Skip This
सुनिरा र ऋतिक च्याम्पियन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक ११ आइतबार o६:५९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सुनिरा र ऋतिक च्याम्पियन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार o६:५९:oo

सुनिरा थापा र ऋतिक राणा चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको एकलतर्फ च्याम्पियन भएका छन् । शनिबार गणेशमान सिंह फाउन्डेसनको आयोजनामा सम्पन्न प्रतियोगितामा सुनिरा महिलातर्फ र ऋतिक पुरुषतर्फ उपाधि जिताएका दुवैले समान एक लाख रुपैयाँ नगद पुरस्कार पाए । सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको फाइनलमा सुनिराले अभिलाषा विष्टमाथि ६–४ र ७–५ को जित रचिन् । पुरुषतर्फ ऋतिकले राजवीर प्रधानलाई ६–१ र ६–३ ले हराए । उपविजेता दुवैले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । पुरुषतर्फ प्रणव मानन्धर र आयुषमान हजुर घले तथा महिलातर्फ प्राज्ना मानन्धर र स्वस्तिका विष्ट तेस्रो भए । तेस्रो स्थानका खेलाडीलाई समान १२ हजार पाँच सय रुपैयाँका दरले पुरस्कृत गरियो । 

पुरुष ४५ वर्षमाथि एकलतर्फ कमलबहादुर भण्डारी च्याम्पियन भए । कमलले फाइनलमा छेवाङ लामामाथि ६–१ र ६–२ को जित रचे । च्याम्पियन कमलले ३७ हजार पाँच सय र छेवाङले १८ हजार सात सय ५० रुपैयाँ प्राप्त गरे । यसै उमेर समूहमा सुकमान तामाङ र महेश श्रेष्ठ तेस्रो स्थानमा रहे । यी दुईले तीन हजार १२५ रुपैयाँ प्राप्त गरे ।

पुरुष युगलतर्फ आयुष्मान घले र प्रदीप खड्काको जोडीले सफलता पाए । महिलातर्फ खेलाडी संख्या नपुगेपछि प्रतिस्पर्धा रद्द गरिएको थियो । प्रतियोगिताको सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २२ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । 

पुरुषमा ३५ वर्षमाथि एकलमा सन्तोष खत्री र युगलमा सन्तोष खत्री र सुवास बस्नेतको जोडी, ५५ वर्षमाथि एकलमा कमल थापा र युगलमा उत्तम शेर्पा र चन्द्र शाहीको जोडी, ६५ वर्षमाथि एकलमा कमल थापा र युगलमा विदुर विष्ट र भिक्टोर राणाको जोडीले उपाधि जितेका छन् ।  ३५ वर्षमाथि एकलको विजेताले ५० हजार, २५ हजार र १२ हजार पाँच सय रुपैयाँ पाए । ३५ वर्षमाथि विजेताले ३१ हजार २५०, उपविजेताले १८ हजार ७५० र तेस्रो हुनेले १२ हजार पाँच सय प्राप्त गरे । ४५ वर्षमाथि विजेताले ३७ हजार पाँच सय, उपविजेताले १८ हजार ७५० र तेस्रोले ६ हजार २५० रुपैयाँ पाउनेछन् । यसै उमेर समूहका युगल विजेताले २५ हजार, १२ हजार पाँच सय र तेस्रो हुनेले १२ हजार पाँच सय रुपैयाँ पुरस्कार पाउनेछन् ।

जुनियरतर्फ पुरुष र महिलामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ सिंगल्स र खुला डबल्स विधामा प्रतिस्पर्धा भयो । प्रतियोगिताको विजेतालाई उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गणेशमान सिंह फाउन्डेसनका सदस्य तथा प्रतियोगिताका संयोजक भाष्करमान सिंह र नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणालगायतले पुरस्कृत गरेका थिए ।