Skip This
ब्रिक्सको नयाँ विश्व व्यवस्था खोज्ने प्रयास
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
अब्दुल रहमान
२o८१ कार्तिक ११ आइतबार १o:५९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ब्रिक्सको नयाँ विश्व व्यवस्था खोज्ने प्रयास

Read Time : > 2 मिनेट
अब्दुल रहमान
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार १o:५९:oo

१६औँ ब्रिक्स सम्मेलनले बहुध्रुवीयता, समतामूलक र लोकतान्त्रिक विश्व व्यवस्थाको प्रस्ताव गरेको छ 

यसै २३ अक्टोबरमा रुसमा सम्पन्न १६औँ ब्रिक्स शिखर सम्मेलनबाट स्वीकृत ‘कजान घोषणा’ले विश्व व्यवस्थालाई थप ‘समतामूलक, न्यायपूर्ण, लोकतान्त्रिक र सन्तुलित’ बनाउन सबै अन्तर्राष्ट्रिय संस्थामा व्यापक सुधारको आह्वान गरेको छ । ‘न्यायपूर्ण वैश्विक विकास एवं सुरक्षाका लागि बहुपक्षीयतालाई बलियो बनाउने’ शीर्षकको घोषणामा विश्वभर आर्थिक र राजनीतिक दुवै क्षेत्रमा नयाँ शक्तिकेन्द्र देखापरेका छन् जसलाई उचित प्रतिनिधित्व र मान्यता दिन आवश्यक रहेको उल्लेख गरिएको छ ।

ब्रिक्सले अन्तर्राष्ट्रिय संस्थालाई परिवर्तनशील विश्वव्यापी वास्तविकतालाई थप प्रतिबिम्बित गर्न र विकासोन्मुख विश्वलाई पर्याप्त प्रतिनिधित्व प्रदान गर्न सुरक्षा परिषद्लगायत अन्य विश्वव्यापी संस्थामा विशेषगतः ब्रिटन वुड्स संस्थामा सुधार गर्नुपर्नेमा जोड दिएको छ । स्मरण रहोस्, ब्रिटन वुड संस्था दोस्रो विश्वयुद्धको अन्त्यमा सिर्जना गरिएका अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र विश्व व्यापार संगठनजस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्था हुन् । ब्रिक्स घोषणाले विश्वभर बढ्दो व्यापार विवादलाई सम्बोधन गर्न र विकासशील देशले पश्चिमाद्वारा अभ्यास गरेको ‘एकपक्षीय, दण्डात्मक र भेदभावपूर्ण संरक्षणवाद’लाई अन्त्य गर्न थप प्रभावकारी विश्वव्यापार संगठन आवश्यक पर्ने ठहर गरेको छ । हालैका दिनमा ग्लोबल साउथ (कम विकसित मुलुकहरू) विशेषतः चीनबाट हुने आयातलाई लक्षित गर्दै अमेरिका र युरोपियन युनियन सदस्य राष्ट्रहरूले मनोमानी संरक्षणवादी उपाय लागू गर्न थालेपछि विश्वव्यापार संगठनको अख्तियार क्रमशः कमजोर बन्दै गएको छ ।

बाह्य हस्तक्षेप: कजान घोषणाले ग्लोबल साउथका देशले उठाएका सबैभन्दा ज्वलन्त मुद्दामध्ये एक घरेलु मामिलामा पश्चिमा शक्तिको बारम्बार हस्तक्षेप र आफ्ना मुलुकविरुद्ध अवैध एकपक्षीय प्रतिबन्धको प्रयोगलाई पनि उठान गरेको छ । अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने विषय अन्तर्राष्ट्रिय कानुनको अभिन्न अंग भएको दाबी गर्दै ब्रिक्स घोषणापत्रले प्रत्येक देशलाई आफ्नो विकासको बाटो आफैँ तय गर्ने अधिकार रहेको दाबी गरेको छ ।

केही ब्रिक्स सदस्य र क्युवा, भेनेजुएला, सिरियाजस्ता धेरै अन्य देशमा अमेरिका र यसका पश्चिमा सहयोगीले प्रतिबन्ध लगाएका छन् जसले त्यहाँका जनताको जीवनमा असर पार्दै तिनको विकास प्रयासमा बाधा पुर्‍याएको छ । कजान घोषणापत्रले विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय व्यापार र दिगो विकास लक्ष्यको प्राप्तिमा गैरकानुनी प्रतिबन्धसहित गैरकानुनी जबर्जस्तीकरणको विघटनकारी प्रभावका बारेमा गहिरो चिन्ता व्यक्त गरेको छ । यी सबैको विरोध गर्न ब्रिक्सले ‘संयुक्त रूपमा लागू गर्ने’ उपाय खोज्न आह्वान गरेको छ । 

