एकैदिनमा भ्रष्टाचारसम्बन्धी २५ मुद्दामा फैसला आउनु कति सकारात्मक हो ?
हाम्रा अदालतहरूमा मुद्दाको चर्को चाप छ । त्यो चाप घटाउने नाममा राम्ररी नबुझी, मिहिन ढंगले नकेलाई हतारमा फैसला गरियो भने त्यसबाट न्याय मर्न पनि सक्छ । सम्मानित सर्वोच्च आदालतले गरेको फैसलामाथि हामी सबैले विश्वास गर्नैपर्छ । किनकि, त्यसपछि न्याय खोज्न जाने अर्को ठाउँ छैन । त्यसैले, उसलाई शंकाको सुविधा दिन सकिन्छ । उसले पक्कै पनि राम्ररी केलाएरै फैसला ग¥यो होला । त्यस्तो अवस्थामा यो निकै सकारात्मक विषय हो ।
भ्रष्टाचार मुद्दा सामान्यतः अदालतको प्राथमिकतामा कति पर्छन् ?
अदालतले कहिलेकाहीँ विशेष चासोसाथ प्राथमिकता दिने गरेको देखिन्छ । विगतमा रामप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश हुँदा उहाँले भ्रष्टाचार मुद्दालाई प्राथमिकतामा राख्नुभएको थियो । त्यतिखेर भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्न छुट्टै प्यानल खडा गरिएको थियो । तर, भ्रष्टाचार मुद्दामा हाई प्रोफाइल नेताहरूसमेत जोडिएको हुनाले प्यानल अलि सुस्त देखिएको थियो । यस्तोमा तत्कालीन प्रधानन्यायाधीश श्रेष्ठ आफैँले हस्तक्षेप गरी प्यानलको नेतृत्व आफूले लिएर त्यसमा दोस्रो वरीयताका न्यायाधीश खिलराज रेग्मीलाई समेत राखेर मुद्दा हेर्नुभएको थियो । उहाँले केही मुद्दामा प्राथमिकतासाथ फैसला गरेर बाटो देखाउनुभएको पनि थियो । तर, त्यसपछिका दिनमा त्यो क्रम सेलाएको देखियो ।
पछिल्लो समय भ्रष्टाचार मुद्दामा अदालत अलि सक्रिय भएको हो ?
वर्तमान प्रधानन्यायाधीशले ‘म कसैसँग बिक्दिनँ’ भन्नुभएको थियो । सायद सोही बोली पूरा गर्ने गरी उहाँले सक्रियता देखाउनुभएको छ । उहाँ आएपछि भ्रष्टाचारसम्बन्धी मुद्दामा आशा जगाउने गरी सर्वोच्च अगाडि बढेको देखिन्छ ।