१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
यम बम काठमाडाैं
२o८१ कार्तिक ७ बुधबार o८:४४:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पुनर्निर्माणमा कम्तीमा डेढ खर्ब चाहिने, दाता गुहार्ने सरकारको तयारी

Read Time : > 2 मिनेट
यम बम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार o८:४४:oo

भूकम्प र बाढीपहिरोको क्षतिको विस्तृत मूल्यांकन गर्न प्राधिकरणले माग्यो ३० करोड

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प र बाढीपहिरोको क्षतिको विस्तृत मूल्यांकन गर्न अर्थ मन्त्रालयसँग ३० करोड माग गरेको छ । गत असोजको बाढीपहिरो तथा ०७९ र ८० मा जाजरकोट, डोटी र बझाङ केन्द्रविन्दु भएर गएका भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्यांकन एवं पुनर्निर्माणमा लाग्ने बजेटबारे आकलन गर्न प्राधिकरणले बजेट माग गरेको हो ।

‘अर्थ मन्त्रालयले बजेट निकासा गरेपछि हामी तीन महिनाभित्र क्षतिको विस्तृत मूल्यांकन र पुनर्निर्माणमा लाग्ने बजेटबारे निक्र्योल गर्न सक्छौँ,’ प्राधिकरणका सहसचिव वसन्त अधिकारीले भने, ‘यो कामका लागि विषयगत मन्त्रालयबाट काजमा कर्मचारी ल्याइनेछ । आवश्यकताअनुसार करारमा पनि जनशक्ति लिन सकिनेछ ।’ भूकम्पपछिको पुनर्निर्माणमा कम्तीमा ७३ अर्ब र बाढीपहिरो (यसपालिकाको बर्खा)पछिको पुनर्निर्माणमा एक खर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिए पनि घरघरमा प्राविधिक खटाई प्राविधिक जाँच र मूल्यांकनपछि मात्र यकिन गर्न सकिने सहसचिव अधिकारीले बताए ।

१७ जिल्लामा भूकम्पपछिको पुनर्निर्माण गर्नुपर्नेछ, प्रारम्भिक आँकडाअनुसार ९५ हजार सात सय ८७ घर पुनर्निर्माण गर्नुपर्नेछ भने सार्वजनिक तथा सरकारी भवन, संरचना पनि पुनर्निर्माण गर्न बाँकी छ । गत असोज १०–१२ को बाढीपहिरोमा मात्र २१ जिल्लाका ७१ पालिकामा १० हजार घर पुनर्निर्माण गर्नुपर्ने देखिएको छ । त्यसबाहेक यसपालिकै बर्खामा सोलुखुम्बुको थामे, रामेछापको दोरम्बा, कञ्चनपुरको दोधारा चाँदनीलगायत क्षेत्रमा पनि पुनर्निर्माण गर्नुपर्नेछ । ‘विपत् संकटग्रस्त घोषणा भएबाहेक १२–१५ पालिकामा क्षति पुगेको छ, त्यहाँ पनि पुनर्निर्माण गर्नुपर्नेछ,’ सहसचिव अधिकारीले भने, ‘यसरी हेर्दा बाढीपहिरोको पुनर्निर्माणमा मात्र एक खर्बभन्दा बढी बजेट चाहिने देखिन्छ ।’

भूकम्पभन्दा बाढीपहिरोको पुनर्निर्माण खर्चिलो
भूकम्पभन्दा बाढीपहिरोपछिको पुनर्निर्माण अझ खर्चिलो हुने आकलन गरिएको छ । पश्चिम नेपालको भूकम्पले घर, सार्वजनिक भवन, संरचना भत्काए पनि सार्वजनिक सडक तथा आयोजनामा धेरै क्षति गरेको थिएन । तर, बाढीपहिरोले भने घर बगाउनुका साथै सडक, पुल बगाएको छ । ‘भूकम्पले भत्काएका घरका केही मेटरियल पुनःप्रयोग गर्न सकिन्छ, बस्नै नमिल्नेबाहेकमा पुरानै ठाउँमा घर बनाउन सकिन्छ,’ प्राधिकरणका सहसचिव वसन्त अधिकारीले भने, ‘तर बाढीपहिरोले त जमिनसहित घर बगाएर लगेको छ, सडक, पुल, आयोजना बगाएको छ, यसले बजेट अझ धेरै चाहिने देखिन्छ ।’

