Skip This
‘पाटनको टोले गुन्डा भन्थे, साफमा स्वर्ण दिलाएँ’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ कार्तिक १० शनिबार o८:५४:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

‘पाटनको टोले गुन्डा भन्थे, साफमा स्वर्ण दिलाएँ’

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार o८:५४:oo

सन् १९९९ मा काठमाडौंमा भएको आठौँ दक्षिण एसियाली खेलकुद (साफ)मा नेपालले ३१ स्वर्ण पदकसहित पहिलोपटक तालिकामा दोस्रो स्थान हासिल गरेको थियो । जुन प्रतियोगितामा डेब्यु गरेको कराँतेबाट मात्रै १४ स्वर्ण पदक प्राप्त भए । त्यही साफमा नेपालको तर्फबाट रवि महर्जनले पनि स्वर्ण पदक जित्न सफल भए । ५५ केजी तौलमा मात्र दुई फाइट खेलेका महर्जनले नेपालका लागि अन्तिम स्वर्ण पदक जिताएका हुन् । पाटनमा जन्मिएका उनलाई त्यसअघिसम्म समाजले टोले गुन्डा भन्थ्यो । जंगी स्वभावका उनले पाटन ४० ज्यापु समाजको इतिहासमा देशलाई पहिलो स्वर्ण पदक जिताउने कीर्तिमान बनाए । तर, खेलेरै खान र परिवार धान्न गाह्रो भएपछि दक्षिण कोरियामा १० वर्ष हराए । त्यहाँबाट फर्किएपछि व्यापार–व्यवसायमा लागे । हाल उनी कराँते महासंघको केन्द्रीय सदस्य छन् । महर्जनले २४ वर्षको उमेरमा आठौँ साफमा जितेको स्वर्ण पदकको स्मरण नयाँ पत्रिकाका रमेश सुवेदीलाई यसरी सुनाए: 

छनोट खेलमा राष्ट्रिय च्याम्पियन 
०४६ सालमा म १४ वर्षको हुँदा नै कराँते खेल सुरु गरेँ । पढाइ मेरो निकै कमजोर थियो । पाँच कक्षाबाट माथि पढिनँ । घरपरिवारबाट पढाइमा ध्यान दिन दबाब थियो । तर, मैले पढाइ छाडेर खेल्नमै केन्द्रित भएँ । रत्न महर्जन र जगतमाया महर्जनबाट चार दाजुभाइ र एक दिदी थियौँ । ११औँ सागमा भाइ विनोदले रजत पदक जितेको छ । 

मैले सन् १९९९ मा काठमाडौंमा आयोजना भएको आठौँ दक्षिण एसियाली खेलकुद (साफ)मा ५५ केजीमा प्रतिस्पर्धा गर्ने भएँ । कराँते साफमा डेब्यु गर्ने भएपछि ललितपुर हुँदै मध्यमाञ्चलबाट क्षेत्रीय छनोट खेलेको थिएँ । नेपालगन्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा म पहिलो भएँ । त्यसपछि भएको क्लोज क्याम्पमा दुर्लभ कार्की, राम कार्की, नारायण तामाङ र मेरो प्रतिस्पर्धा हुने भएको थियो । एक महिनाको फरकमा छनोट खेल हुने गरेको थियो । अन्तिम छनोटमा राम कार्कीलाई हराएर म पहिलो भएँ । करिब एक महिनाभन्दा बढी क्लोज क्याम्पमा बसेका थियौँ । 

मलेसियामा एक महिनाको प्रशिक्षण
साफको तयारीका रूपमा हामीले एक महिना मलेसियामा विशेष प्रशिक्षणको अवसर पायौँ । त्यहाँ जापानलगायत एसियाका विश्वस्तरीय खेलाडीसँग प्रशिक्षण लिन पाएका थियौँ । उनीहरू नै विभिन्न प्रतियोगिता खेल्न आएका थिए । त्यस्ता खेलाडीसँग प्रशिक्षण पाउँदा निकै बलियो भएको महसुस भयो । मलेसियामा राम्रो एक्सपोजरसँगै प्रशिक्षणको अवसर पाएका थियौँ । वास्तवमै आठौँ साफको तयारीमा निकै राम्रो भएको थियो । अचेल साफअघि यस्ता प्रशिक्षण नै हुँदैनन् । 

