१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ६ मंगलबार १५:५५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चिनियाँलाई घरमै नागरिकता : धरौटीमा छुटे जिल्ला प्रशासनका नासु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ६ मंगलबार १५:५५:oo

एक चिनियाँ युवकलाई घरमै लगेर नेपाली नागरिकता दिएको मुद्दामा जिल्ला प्रशासन कार्यालय धादिङका नायबसुब्बा धरौटीमा छुटेका छन्। ६ जनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेकोमा नासु कृष्णप्रसाद थपलिया ५१ हजार रुपैयाँ धरौटीमा छुटेका हुन्।

जिल्ला अदालत धादिङका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासको आदेशअनुसार दुईजना धरौटीमा छुटेका हुन्। नासु थपलिया र बिचौलिया मदन तामाङ प्रतिव्यक्ति ५१ हजार रुपैयाँ धरौटीमा छुटेका छन्। नागरिकता लिने चिनियाँ नागरिक सोनाम तामाङसहित सहयोग गर्ने छिरिङ ढुण्डुप, छिरिङ वाङदेन शेर्पा र रामेश्वर रिमाल जेल चलान भएका छन्।

जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई आर्थिक प्रभावमा पारेर नागरिकता लिएको प्रहरी अनुसन्धानमा खुलेको थियो। जिल्ला प्रशासनमा उपस्थित नै नभई सोनामले त्यहाँका कर्मचारीलाई ५० हजार घुस दिएर नागरिकता लिएको खुलेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोनामसहितका व्यक्तिलाई गत ४ असोजमा बौद्धमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो।

उनी चिनियाँ नागरिक रहेकोमा नेपाली नागरिकता भेटिएपछि प्रहरीले छानबिन गर्दा २६–०१–८१–०३२१७ नम्बरको सो नागरिकता सक्कली भएको खुल्यो। सो नागरिकता लिन आफूले चार लाख रुपैयाँ खर्च गरेको सोनामले प्रहरीको सोधपुछमा बताएका थिए। उनले सो पैसा तिब्बतका छिरिङ ढुन्डुपलाई दिएका थिए। छिरिङले ५० हजार आफूसँग राखेर बाँकी तीन लाख ५० हजार सिन्धुपाल्चोक घर भएका छिरिङ वाङ्दिन शेर्पालाई दिई काम लगाएका थिए। छिरिङले ५० हजार आफूसँग राखेर धादिङ खनियाँवासका रामेश्वर रिमाललाई तीन लाख दिई कामको थप जिम्मा लगाएका थिए। रिमालले एक लाख आफूले राखेर दुई लाख खनियाँवासकै मदन तामाङलाई दिएकोमा उनले नै जिल्ला प्रशासनमा सेटिङ मिलाएर नागरिकता निकालिदिएका थिए।

सोनाम तामाङको नाममा नागरिकता निकाल्न मदनले जिल्ला प्रशासनका नायबसुब्बा कृष्णप्रसाद थपलियालाई ५० हजार दिएका थिए । गत ६ असारमा जारी भएको नागरिकतामा अधिकृत छत्र अधिकारीको हस्ताक्षर छ। अधिकारीलाई भने प्रहरीले प्रतिवादी बनाएको छैन। नेत्रावती डबजोङ गाउँपालिका– १ ठेगाना राखेर हर्कमान तामाङलाई बुबाका रूपमा खडा गरी नागरिकता दिइएको थियो।

सेटिङको मुख्य भूमिकामा नायबसुब्बा थपलिया देखिएका थिए। लामो समयदेखि धादिङ प्रशासनमा कार्यरत उनले विगतमा पनि धेरै चिनियाँलाई यसरी नै नागरिकता ‘बेच्दै’ आएको सूचना प्राप्त भएको प्रहरीको दाबी छ। तर, त्यसतर्फ अनुसन्धान हुन सकेको छैन।