Skip This
इजलासमा रविको प्रश्न– एउटा जाँच, एउटा कक्षामा मान्छेले कतिपटक दिन्छ श्रीमान् ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ९ शुक्रबार
  • Friday, 25 October, 2024
२o८१ कार्तिक ९ शुक्रबार o५:५८:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

इजलासमा रविको प्रश्न– एउटा जाँच, एउटा कक्षामा मान्छेले कतिपटक दिन्छ श्रीमान् ?

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ९ शुक्रबार o५:५८:oo

६ दिनदेखि हिरासतमा छु । चार घण्टाभन्दा बढी बयान भएको छैन । प्रश्नहरू दोहोरिएका छन्, तेहेरिएका छन् । मैले श्रीमान्लाई पाइलट भन्नु र मलाई सहकारी ठगीको मुद्दा लाग्नु एउटै हो श्रीमान् । सम्मानित संसदीय समितिको त्यो ठुलो प्रतिवेदनको कभरपेज पढ्नुभयो होला कालो कोट लगाउने महाशयले । एकपटक फेरि यही इजलासमा पढेर हेरियोस्, सहकारी ठगीमा मेरो संलग्नता कहाँ, कुन अक्षरमा लेखिएको छ ?

राज्य दम्भ देखाउँछ, बयान लिँदैन, छल्छ । अनि आदेश दिइएको छ, प्रहरीलाई जागिर जाला, सरुवा होला भन्ने डर छ । डर देखाइसकियो, चितवनमा सिडिओ र एसपी फालियो, अब यहाँका त्राहिमाम् हुनुहुन्छ । मलाई आँखाभरि आँसु पारेर ‘हामीलाई थाहा छ, तपाईंको केही पनि छैन, तर के गर्नु हजुर आदेश मान्नुपर्छ’ भन्नुहुन्छ उहाँहरू नै । मैले यहाँ नबोलेर कहाँ बोल्ने ? चरम अन्याय भइरहेको छ । सुनुवाइ कुन न्यायाधीशकोमा पर्छ र कुन न्यायाधीश कसले नियुक्ति गरेको हो भन्ने आधारमा अदालतलाई प्रभावित पार्ने प्रयास गर्छौँ भन्दै हिँड्ने पनि छन् । तर, मलाई तिनमा विश्वास छैन । मलाई श्रीमान्माथि विश्वास छ । मलाई म्याद थप हुन्छ, बहस त गर्ने मात्र हो भनिएको छ । तर, मलाई यसमा पनि विश्वास छैन । किनकि, एक्स्ट्रा अर्डिनरी विषयमा एक्स्ट्रा अर्डिनरी कुरा हुन्छ । गलत तथ्यहरू दिइएको छ, गलत कुराहरू भन्दै आइरहेको छ । श्रीमान्, मलाई तर्साइएको छ । सहकारीको सर्भरको कुरा गरिएको छ । नयाँ के तथ्य छ ? अनि, कुनचाहिँ प्रश्न लुकेको छ यहाँ ? सर्भर बरामद भएपछि मसँग लिइएको बयान यहीँ छ । सर्भरमा के भेटियो भन्ने बयान पनि भइसकेको छ ।

श्रीमान्, हिजो राति फोन गरी–गरी बोलाएर, लाइन लगाएर उजुरी दिन आऊ भनेर प्रहरी कार्यालयमा उजुरी गर्ने मान्छे बोलाइएको छ । यो मेरो आक्रोश हो, मैले जे महसुस गरेको छु । आज मैले श्रीमान्सँग भन्नुपर्ने हुन्छ, कहाँसम्मको अन्याय गरिएको छ भन्ने कुरा । मेरो पक्षमा कार्यक्रम हुँदाखेरि सहकारी ठगीलाई कारबाही गर भन्दै पार्टीका कार्यकर्ता मात्र होइन, जिम्मेवार नेताहरूलाई सडकमा पठाउँछन् । यो देशले आशा गरेका नयाँ मान्छे बोकेर बसेका छौँ । उनीहरू शान्त रूपमा आन्दोलन गरेर बसेका छन् । शान्त आन्दोलनमा पार्टीका मान्छे पठाएर बिथोल्ने काम हुन्छ । वृद्ध बा–आमाहरू आएका छन् । त्यस्ता मान्छेलाई बिथोल्ने कार्य हुन्छ । अनि हिंसा भड्काउने कार्य हुन्छ । के आफ्नोबारेमा शान्त रूपमा आवाज उठाउन पनि पाइँदैन श्रीमान् ? स्वतन्त्र रूपमा प्रदर्शन गर्न पनि पाइँदैन श्रीमान् ? शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरिन्छ र भनिन्छ, नयाँ दल पनि उस्तै हुन् !

