Skip This
अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन काठमाडौंमा सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ९ शुक्रबार
  • Friday, 25 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ९ शुक्रबार १७:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन काठमाडौंमा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ९ शुक्रबार १७:o७:oo

विभिन्‍न १५ देशका वैज्ञानिकहरूको सहभागितामा आज शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु भएको छ। नेपाल मेटेरियल्स साइन्स सोसाइटीको आयोजना तथा त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पस र सुदूरपश्‍चिम विश्वविद्यालयको सहआयोजनामा सुरु भएको सम्मेलनमा विज्ञान प्रविधि तथा आविष्कारको क्षेत्रमा भए–गरेका गतिविधिबारे छलफल हुँदै छ।

सम्मेलनको समुद्घाटन गर्दै शिक्षामन्त्री विद्या भट्टराईले विज्ञानलाई नेपाली समाजसँग बुझाउने गरी काम गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, ‘आज विश्व एआईमा प्रतिस्पर्धा गरिरहेको छ र हामी उनीहरूले उत्पादन गरेका कुराहरूलाई उपभोग मात्रै गरिरहने हो भने नेपाली समाज अघि बढ्न सक्दैन। विज्ञानलाई जीवनसँग जोड्ने गरी काम गर्न आवश्यक छ।’

विज्ञानलाई व्यवहारमा लागू गर्ने गरी काम गर्न आवश्यक रहेकोसमेत मन्त्री भट्टराईले बताइन्। उनले थपिन्, ‘यस्ता सम्मेलनबाट निकालेका निष्कर्ष र प्रतिबद्धताहरूलाई नेपाली समुदाय र अन्तर्राष्ट्रियस्तरसम्म कसरी पुर्‍याउन सकिन्छ भन्‍ने कुरामा ध्यान दिन आवश्यक छ। विज्ञानलाई हाम्रो समाजसँग जोड्न आवश्यक छ।’

चीनबाट आएका प्रा. बिङ डिङले नेपालको शैक्षिक संस्थाको प्रशंसा गर्दै भने, ‘हामी मिलेर ग्राउन्डब्रेकिङ रिसर्चका लागि बाटो बनाउन सक्छौँ।’ मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवप्रसाद गौतमले सम्मेलनलाई ज्ञान आदान–प्रदानका लागि महत्त्वपूर्ण मञ्चका रूपमा उपयोग गरिने जानकारी गराए।

सहायक प्राध्यापक टंक मुखियाले सहभागीहरूलाई स्वागत गर्दै भने, ‘यो सम्मेलनमा विज्ञान प्रविधिको उपयोग र यसले सिर्जना गरेका चुनौती र समाधानका उपायहरूबारे छलफल गरिनेछ।’

सम्मेलनको अध्यक्षता गरिरहेका प्रा.डा. हेमराज पन्तले जलवायु परिवर्तन, ऊर्जा र स्वास्थ्यजस्ता समस्या समाधानका लागि सामूहिक प्रयासको महत्त्वलाई जोड दिए। उनले तीन दिनसम्म चल्ने सम्मेलनमा विज्ञानले देखाएका चुनौतीहरूको दिगो समाधान खोज्ने प्रतिबद्धताका लागि आह्वान गरे।

सम्मेलनमा चीन, भारत, मलेसिया, इन्डोनेसिया, जापान र संयुक्त राज्य अमेरिकालगायतका देशहरूका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहेको छ।