Skip This
पाँच दिनसम्म पनि उठेन निरौलाको शव : एमाले केन्द्रीय सदस्य थापाले दबाब दिएको परिवारको आरोप
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
२o८१ कार्तिक ११ आइतबार o८:१४:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पाँच दिनसम्म पनि उठेन निरौलाको शव : एमाले केन्द्रीय सदस्य थापाले दबाब दिएको परिवारको आरोप

आक्रोशित स्थानीय र आफन्तले शनिबार इलाका प्रहरी कार्यालयअगाडि टायर बालेर प्रदर्शन गरे

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार o८:१४:oo

झापाको दमक नगरपालिका– ९ का ३७ वर्षीय यमु निरौलाको हत्या भएको पाँच दिनसम्म परिवारले शव बुझेका छैनन् । हत्यामा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका हुन् । परिवारले नबुझेपछि पाँच दिनदेखि निरौलाको शव दमक अस्पतालमा राखिएको छ । हत्यामा संलग्नलाई राजनीतिक संरक्षण भएकै कारण प्रहरीले पक्राउ गर्न नसकेको परिवारको आरोप छ । 

निरौलाको मंगलबार दमक– ३ स्थित मावा खोलानजिक हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जग्गा विवादका समयमा भेला भएकाको कुटाइबाट उनको मृत्यु भएको हो । यो जग्गा लामो समयदेखि विवादित थियो । विगतमा क्रसर राखिएको यो जग्गामा एउटा पक्षले खरिद गरेको भन्दै एक्स्काभेटर लगेर सम्याउन थालेपछि विवाद उत्पन्न भएको स्थानीयले जनाएका छन् ।

गुन्डा नाइके भनेर चिनिएका दिनेश अधिकारी (चरी) र दमकका केही एमाले नेताहरूले सो जग्गामा क्रसर स्थापना गर्ने उद्देश्यले लगानी गरेको स्थानीय बताउँछन् । अधिकारीको इन्काउन्टरसँगै क्रसर राख्ने योजना सफल हुन नसकेपछि जग्गा खाली रहँदै आएको छ । जग्गामा विवाद हुँदा निरौलाको हत्या भएको हो । हत्यामा एमाले कार्यकर्तासमेत मुछिएकाले प्रहरीले आनाकानी गरेको मृतक निरौलाका दाइ नवराज निरौलाले बताए ।

हत्या घटनामा एमाले कार्यकर्ता बुद्धि थापा र नम चेम्जोङसहित सातजनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । किटानी जाहेरीमा परेकामध्ये थापा पनि एमाले कार्यकर्ता हुन् । उनी एमाले प्रदेश सभा सदस्य होमबहादुर थापाका भाइ हुन् । चेम्जोङ युवा संघका पूर्वकेन्द्रीय सदस्य र प्रधानमन्त्री केपी ओलीनिकट मानिन्छन् । एमाले कार्यकर्ता जोडिएका कारण हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको निरौलाको आफन्तको आरोप छ । 

यमुका दाइ नवराजले आरोपित बुद्धि थापाका भाइ गोविन्द थापाले हत्याको भोलिपल्ट प्रलोभनसँगै धम्की दिएको आरोप लगाए । ‘गोविन्द थापालाई चिन्थेँ । ०७४ को निर्वाचनका समयमा एमालेको चुनावी प्रचारमा खटिएको गाडी पनि चलाएको हुँ । तर, बुद्धि गोविन्दको भाइ भनेर थाहा थिएन । हत्या भएको भोलिपल्ट प्रहरी कार्यालयमा उनी आए । सहयोग गर्न आएको भनेर उनीसँगै डिएसपीलाई भेट्न गयौँ । केहीबेरपछि मलाई डिएसपीले तल जान भने,’ नवराजले नयाँ पत्रिकासँग भने, ‘त्यहाँबाट आएपछि गोविन्दले बारम्बार फोन गरे । उनले बुद्धि र नमको नाम जाहेरीमा नहाल्न दबाब दिए । सुरुमा भाइका दुई छोराछोरी पढाउने, बुहारीलाई रोजगारी दिने भने । मैले हत्यारालाई नछाड्ने भनेपछि गोविन्दले बुद्धि मेरो दाइ हो, कस्ता–कस्ता मुद्दा कहाँ पु¥याइयो, यो मेरा लागि सामान्य हो भनेर धम्कीपूर्ण भाषा बोलेर दबाब दिए ।’ 

नवराजले जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले समेत सुरुमा थापा र चेम्जोङविरुद्ध जाहेरी नदिन दबाब दिएको बताए । ‘प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि हामीले जिल्लाबाट आएको डिएसपी कृष्ण चन्दलाई किन यसो गरेको भनेर सोध्यौँ । उहाँले एसपीसाबसँग कुरा गर्नु भन्नुभयो । एसपीले बुद्धि र नम छैनन् । उनीहरू भएको भए त लफडा नै हुने थिएन, उहाँहरूको नाम नराख्नू, हामी अरू मान्छे पक्रिएर कारबाही गर्छौँ भन्नुभयो,’ उनले भने, ‘अब प्रहरीबाट न्याय पाउनेमा हामीलाई विश्वास छैन । न्याय नपाएसम्म लडिरहन्छौँ । हत्यामा संलग्नलाई राजनीतिक संरक्षण भयो ।’ उनले हत्या संलग्नलाई पक्राउ नगरेसम्म निरौलाको शव नबुझ्ने बताए । 

प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै परिवार र स्थानीय दैनिकजसो इलाका प्रहरी कार्यालय दमकमा घेराउ गर्न पुगिरहेका छन् । शनिबार आक्रोशित स्थानीय र आफन्तले इलाका प्रहरी कार्यालयअगाडि टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरूले राजनीतिक संरक्षण गरेको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्धसमेत नाराबाजी गरेका थिए । दमकका जनप्रतिनिधि, राजनीतिक दल तथा परिवारका सदस्यले इलाका प्रहरी कार्यालय दमकमा छलफल गरेपछि शनिबारलाई आन्दोलन स्थगित गरिएको थियो । प्रहरीले सोमबारसम्म अनुसन्धानमा प्रगति गर्ने भनेपछि सो अवधिसम्म अल्टिमेटम दिइएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले जानकारी दिए । 

प्रहरीले भने हत्याको विषयमा गम्भीर अनुसन्धान भइरहेको जनाएको छ । प्रदेश प्रहरी कार्यालय कोशीको अनुसन्धान टिम, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकले संयुक्त रूपमा जाहेरी परेर फरार भएकाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ । हत्या भएको दिन घटनास्थलमा देखिएका दुईवटा गाडीलाई समेत इलाका प्रहरी कार्यालय दमक ल्याइएको प्रहरीको भनाइ छ । जाहेरी परेकाबाहेकलाई पनि अनुसन्धानको दायरामा ल्याइएको प्रहरी स्रोतले जनाएको छ ।