Skip This
कक्षा १, २ र ४ का पाठ्यपुस्तक मात्रै अब निजी प्रेसले छाप्न पाउने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ कार्तिक ११ आइतबार o७:४७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कक्षा १, २ र ४ का पाठ्यपुस्तक मात्रै अब निजी प्रेसले छाप्न पाउने

हुलाक टिकट र जग्गाधनी प्रमाण पुर्जा छपाइको जिम्मा पनि जनक शिक्षालाई

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार o७:४७:oo

निजी छापाखानाले अब तीनवटा कक्षाका मात्रै पाठ्यपुस्तक छाप्न पाउने भएका छन् । कक्षा १, २ र ४ बाहेकका पाठ्यपुस्तक अब जनक शिक्षा सामग्री केन्द्रले छाप्ने भएको छ । यसअघि कक्षा पाँचसम्मका सबै पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएका निजी प्रकाशनको अधिकार शिक्षा मन्त्रालयले कटौती गरेको हो । 

निजी प्रकाशनले छाप्दा बढी शुल्क लागेको र धेरै त्रुटि फेला परेको भन्दै मन्त्रालयले पुस्तक छाप्न नदिने निर्णय गरेको हो । अर्को वर्षपछि निजीलाई दिइएको अधिकार थप खुम्च्याइने मन्त्रालयले जनाएको छ । त्यसपछि सबै कक्षाका पाठ्यपुस्तक जनक शिक्षाले नै छाप्न दिने गरी मन्त्रालयले तयारी थालेको छ । एकैपटक सबै पुस्तक जनक शिक्षालाई छाप्न दिँदा व्यवस्थापनमा समस्या हुने हुँदा क्रमशः दायरा बढाउन लागिएको हो ।

यसअघि जनक शिक्षाले छाप्न नभ्याउने र छपाइ ढिलो भएका कारण निजी प्रकाशनलाई छाप्न दिइएको थियो । तर, जनक शिक्षाले गत वर्षदेखि नयाँ छापाखाना ल्याएपछि छपाइमा सहज र छिटो भएको छ । हाल जनक शिक्षाले आगामी शैक्षिक सत्रका लागि चाहिने अधिकांश पुस्तक छापेर स्टक राखेको छ । चाहेको अवस्थामा दैनिक एक लाखप्रति पुस्तक प्रकाशन गर्न सकिने अवस्था छ । 

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले जनक शिक्षाले सबै तहको पुस्तक छाप्न सक्ने अवस्था भएपछि निजी छापाखानालाई कुनै पनि तहको पुस्तक छाप्न नदिने बताए । यस वर्ष निजी प्रेस कुन–कुनलाई छाप्न दिने भन्नेबारे छिट्टै टुंगो लाग्नेछ । दरखास्तका आधारमा निजी प्रेस छनोट गरिनेछ । 

गत वर्षदेखि पुस्तक छपाइ र वितरणमा सुधार 
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत वर्ष समयमै पाठ्यपुस्तक छपाइका लागि जनक शिक्षालाई निर्देशन दिएका थिए । प्रधानमन्त्री कार्यालयको टोली जनक शिक्षा र पाठ्यक्रम विकास केन्द्रको अनुगमनमा समेत पुगेको थियो । प्रचण्डको अग्रसरताका कारण गत वर्ष विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएका थिए । यस्तै, जनक शिक्षाले पनि गत शैक्षिक सत्रको पाठ्यपुस्तक समयमै प्रकाशन गरेर आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छापेको थियो । ‘निजीलाई दिइँदै आएको पाठ्यपुस्तक छपाइको जिम्मेवारी बिस्तारै खुम्चिँदै छ, सकेसम्म जनक शिक्षाले नै सबै प्रकारका सामग्री छाप्नुपर्छ भन्ने हो,’ महानिर्देशक श्रेष्ठले भने ।

पाठ्यपुस्तक छाप्दै आइरहेको जनक शिक्षालाई अब अत्यावश्यक सरकारी कागजात छाप्ने अधिकार पनि दिइएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जनक शिक्षालाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकरलगायतका कागजात छपाइको जिम्मा दिने निर्णय गरेको हो । यसअघि पनि जनक शिक्षाले नै यी कागजात छपाइ गर्दै आएको थियो । तर, गत वर्ष मुद्रण ऐन आएपछि जनक शिक्षाको अधिकार कटौती भएको थियो । मुद्रण ऐनमा सरकारले निर्णय गरेपछि मात्रै जनक शिक्षालाई ती कागजात छाप्न दिने व्यवस्था छ । सो व्यवस्थाअनुसार मन्त्रिपरिषद्ले निर्णय गरेसँगै अब भने हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकरलगायतका कागजात जनक शिक्षाले नै छाप्नेछ । 

