Skip This
हत्या आरोपमा एमाले प्रदेश सभा सदस्यका भाइविरुद्ध जाहेरी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ८ बिहीबार
  • Friday, 25 October, 2024
२o८१ कार्तिक ८ बिहीबार o९:१४:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

हत्या आरोपमा एमाले प्रदेश सभा सदस्यका भाइविरुद्ध जाहेरी

परिवारको दबाबपछि मात्रै जाहेरी दर्ता, चारजना फरार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ८ बिहीबार o९:१४:oo

जग्गा विवादका कारण झापाको दमक नगरपालिका– ९ का ३७ वर्षीय यामु निरौलाको हत्या भएको छ । मंगलबार दिउँसो ४:२३ बजे दमक–३ स्थित मावा खोला नजिक रहेको विवादित जग्गामा उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जग्गाका विषयमा विवाद बढ्दै जाँदा भेला भएका मानिसहरूको कुटाइबाट उनको मृत्यु भएको हो । कुटपिटपछि गम्भीर घाइते भएका उनलाई आम्दा अस्पताल दमक लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । 

मदन भण्डारी राजमार्गसँगै जोडिएको जग्गा लामो समयदेखि विवादित थियो । विगतमा क्रसर राखिएको यो जग्गामा एउटा पक्षले खरिद गरेको भन्दै एक्स्काभेटर लगेर सम्याउन थालेपछि विवाद उत्पन्न भएको स्थानीयले जनाएका छन् । भेला भएका दुई पक्षबिच विवाद बढ्दै जाँदा निरौलामाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ । 

निरौलाको हत्यामा संलग्न भएको भन्दै परिवारले ६ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ । किटानी जाहेरीमा एमाले कार्यकर्ता बुद्धि थापाको नाम देखेपछि प्रहरीले सुरुमा जाहेरी लिन नमानेको मृतक परिवारको आरोप छ । थापा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य होमबहादुर थापाका भाइ हुन् । बुद्धि एमाले केन्द्रीय सदस्य गोविन्द थापाका दाइ, केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओलीका सालो हुन् ।

प्रहरीले उनको नाम कटाएर ल्याउनु भनेपछि मृतकका परिवारले इलाका प्रहरी कार्यालय दमकमा केहीबेर हुलदंगा गरेका थिए । दिनभर इप्रका दमकमा मृतकका आफन्तले घेराउ गरेपछि प्रहरीले अपराह्न करिब ५:१५ तिर मात्रै जाहेरी दर्ता गरेको थियो । थापा झापामा एमालेको राजनीतिक शक्तिलाई सधैँ प्रयोग गर्दै आएका पात्र हुन् । उनीसँग सरुवा–बढुवामा सहयोग माग्दै प्रहरीका उच्च अधिकृत पनि पुग्ने गरेका थिए । ‘प्रहरीले बुद्धि थापाको नाम हटाउन भन्यो । उसको नाम हटाए मात्र जाहेरी लिने भनेपछि केहीवेर तनावको स्थिति पनि आयो । हामीले कडा रूपमा प्रस्तुत भएपछि मात्र जाहेरी दर्ता भयो,’ मृतकका काका सुजन निरौलाले भने, ‘हाम्रो भतिज जग्गा दलालले बोलाएर गएको हो । त्यहाँ गएपछि उनको हत्या भएको छ । सिसिटिभीको फुटेज हामीले पनि हे¥यौँ । तसर्थ दलालीमा संलग्नलाई कारबाही हुनुपर्छ । हामीले न्याय पाउनुपर्छ ।’

थापासँगै दमक–३ का राजु भनिने शेरबहादुर नेम्बाङ, संखुवासभाको मादी नगरपालिका–१० घर भई दमक–३ बस्ने गणेश दर्जी, मोरङ उर्लाबारी–६ का प्रकाश कार्की, उर्लाबारी–७ का ध्रुव गौतम र सुनसरी इटहरीका डेबिड घलेविरुद्ध जाहेरी परेको हो । आरोपितमध्ये दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बाँकी फरार छन् । आरोपित थापासँगै नेम्बाङ पनि एमाले कार्यकर्ता हुन् । 

नयाँ पत्रिकालाई प्राप्त सिसिटिभी फुटेजअनुसार दमक–३ मा रहेको विवादित जग्गामा गाडी लिएर पुगेको समूहले निरौलामाथि कुटपिट गरेको देखिन्छ । फुटेजमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीनिकट कार्यकर्ता नम चेम्जोङलाई पनि देखिएको छ । उनी निर्वाचनमा ओलीलाई जिताउन अभियान नै लिएर हिँड्ने गरेका थिए । उनीविरुद्ध जाहेरी परेको छैन । ‘घटनामा एमाले नेता नम चेम्जोङ र बुद्धि थापा आएका थिए । सुरुमा सामान्य जस्तो देखिन्थ्यो । पछि हत्या हुने गरी कुटपिट भयो,’ घटनाका एक प्रत्यक्षदर्शीले भने, ‘यो जग्गामा पहिलादेखि नै लफडा हुने गरेको थियो । यो जग्गामा नम र बुद्धिहरूकै संरक्षण थियो ।’ सो जग्गा लामो समयदेखि खाली थियो । विगतमा सँधियारहरूले बाटो खन्दा पनि बाटो भत्काउने, कुटपिट गर्नेजस्ता गतिविधि भएको स्थानीयको दाबी छ । गुण्डा नाइके भनेर चिनिएका दिनेश अधिकारी (चरी) र दमकका केही एमाले नेताहरूले सो जग्गामा क्रसर स्थापना गर्ने उद्देश्यले लगानी गरेको स्थानीय बताउँछन् । अधिकारीको इन्काउन्टरसँगै क्रसर राख्ने योजना सफल हुन नसकेपछि जग्गा खाली रहँदै आएको छ । 

प्रहरीले ढिला गरी जाहेरी लिएपछि निरौलाको शव पोस्टमार्टम हुन सकेको छैन । दमक अस्पतालमा राखिएको शवको पोस्टमार्टम बिहीबार गरिने प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले जाहेरी दर्ता गरेर दर्ता नम्बर लिएर मृतकका आफन्त फर्किएको बताए । उनले परिवारले प्रहरीप्रति लगाएको आरोपबारे भने अनभिज्ञता प्रकट गरे । ‘जाहेरी दर्ता भयो । परिवारको आरोपबारे जानकारी छैन । हामीले जाहेरी दर्ता गरेका हौँ,’ उनले भने, ‘जाहेरीपछि घटनाबारेमा अनुसन्धान भइरहेको छ ।’