दाता गुहार्ने तयारीमा सरकार
सरकार भूकम्प र बाढीपहिरोपछिको पुनर्निर्माणमा दाता गुहार्ने तयारीमा छ । क्षतिको विस्तृत मूल्यांकन चाँडै सकेर पुनर्निर्माणमा अपुग हुने रकम जुटाउन दातृ निकाय तथा मुलुकको सहभागितामा दाता सम्मेलन गर्ने गरी अर्थ मन्त्रालयले आन्तरिक तयारी गरिरहेको छ । बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्री केपी ओलीले २ कात्तिकमै निर्देशन दिइसकेका छन् । सबै मन्त्री र मुख्यमन्त्री सहभागी विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औँ बैठकमा प्रधानमन्त्री ओलीले कात्तिक मसान्तभित्र अस्थायी आवास निर्माणको रकम निकासा गरिसक्न पुनर्निर्माणमा अपुग हुने रकम जुटाउन दातृ निकाय वा सरकारको सहभागितामा सम्मेलन गर्न भनेका थिए । सरकारले पछिल्लोपटक ०७२ को भूकम्पपछिको पुनर्निर्माणमा दाता सम्मेलन गरेर बजेट जोहो गरेको थियो । पुनर्निर्माणमा झन्डै सात खर्ब लागेको थियो । पछिल्लोपटक पश्चिम नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले चालू आव ०८१/८२ का लागि २१ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ । 

२३८ जना मृतकका परिवारलाई राहत रकम वितरण
मध्य असोजको बाढीपहिरोमा ज्यान गुमाएकामध्ये २३८ जनाका परिवारलाई आर्थिक सहायता प्रदान गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीका अनुसार २३८ जना मृतकका परिवारलाई दुई लाखका दरले आर्थिक सहायतास्वरूप राहत रकम वितरण गरिएको हो । मृतक १२ जनाका परिवारलाई राहत वितरण कार्य प्रक्रियामा रहेको गृहले जनाएको छ । अहिलेसम्म मृतकका परिवारलाई पाँच करोड ४६ लाख राहत रकम वितरण भइसकेको छ ।

काभ्रेपलाञ्चोकमा ७९ जना मृतकका परिवारमध्ये ७८ जनाका परिवारलाई राहत रकम वितरण भइसकेको छ । त्यहाँ मृतक एकजना बालकको कागजी प्रक्रियामा रहेकाले परिवारलाई चाँडै राहत रकम दिइने गृहले जनाएको छ । ललितपुरमा मृत्यु भएका ४६ मध्ये ४५ जनाका परिवारलाई रकम हस्तान्तरण गरिएको छ भने एकजनाको हकदार यकिन नभएकाले रोकिएको हो । 

प्रवक्ता तिवारीका अनुसार काठमाडौंमा १९ जना मृतकका परिवार, भक्तपुरमा चार, झापामा २, पाँचथरमा ७, धनकुटा र उदयपुरमा १–१, सोलुखुम्बुमा ५, इलाममा १, ओखलढुंगामा १, महोत्तरीमा २, सप्तरीमा १, सर्लाहीमा ३ र रौतहटमा चारजना मृतकका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । सिराहामा १, मकवानपुरमा ७, धादिङका ३६, सिन्धुपाल्चोक र दोलखामा ७–७, रामेछापमा १, सिन्धुलीमा ३ र रुपन्देहीमा दुईजना मृतकका परिवारलाई राहतस्वरूप आर्थिक सहायता उपलब्ध गराइएको छ ।