
प्रमुख प्रतिपक्ष दल माओवादीले स्थायी समिति बैठक बोलाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पदाधिकारी बैठकले साउनको दोस्रो साता स्थायी समिति बैठक बोलाउने निर्णय गरेको सचिव गंगानारायण श्रेष्ठले जानकारी दिए ।
बैठकले आगामी ७ साउनमा नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवस औपचारिक रूपले मनाउने र विपत् व्यवस्थापनमा पार्टीपंक्ति सक्रिय भएर लाग्ने निर्णय गरेको छ । माओवादीले प्यालेस्टाइन र इरानमाथि भएको ज्यादतीविरुद्ध शुक्रबार १२ राजनीतिक दलले गर्ने विरोध सभामा सचिव लीलामणि पोखरेललाई वक्ताका रूपमा पठाउने भएको छ ।
बैठकले बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति)बाट एकता प्रक्रियामा समाहित हेमबहादुर थापा (कास्की)लाई पूर्ण केन्द्रीय सदस्य र कास्कीका राजु क्षेत्रीलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय पनि गरेको छ ।
यस्तै, नेसपा पृष्ठभूमिका १५ नेतालाई बैठकले वैकल्पिक केन्द्रीय सदस्य बनाएको छ । नेसपा समायोजन गराएका गंगानारायण श्रेष्ठलाई यसअघि नै सचिवको जिम्मेवारी दिइएको थियो । वैकल्पिक केन्द्रीय सदस्यमा कृष्णकुमार भण्डारी (काभ्रे), मीनबहादुर दर्जी (झापा), कृष्ण सापकोटा (बागलुङ), मोदनाथ तिमल्सिना (सिन्धुली), प्रमिला यादव (धनुषा), मेघराज तामाङ (रामेछाप) छन् ।
यस्तै, डा. जयनारायण यादव (सिराहा), राजु महर्जन (काठमाडौं), टीका कन्दङ्वा (तेह्रथुम), अनिता थिङ (काभ्रे), शंकर अधिकारी (धादिङ), बद्रीविलास मिश्र (लमजुङ), शोभा माझी (सिन्धुली), राकेश साह (महोत्तरी) र राजनकुमार दनुवार (उदयपुर) छन् ।