दुईतिहाइको सरकार मेरोविरुद्ध षड्यन्त्र गरिरहेको छ । यतिखेर न्यायालयबाहेक कसैको आशा हुन सक्दैन श्रीमान् । मलाई न्यायालयको आशा छ, त्यसकारण आज यो अदालतमा मैले केही कुरा भनेको हुँ श्रीमान् ।

एउटा जाँच, एउटा कक्षमा मान्छेले कतिपटक दिन्छ श्रीमान् ? म यो ठुलो आवाजका लागि क्षमा चाहन्छु, असाध्यै धेरै पीडा भएर नै आवाज ठुलो भएको हो ।

तत्कालीन प्रधानमन्त्रीले प्रहरीलाई बोलाएर, सिआइबीलाई बोलाएर, महान्यायाधिवक्तालाई बोलाएर सोधेर, तिनले दिएका पत्रको आधारमा उजुरी छैन, मुद्दा छैन । कतै प्रतिवादी होइन भनेर संसद्मा भन्नुभएको होइन । त्यतिखेरका सत्तसाझेदार अहिलेका प्रधानमन्त्रीले सार्वजनिक रूपमा भनेका कुरा अहिले काम लागेन ? सहकारी छानबिन संसदीय समितिका सभापतिले विभिन्न टेलिभिजनमा उहाँको संलग्नता छैन, केही कतै देखिएन, संस्थागतमा कुनै निर्णय गरिएको छैन भनेर बताउनुभएको होइन ? प्रहरी प्रमुखले संसदीय समितिमै बयान दिनुभएको होइन ? गर्न बाँकी केही छैन श्रीमान् । तैपनि सहकारी ठगेको मुद्दा लगाइएको छ, संगठित अपराधसमेत भनिएको छ । म विदेशमा बेचिएका चेलीहरूलाई देशमा ल्याउने संगठित अपराधमा लागेको रहेछु, श्रीमान् सजाय पाऊँ । म विदेशमा अलपत्र परेका नेपाली दाजुभाइलाई नेपालमा ल्याउने संगठित अपराधमा लागेको मान्छे हो, सजाय पाऊँ श्रीमान् । म बाढीले बगाएको बस्ती मधेश बनाउने संगठित अपराधमा हिँडेको अभियुक्त हुँ, सजाय पाऊँ श्रीमान् । म दुर्गम कालीकोटमा अस्पताल बनाउन गएको मान्छे हो, मलाई त्यो संगठित अपराधमा पनि मुद्दा चलाइयोस् श्रीमान् । श्रीमान्, जुन तहको राजनीति र जुन तहको अन्याय ममाथि भएको छ, संसारले हेर्दै छ । मैले आफूलाई सम्हालेर बसेको छु । एउटा परिस्थिति बनेपछि श्रीमान्समक्ष आफ्नो कुरा राख्न पाएँ । यो मेरा लागि सौभाग्यको कुरा हो । तर, मैले केही पनि गर्न नहुने !

मैले चुनाव लड्न नहुने, सांसद/मन्त्री हुन नहुने । अनि, म नागरिक हुन नहुने । विनाआधार र प्रमाण म हिरासतमा बस्नुपर्ने ? ६–६ दिनसम्म राखेर मसँग जम्मा चार घण्टा बयान लिइएको छ । ल्याएर राख्ने, लिंगरिङ गर्ने अनि बयान भएको छैन भनेर म्याद थप्न माग्ने ? सल्लाह भएबमोजिम, सरकारले घेराबन्दी गरेबमोजिम मलाई अन्य थप मुद्दा, सम्पत्ति शुद्धीकरण, यो शुद्धीकरणसम्म लगाउने ? सहकारीपीडित कतिले आत्महत्या गरे, मलाई आत्महत्या दुरुत्साहनको पनि अभियोग लगाइदिनुस् । योचाहिँ किन छोड्नु र श्रीमान् ?

मेरो आक्रोश श्रीमान्प्रति होइन । उजुरी परेका तिनै सहकारीहरू ठाउँ–ठाउँ पुर्‍याउने कुरा गरिँदै छ । मलाई सहारा, सुप्रिम, सानोपाइला सहरकारी भएका ठाउँमा लैजाने कुरा छ । श्रीमान् मैले अब दिनुपर्ने कतिवटा जाँच बाँकी छ ?

म अन्यायको शिखरमा उभिएर न्यायको आशा गरेर श्रीमान्तर्फ हेरेर बसिरहेको छु । नियमित भएको प्रक्रियाले के भन्छ मलाई थाहा छैन । मलाई न्यायालयबाहेक अरू केही विश्वास, भरोसा र आस छैन ।

यतिखेर जब म प्रतिपक्षमा छु, जतिखेर देशमा दुईतिहाइको शक्तिशाली सरकार छ त्यो शक्ति नागरिकको वा अरू कसैको मुख थुन्न वा अन्याय गर्न दुरुपयोग नहोस् । यो वेलामा कोर्ट अझ बढी सक्रिय हुनेछ भन्ने विश्वास लिन्छु । म फेरि पनि पीडाका कारण आक्रोशमा बदलिएको अभिव्यक्ति स्वीकार गरिदिनुहुन्छ भनेर विनम्रपूर्वक क्षमा माग्दै आफ्नो कुरा टुंग्याएँ श्रीमान् ।