त्रिवि परीक्षामा लापरबाही पढाउने पुरानै विषय, प्रश्नपत्र नयाँ पाठ्यक्रमबाट
त्रिभुवन विश्वविद्यालयले विद्यार्थीले पढ्दै नपढेको नयाँ पाठ्यक्रमअनुसार प्रश्नपत्र निर्माण गरी परीक्षा सञ्चालन गरेको छ । ३० भदौमा सञ्चालन भएको स्नातक तह चौथो वर्षको साहित्यक सिद्धान्त, नेपाली समालोचना र शोध विधि (४२७) विषयको परीक्षामा त्रिविले पढाउँदै नपढाएको पाठ्यक्रमबाट प्रश्न निकालेको हो । 

यो विषय विद्यार्थीले पढ्दै पढेका थिएनन् । यो विषय ऐच्छिक नेपाली पढ्नेलाई तेस्रो वर्षमा पढाइन्थो । तर, क्याम्पसहरूले पुरानै विषय आधुनिक नेपाली आख्यानको उत्तरवर्ती (४२५) विषय पढाउँदै आएका थिए । साहित्य सिद्धान्त, नेपाली समालोचना र शोध विधि (४२७) विषय विगतमा तेस्रो वर्षमा पढाइन्थ्यो । तर, यसपटकदेखि भने तेस्रो वर्षमा पढाइने विषय चौथो वर्षमा र चौथो वर्षमा पढाइने विषय तेस्रो वर्षमा पढाउन थालियो । त्रिवि र क्याम्पसको लापरबाहीले विद्यार्थीले पढ्दै नपढेको विषयको परीक्षा दिनुपरेको छ । 

क्याम्पसका अनुसार त्रिविले क्याम्पसलाई नयाँ पाठ्यक्रमबारे जानकारी नै गराएको थिएन । सोही कारण क्याम्पसले खुरुखुरु पुरानो पाठ्यक्रमअनुसार पढाएका थिए । तर, त्रिविले यस वर्षदेखि पाठ्यक्रम परिमार्जन गरेको थियो । पाठ्यक्रम परिमार्जनबारे अधिकांश क्याम्पस र विद्यार्थीलाई थाहै भएन । थाहा पाएका कतिपय क्याम्पसलाई पनि परीक्षाभन्दा २३ दिनअघि मात्रै त्रिवि रजिस्ट्रार तथा परीक्षा नियन्त्रक कार्यालयले निर्देशन दिएको थियो ।

परीक्षा हलमा फरक प्रश्न आएपछि विद्यार्थी झस्किएका थिए । उनीहरूले तत्काल परीक्षा नदिने प्रतिवाद गरे पनि परीक्षा नियन्त्रक कार्यालयले क्याम्पसको कमजोरी देखाउँदै परीक्षा सञ्चालन गरेको थियो । त्रिविले कतिपय क्याम्पसलाई २३ दिनअघि नयाँ पाठ्यक्रमअनुसार प्रश्नपत्र आउने जानकारी गराए पनि त्यतिवेलासम्म कोर्स सकिन लागेको थियो । परीक्षा फारम पनि खुलिसकेको थियो । त्रिविको लापरबाहीका कारण विद्यार्थी पढ्दैनपढेको पाठ्यक्रममा परीक्षा दिन बाध्य भए । त्रिविका रजिस्ट्रार प्रा.डा. केदार रिजालले कतिपय क्याम्पसले पुरानै कोर्स पढाएकाले यस्तो समस्या आएको दाबी गरे । त्रिवि नेपाली विभाग प्रमुख कृष्णप्रसाद न्यौपानेले यसमा विभागको भन्दा पनि माथिल्लो निकायको दोष भएको बताए । 

छानबिन गर्न शिक्षामन्त्रीको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीलाई नयाँ पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन गरेर झुक्याएकोबारे त्रिविमाथि छानबिन गर्न निर्देशन दिने बताइन् । ‘यसबारे छानबिन हुन्छ, त्रिवि पदाधिकारीलाई छानबिन समिति बनाउन प्रतिबद्धता गराएकी छु,’ उनले भनिन्, ‘यसमा छानबिन हुन्छ ।’