१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १ बिहीबार
  • Thursday, 17 October, 2024
२o८१ कार्तिक १ बिहीबार o६:३o:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रोशीका तीन संरचना उद्घाटनअघि नै बगायो बाढीले

काभ्रेको रोशी गाउँपालिकामा मात्रै असोज दोस्रो साताको बाढीपहिरोबाट १२ जनाको मृत्यु र ५२ घाइते

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १ बिहीबार o६:३o:oo

गत १० देखि १३ असोजसम्म भएको अविरल वर्षाका कारण काभ्रेमा धेरै धनजनको क्षति भएको छ । बाढीबाट ७८ जनाले ज्यान गुमाए । सातजना बेपत्ता छन् । ८० जनाभन्दा बढी घाइते भए । पशुपन्छी र भौतिक संरचना क्षतिको यथार्थ विवरण अझै आइसकेको छैन । 

बाढीपहिरोले रोशी गाउँपालिकामा निर्माण अन्तिम चरणमा पुगेको तीन संरचनाको उद्घाटनअगावै बगाएको छ । रोशी गाउँपालिका– १ मा अवस्थित १० शड्ढयाको आधारभूत अस्पताल भवन, वडा नम्बर ११ मा अवस्थित डम्फु जीवन्त संग्रहालय र रोशी औद्योगिक ग्रामको प्रशासनिक भवन निर्माण सम्पन्न भएर पनि उद्घाटन हुन सकेन ।

संघीय सरकारले अघि सारेको ‘एक स्थानीय तह एक आधारभूत अस्पताल’अन्तर्गत रोशी– १ मा आधारभूत अस्पताल भवन निर्माण भएको थियो । खहरेपाँगुमा निर्माणाधीन दश शड्ढयाको अस्पताल निर्माणको काम करिब अन्तिम चरणमा थियो । ०८१ जेठ मसान्तभित्र अस्पताल निर्माण सम्पन्न गर्न १३ चैत ०७७ मा सगुन धुलिखेल जेभीसँग सम्झौता गरिएको थियो । संघीय सरकारबाट बजेट नआएपछि पुनः पुस मसान्तसम्म म्याद थप भएको थियो । ६ करोड पाँच लाख रुपैयाँमा अस्पताल निर्माणका लागि सम्झौता गरिएकोमा संघीय सरकारबाट तीन करोड ५० लाख रुपैयाँ मात्रै प्राप्त भएको थियो । 

बाढीपहिरोले रोशी– ११ कालढुंगामा रहेको औद्योगिक ग्राम र डम्फु जीवन्त संग्रहालयसहितको पार्क बगाएको छ । तामाङ जातिको रहनसहन, वेशभूषा, संस्कृति, रीतिरिवाज तथा तामाङ जातिको जनजीवनमा प्रयोग हुने सामग्री र तामाङ भाषाका पुस्तक रहने गरी ‘डम्फू जीवन्त संग्रहालय पार्क’ निर्माण भएको थियो । पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको थियो ।

संग्रहालय निर्माण गर्न करिब ११ करोड रुपैयाँ लाग्ने भन्दै हालसम्म दुई करोड ६० लाख रुपैयाँ खर्च भइसकेको र चालू आर्थिक वर्षमा संग्रहालय र पुस्तकालय भवन निर्माण गर्न संघीय सरकारको तीन करोड र गाउँपालिकाले २५ लाख रुपैयाँ विनियोजन गरेका थिए । प्राकृतिक विपत्बाट हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै नौ डायमिटरको डम्फु निर्माण भएको थियो । संग्रहालय भवन, पुस्तकालय भवन, पिकनिक स्थल, पार्किङ स्थल र बगैँचा निर्माण भएको थियो । सबै संरचना बाढीपहिरोले तहसनहस बनाएको छ ।

साना उद्योगलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित संघीय सरकारले सुरु गरेको औद्योगिक ग्राम निर्माणका लागि काभ्रेका पाँचखाल, धुलिखेल र रोशी छनोट भएको थियो । सोहीअनुसार रोशी गाउँपालिका– ११ कालढुंगामा औद्योगिक ग्रामको प्रशासनिक भवनसहितको संरचना निर्माण भएको थियो । करिब ७० रोपनी क्षेत्रफलमा औद्योगिक ग्राम तयार भएको थियो ।

औद्योगिक ग्राम निर्माणका लागि एक करोड २६ लाख रुपैयाँको टेन्डर आह्वान भएको थियो । संघीय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा तयार भएको औद्योगिक ग्रामको उद्घाटनअगावै रोशी खोलामा आएको बाढीले जगैसमेत बगाएको छ । ग्राम सञ्चालनपछि डेरी, मह, चियाकफी प्रशोधन, जडीबुटी प्रशोधन, काठ तथा बेतबाँसको फर्निचर, स्थानीयको मागमा आधारित रहेर उद्योगहरू सञ्चालन हुने आशा थियो । स्थानीयको सबै आशा र विश्वासमा ठेस लागेको छ । रोशी गाउँपालिकामा मात्रै १२ जनाको मृत्यु र ५२ जना घाइते भएका छन् ।

 १० शैयाको आधारभूत अस्पताल भवन
रोशी गाउँपालिका– १, खहरेपाँगुमा निर्माणाधीन १० शैयाको आधारभूत अस्पताल भवन । ६ करोड पाँच लाखमा अस्पताल निर्माणका लागि सम्झौता गरिएकोमा संघीय सरकारबाट तीन करोड ५० लाख मात्रै प्राप्त भएको थियो । संघीय सरकारबाट बजेट नआएपछि पुनः पुस मसान्तसम्म म्याद थप भएको थियो । निर्माणको अन्तिम चरणमा रहेको भवन रोशी खोलामा आएको बाढीपहिरोले उद्घाटनअगावै बगाएको छ ।

औद्योगिक ग्रामको प्रशासनिक भवन
रोशी– ११ कालढुंगामा रहेको औद्योगिक ग्राम । करिब ७० रोपनी क्षेत्रफलमा औद्योगिक ग्राम तयार भएको थियो । औद्योगिक ग्राम निर्माणका लागि एक करोड २६ लाख रुपैयाँको टेन्डर आह्वान भएको थियो । संघीय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा तयार भएको औद्योगिक ग्रामको उद्घाटनअगावै रोशी खोलामा आएको बाढीले जगैसमेत बगाएको छ । 

 डम्फु जीवन्त संग्रहालय 
तामाङ जातिको रहनसहन, वेशभूषा, संस्कृति, रीतिरिवाज तथा तामाङ जातिको जनजीवनमा प्रयोग हुने सामग्री र तामाङ भाषाका पुस्तक रहने गरी रोशी– ११ कालढुंगामा ‘डम्फु जीवन्त संग्रहालय पार्क’ निर्माण भएको थियो । करिब ११ करोड लाग्ने भन्दै हालसम्म दुई करोड ६० लाख रुपैयाँ खर्चमा संग्रहालय भवन, पुस्तकालय भवन, पिकनिक स्थल, पार्किङ स्थल र बगैँचा निर्माण भएको थियो । सबै संरचना बाढीपहिरोले तहसनहस बनाएको छ ।