Skip This
सगरमाथा निकुञ्जभित्र घोडामा पर्यटक बोक्न रोक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ कार्तिक १० शनिबार o८:२९:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

सगरमाथा निकुञ्जभित्र घोडामा पर्यटक बोक्न रोक

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार o८:२९:oo

स्याङ्बोचेभन्दा माथिल्लो भेगमा व्यावसायिक प्रयोजनका हेलिकोप्टर उडानमा रोक लगाउन सगरमाथा राष्ट्रिय निकुञ्जको क्यानलाई पत्र

सगरमाथा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र घोडामा पर्यटक बोक्न रोक लगाइएको छ । निकुञ्ज कार्यालयले शुक्रबार सूचना प्रकाशित गरी घोडाहरूको अनावश्यक हिँडडुल र चरिचरनले निकुञ्ज क्षेत्रको पर्यावरणमा नकारात्मक असर पर्ने भन्दै घोडा लैजान रोक लगाएको हो । कोर क्षेत्रमा रहेका घोडाहरू पनि सात दिनभित्र बाहिर लैजान घोडाधनीलाई अल्टिमेटम दिइएको छ ।

स्थानीय घोडाधनीले सगरमाथा बेसक्याम्पतर्फ जाने पर्यटकलाई घोडामा बोक्दै आइरहेका छन् । निकुञ्जको अनुमतिविना घरपालुवा घोडाहरू हिँडडुल गराउने, चराउने, वास राख्नेजस्ता क्रियाकलाप राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको विपरीत हुन्छ । विशेषगरी निकुञ्जको लार्चादोभान, लोबुचे, थुक्ला, गोरक्क्षेपजस्ता अतिसंवेदनशील भौगोलिक अवस्था भएको क्षेत्रमा घोडाहरूको हिँडडुल, चरिचरनजस्ता क्रियाकलापले सो क्षेत्रको संवेदनशील पारिस्थितिकीय प्रणाली, वन्यजन्तु तथा वनस्पतिमा नकारात्मक असर तथा प्रभाव पर्ने निकुञ्जको ठहर छ ।

‘निकुञ्जको कोर क्षेत्रभित्र निजी घोडाधनीले घरपालुवा घोडा पर्यटक बोक्ने प्रयोजनका लागि प्रयोग गरिरहेको पाइएको छ,’ निकुञ्जको सार्वजनिक सूचनामा भनिएको छ, ‘उपर्युक्त स्थानमा रहेका घरपालुवा घोडा सात दिनभित्र निकुञ्जको कोर क्षेत्रभन्दा बाहिर लैजान यो सूचना जारी गरिएको छ ।’ सूचनाअनुसार घोडाधनीले १५ कात्तिकसम्म सबै घोडा निकुञ्जबाट बाहिर लगिसक्नुपर्ने देखिन्छ । तोकिएको समयमा घोडा निकुञ्जबाहिर नलगे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण  नियमावली २०३०, हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ तथा अन्य प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिइएको छ । 

खुम्बु पासाङल्हामु गाउँपालिका निकुञ्जको सूचना फेसबुकमा सेयर गर्दै सगरमाथा बेसक्याम्प जाने पर्यटकीय पदमार्गमा घोडाधनीले अनियमित काम गरिरहेको भन्दै निकुञ्जको सूचनाबमोजिम कोर क्षेत्रबाट घोडा तुरुन्त हटाउन अनुरोध गरेको छ । ङा टेम्बा शेर्पाले फेसबुकमा कमेन्ट गरेका छन्, ‘पर्यटनको कोर क्षेत्रभित्र घोडाले पहिल्यैदेखि दुःख दिइरहेका छन्, सबैतिरका घोडा पदमार्गमा हिँडाउँदा पूरै बाटो जाम भइदिन्छ । विदेशी पर्यटकले घोडालाई बाटो छोडिदिएन भने घोडाधनी उल्टै झगडा गर्न आउँछन् । पर्यटकलाई घोडामा बोकेर जबर्जस्ती बेसक्याम्पसम्म लैजाँदा अल्टिच्युड लागेर बिरामी पर्ने र हेलिकोप्टरबाट रेस्क्यु गर्ने काम भइरहेको छ ।’

हेलिकोप्टर उडान रोक्न पत्राचार, हाई–इन्ड पर्यटनमा असर पर्ने
निकुञ्ज कार्यालयले ध्वनि प्रदूषणबाट वन्यजन्तुको आनीबानी र व्यवहारमा नकारात्मक प्रभाव पर्ने भन्दै निकुञ्ज क्षेत्रको स्याङ्बोचेभन्दा माथिल्लो भेगमा व्यावसायिक प्रयोजनका हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई पात्राचार गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज, भगवतीप्रसाद गुल्म र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको बिहीबार बसेको संयुक्त बैठकले स्याङ्बोचेभन्दा माथि व्यावसायिक होलिकोप्टर उडानमा प्रतिबन्ध लगाउनुपर्ने निर्णय गरेको हो ।

निकुञ्ज कार्यालयको पत्रमा भनिएको छ, ‘निकुञ्जको कोर क्षेत्रभित्र विभिन्न प्रयोजनका लागि दैनिक ५०औँ संख्यामा हेलिकोप्टरको उडान तथा अवतरण भइरहेको हुँदा यसबाट निकुञ्ज क्षेत्रमा अनावश्यक ध्वनि प्रदूषण भई वन्यजन्तुको आनीबानी तथा व्यवहारमा समेत नकारात्मक असर तथा प्रभावहरू पर्ने देखिएकाले स्याङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा व्यावसायिक प्रयोजनका लागि हेलिकोप्टर उडान–अवतरणमा निषेध गर्न अनुरोध गरिन्छ ।’

खुम्बु क्षेत्रको पर्यटन जोगाउन निकुञ्जले अत्यन्त स्वागतयोग्य कार्यको थालनी गरेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको ठहर छ । निकुञ्जको सूचना फेसबुकमा पोस्ट गर्दै गाउँपालिकाले भनेको छ, ‘यस कार्यलाई कार्यान्वयन गर्न स्थानीय सरकारको पूर्ण साथ–सहयोग रहनेछ, साथै स्थानीयस्तरका सबै संघ–संस्था र स्थानीयवासीले पनि कार्यान्वयनमा सहयोग गर्न अपिल गर्छौँ ।’

स्याङ्बोचेभन्दा माथिल्लो भेगमा हेलिकोप्टर उडानमा रोक लगाउँदा हाई–इन्ड पर्यटन मर्ने कोरा टुर्सका संस्थापक–सिइओ विजय अमात्यले बताए । अहिले खर्चालु पर्यटक लुक्लाबाट हेलिकोप्टर चढेर सर्वोच्च शिखर सगरमाथाको फन्को मारी फर्किने गर्छन् । ‘समय कम हुने खर्चालु पर्यटक हेलिकोप्टरमा सगरमाथालाई फन्को मारेर कोङ्दे वा एभरेष्ट भ्यु होटेलमा ब्रेकफास्ट खाई फर्किने गर्छन्,’ उनले भने, ‘यदि होलिकोप्टर उडानमा रोक लगाइए कोङ्दे, कालापत्थर, बेसक्याम्प जाने हाई–इन्ड पर्यटक हुनेछैनन् ।’