ब्रिक्स आर्थिक साझेदारी: ब्रिक्सले विकासोन्मुख देशविरुद्ध आफ्नो आर्थिक शक्तिलाई हतियारको रूपमा प्रयोग गर्ने पश्चिमेली प्रयासको निरन्तर निन्दा गर्दै आएको छ । ब्रिक्सले समस्या समाधान गर्ने उपायका रूपमा पश्चिमबाट व्यापक आर्थिक स्वतन्त्रता प्रस्ताव गरेको छ । यसका अन्य उपाय पनि खोजिरहेको छ । कजान घोषणाले ब्रिक्स सदस्यबिच गहिरो आर्थिक साझेदारी सिर्जना गर्ने वित्तीय स्वतन्त्रताको आवश्यकतालाई पनि दोहोर्‍याएको छ । ब्रिक्सले द्विपक्षीय र अन्तर्राष्ट्रिय व्यापारमा राष्ट्रिय मुद्राको प्रयोगलाई विस्तार गर्ने प्रयास जारी राख्ने निर्णय गरेको छ ।

घोषणापत्रमा अमेरिकी वर्चस्वको ‘स्विफ्ट प्रणाली’को विकल्पको रूपमा अन्तर्देशीय सम्झौताका लागि ‘ब्रिक्स क्लियर सेटलमेन्ट एन्ड डिपोजिटरी सिस्टम’ र विकास कोषको वैकल्पिक स्रोतको रूपमा ‘न्यु डेभलपमेन्ट बैंक’को विकासका लागि निरन्तर वार्तामा जोड दिइएको छ । ब्रिक्स घोषणाले अफ्रिका र अन्यत्रका विपन्न देशका लागि अन्न विनिमय मञ्चको प्रस्तावलाई पनि समर्थन गरेको छ । खाद्य सुरक्षा एवं आर्थिक गतिविधि कायम राख्न आवश्यक खाद्यान्न र कच्चा पदार्थको मूल्य स्थिरता सुनिश्चित गर्न मञ्चले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । ब्रिक्स घोषणापत्र नयाँ ‘साझेदार देश’ नामक समूह थपेर ब्रिक्स ग्लोबल साउथका थप राष्ट्रलाई समावेश गर्न सहमत भएको छ । ब्रिक्सको मूल सदस्यतालाई थप विस्तार गर्ने सहमतिको अभावका कारण यो पहल लिइएको हो ।

प्यालेस्टाइन आत्मनिर्णयको अधिकार: कजान घोषणापत्रले प्यालेस्टाइनका जनतामाथि इजरायली नरसंहार र त्यस क्षेत्रका नागरिकमाथि भइरहेको आक्रमणको कडा निन्दा गर्दै तत्काल युद्धविरामको माग गरेको छ । एक प्रमुख कदमका रूपमा ब्रिक्स राष्ट्र सेप्टेम्बरमा इजरायलले गरेको साइबर आक्रमणलाई (लेबनानभर सयौँ सञ्चार उपकरण विस्फोटन) ‘पूर्वनियोजित आतंककारी हमला’को संज्ञा दिन सहमत भएका छन् । सो हमलामा लेबनानभर सयौँको ज्यान गएको थियो र कैयौँ घाइते भएका थिए ।

घोषणाले लेबनान र सिरियामा इजरायलले गरेको हवाई आक्रमणको पनि निन्दा गरेको छ । ब्रिक्स राष्ट्रले पनि स्वतन्त्र प्यालेस्टाइन राज्यप्रति आफ्नो प्रतिबद्धता र राष्ट्रसंघको पूर्ण सदस्यताप्रति आफ्नो समर्थन दोहो‍र्‍याएका छन् । कजान घोषणापत्रले सिरियामा अमेरिकी सेनाको उपस्थितिलाई ‘अवैध’ भनेको छ र सेनालाई तत्काल फिर्ता लिन माग गरेको छ । सिरिया सरकारको सहमतिविना हाल सयौँ अमेरिकी सैनिक सिरियामा तैनाथ छन् । ब्रिक्स राष्ट्रहरूले राष्ट्र संघको बडापत्रमा आफ्नो विश्वास व्यक्त गर्दै युक्रेन युद्धलगायत विश्वका सबै द्वन्द्वको शान्तिपूर्ण र राजनीतिक समाधानको आवश्यकता दोहो‍र्‍याएका छन् ।

(रहमान पिपुल्स डिस्प्याचका पत्रकार हुन्) पिपुल्स डिस्प्याच