मलेसियाको प्रशिक्षणले हामी सबै खेलाडीको आत्मविश्वास बलियो भयो । त्यहाँ एसियनस्तरका खेलाडीसँग गरेका अभ्यास र प्रतिस्पर्धाले हामी नेपाली खेलाडीले साफमा पदक जित्ने आशा पलायो । एसियालीस्तरका खेलाडीसँग खेलेपछि दक्षिण एसियाली खेलाडीसँग खेल्दा पदक आउँछ भन्ने आत्मविश्वास बढेको थियो । 

फर्किएलगत्तै खेल 
मलेसियाको प्रशिक्षणबाट फर्किएलगत्तै दुई दिनमै साफ सुरु भएको थियो । त्रिपुरेश्वरको कभर्डहलमा जानुअघि नै पदकको आशा गरिएको थियो । हामीलाई न्युरोडको होटेलमा राखिएको थियो । सबै खेलाडीको हौसला प्रदान गर्न र उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिन युवराज दीपेन्द्र शाह हामी बसेको होटेलमा आउनुभएको थियो । 

न्युरोडबाट राखेपको कभर्डहलसम्मको यात्रा रमाइलो थियो । त्यहाँ समर्थन गर्ने धेरै थिए । त्यसपछि मलाई पदक जित्नुपर्ने दबाब महसुस भयो । मेरो खेल भने सबैभन्दा अन्तिममा थियो । मेरा गुरुहरू दावा गुरुङ र मीनकृष्ण महर्जनले एउटा पदक जित्नुपर्छ । जिन्दगी नै फरक चल्छ भन्नुभएको थियो । जसरी हुन्छ पदक जित्नुपर्छ भन्ने थियो । 

पहिलो खेल नै भारतीय खेलाडीसँग
युवराज दीपेन्द्र सरकार पनि पदक आउँछ भनेर रंगशालामै आउनुभएको थियो । मेरा परिवार पनि आएका थिए । सबै गेटमा बसेका थिए । मैले आफन्त सबैलाई कभर्डहलमा छिराउन पाइनँ । तर, पछि अरूले छिर्न दिएछन् । राखेपको कभर्डहलभित्र प्रतिस्पर्धा गरिरहँदा युवराज दीपेन्द्रसँगै अन्य विशिष्ट व्यक्ति थिए । म्याटमै आएर हौसला बढाउनुभएको थियो । यो क्षण जिन्दगीमा बिर्सिंदिनँ । मेरो पहिलो खेल नै भारतका खेलाडीसँग थियो । उसको खेल कहिल्यै देखेको थिइनँ । मलाई जसरी हुन्छ, नम्बर ल्याउनुपर्छ भन्ने मात्रै थियो । मैले लगातार प्रहार गरेँ । भारतीय खेलाडीलाई एकोहोरो दबाबमा राखेर ६–० को जित निकाल्न सफल भएँ । 

पाकिस्तानी खेलाडीलाई हराउँदै स्वर्ण पदक जितेँ 
मेरो फाइनलअघि नै साथीहरू दीपक श्रेष्ठ, गंगाराम महर्जन, प्रीति डंगोल सबैले स्वर्ण पदक जितिसकेका थिए । मलाई फाइनल कसरी खेल्ने र जित्ने भन्ने मात्रै थियो । मनमा यस्तै कुरा खेलिरहेका थिए । कराँतेले स्वर्ण पदक जित्ने सपना बोकेको थिएँ । मन बलियो बनाउँदै म्याटमा पुगेँ । जसरी पनि जित्छु भन्ने थियो । पाकिस्तानी खेलाडी पनि म्याटमा आयो । खेल सुरु भएपछि नै म ऊमाथि जाइलागेँ । निरन्तर आक्रमण गरिरहेँ । फलतः नतिजा मेरो पक्षमा ६–० ले आयो । बल्ल सपना पूरा भयो । समर्थन गर्न आएका मान्छेहरूको ताँतीले कभर्डहल नै भरिएको थियो । अनि मेरो सपना पूरा भयो भन्ने लाग्यो । 

