सालिक र मार्बलमा नाम देखिँदैन । घरमा फलानो व्यक्ति यो मितिदेखि यो मितिसम्म यस घरमा बसेको थियो भनेर लेखेको पाइन्छ । नेल्सन मन्डेला, भारतका डा. मनमोहन सिंह, पिभी नरसिंह राव, अटलबिहारी बाजपेयी, राजीव गान्धीलगायत नेतालाई उद्घाटनका नाममा नाम लेखाइरहनुपरेन । त्यही इमानदारी र कामले आज यस संसारमा नभए पनि उनीहरू निकै लोकप्रिय छन् । त्यसैले, हामी पनि शिलान्यास र उद्घाटन बन्द गरौँ, भ्रष्टाचार नियन्त्रण गरौँ र देशभक्त बनौँ ।

(केसी सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन्)