जितेपछि सम्मान बढ्यो
मैले देशका लागि पदक जितेपछि पत्रपत्रिकामा पूरै छाएको थिएँ । जताततै मेरै चर्चा थियो । मलाई रवि महर्जन भन्दा पनि पाटन समाजले गोमय भनेर चिन्छन् । समाजमा मलाई घृणा गर्ने धेरै थिए । म पनि फरक खालको मान्छे । मलाई कसैले पनि मन पराउँदैनथे । बच्चैबाट हरामी मान्छे भएर पनि होला । २०–२२ वर्षको उमेरमा मलाई कसैले छुन सक्दैनथ्यो । वडामा मान्छे चुट्दै हिँड्ने स्वभाव थियो । मलाई छुँदा फोहोर लाग्छ कि जस्तो पनि गर्थे । मबाट अलि टाढा नै हुन चाहन्थे । टोले गुन्डा नै भन्थे ।

तर, जब मैले पदक जितेँ, सबैले सम्मान गरे । म पनि सुध्रिनुपर्छ भनेर सुध्रिनतर्फ लागेँ । जब मैले पदक जितेँ, ¥याली नै निकाल्यो । पाटनमा ज्यापु समाजको ४० टोल छ । यहाँबाट अन्तर्राष्ट्रिय पदक जित्ने म भाग्यमानी खेलाडी पनि हुँ । जुन समाजले मलाई घृणा गथ्र्याे, अहिले धेरैले सम्मान गर्छन् । मैले त्यही समाजनका लागि कीर्तिमानी स्वर्ण पदक जिताएँ । 

घडेरी दिने घोषणा त भयो तर...
आठौँ साफ हुँदा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले पदक विजेता खेलाडीलाई घडेरी नै दिने घोषणा गर्नुभएको थियो । यदि घडेरी नभए स्वर्ण विजेता खेलाडीलाई चार आना जग्गा दिने घोषणा पनि भयो । तर, सरकारले बाचा पूरा गर्न सकेन । त्यसपछि खेलाडीलाई पाँच लाख दियो । सुरुमा राज्यले डेढ लाख दिने घोषणा गरेको थियो । विभिन्न संघ–संस्थाबाट गरी मैले १० लाखजति नगद पुरस्कार पाएँ । 

देश छाड्ने निर्णय गरेँ
पदक जितेपछि मेरो विवाह पनि भयो । बच्चा पनि भए । दुई छोरी छन् । मेरो तलब यहाँ २८ सय मात्रै थियो । तर, यसले घरपरिवार पाल्न निकै गाह्रो भयो । खानै नपुग्ने अवस्था आयो । दक्षिण कोरियामा कराँते च्याम्पियनसिप हुँदै थियो । मैले मीनकृष्ण (हाल बागमती प्रदेशका खेलकुदमन्त्री) दाइलाई विदेश जाने भनेँ । उहाँले हुँदैन भन्नुभयो । म कोरिया खेल्न गएका वेला उतै लुकिदिएँ । म भागेको भनेर मीनकृष्ण दाइ एक वर्ष बोल्नुभएन । बल्ल–बल्ल बोल्ने बनाएँ । खासमा नेपालमा बस्नै सकिनँ । जनयुद्धको समय थियो । माओवादीमा जान दबाब थियो । 

यसपछि कोरियामा बस्न सहज हुने सोचेर उतै बसिदिएँ । भविष्य सोचेँ । परिवारलाई सोचेँ । अनि १० वर्ष उतै बसेँ । त्यहाँ बस्दा पनि नेपाली खेलाडीलाई बोलाएर सम्मान गर्ने काम भएको थियो । फुटबलका पूर्वकप्तान राजुकाजी शाक्य, कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, संगिना वैद्य, दीपक विष्ट धेरैलाई सम्मान गरियो । १० वर्ष बसेपछि स्वदेश फर्कने निर्णय लिएँ । अहिले कहिलेकाहीँ प्रशिक्षण गराउँछु । बिजनेस पनि गरेँ । अहिले कराँते महासंघकै सदस्य छु ।