१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १ बिहीबार
  • Thursday, 17 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक १ बिहीबार o६:२२:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रहरीकै मिलेमतोमा हनी ट्र्यापिङ : पक्राउ पुर्जी जारी भएपछि इन्स्पेक्टर शाही फरार

शाहीले नै लगिन् पक्राउ परेका आरोपी ताज इस्लामको मोबाइल र १० लाखको चेक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक १ बिहीबार o६:२२:oo

हनी ट्र्यापिङमा पारेर एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख असुलेको घटनामा पक्राउ पुर्जी जारी भएपछि इन्स्पेक्टर विनुकुमारी शाही फरार भएकी छिन् । ललितपुरको प्रहरी प्रभाग बुङमती (भैँसेपाटी)को प्रमुखमा कार्यरत रहँदा शाहीले गत ७ असोजमा एक व्यवसायीलाई पक्राउ गरी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख लेनदेन गरी छाडेकी थिइन् । उक्त घटनाबारे सूचना पाएपछि जिल्ला प्रहरी परिसर ललितपुरले छानबिन गर्दा मिलेमतो पुष्टि भएको थियो । 

घटनामा संलग्न गिरोहलाई सघाउने सहायक हवल्दार महेन्द्र हमाल पक्राउ परेको र इन्स्पेक्टर शाहीमाथि अनुसन्धान अघि बढेको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले बताए । डिएसपी नरहरि अधिकारी नेतृत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा इन्स्पेक्टर शाहीमाथि समेत फौजदारी अभियोग अघि बढेको हो ।

घटनामा उनको मिलेमतोका प्रशस्त आधार भेटिएको स्रोत बताउँछ । कतिसम्म भने गिरोहका नाइके ताज इस्लामको मोबाइल नै उनले गायब बनाएकी छिन् । ताजसहित सुष्मा विक र भीमादेवी थापालाई प्रहरीले यसअघि नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

बलात्कार मुद्दामा फसाइदिने भन्दै थुनामा राखेर मिलापत्र गराएको सूचना पाएपछि ललितपुर परिसरले सबैलाई जिल्लामा ल्याउन भनेको थियो । लगत्तै इन्स्पेक्टर शाहीले ताजको मोबाइल र मिलापत्रमा दिइएको १० लाखको चेक आफूले लिएर गायब बनाएकी हुन् । यो विषय ताजले बयानमै उल्लेख गरेका छन् ।

आफूसँग मोबाइल मागेर लगेको र फिर्ता नगरेको उनले बताएका छन् । ताजको मोबाइलमा उनीहरूबिच पहिलेदेखि भएका कुराकानीका विवरण थिए । ताजको अन्य प्रहरी अधिकारीसँगको सम्पर्कसमेत बाहिर आउने भएपछि त्यसरी मोबाइल गायब बनाइएको स्रोत बताउँछ । ललितपुर प्रहरी स्रोतका अनुसार अर्की आरोपी सुष्मा विकको मोबाइलमा रहेका घटनासम्बन्धी प्रमाणसमेत उनले नै मेटाएकी छिन् । 

इन्स्पेक्टर शाहीले छानबिन समितिसमक्ष बयान दिनसमेत अस्वीकार गरेकी थिइन् । सुनसरीमा भएको भनिएको बलात्कारको घटनामा उनले भैँसेपाटीमा ल्याएर थुनामा राख्नुले नै पूर्वयोजनाअनुसार नै उनको मिलेमतो देखिएको छ । त्यसरी पक्राउ गरिएको र मिलापत्र गरिएकोबारे माथिल्लो कार्यालयलाई जानकारीसमेत दिइएको थिएन । 

उनकै चालकका रूपमा कार्यरत सहायक हवल्दार हमालले पक्राउ परेका व्यवसायीलाई खातामा पैसा हाल्न बैंकमा लिएर गएका थिए । साथै, मिलापत्रमा पनि उनीहरूले सहजीकरण गरेको छानबिनमा खुलेको छ । कुटपिट गरेको भनेर उजुरी हाल्न लगाए पनि त्यस विषयमा कुनै छलफल नगरी बलात्कार मुद्दामा जाहेरी दिने भन्दै तर्साएर ६० लाख मागिएको थियो । त्यसमध्ये २० लाख ती व्यापारीले खातामा डिपोजिट गरिदिएका थिए भने १० लाखको चेक दिएका थिए ।

३० लाख नदिएसम्म इन्स्पेक्टर शाहीले ती व्यापारीको गाडीसमेत प्रहरी प्रभागमै राखेकी थिइन् । साथै, मिलापत्र गरिदिएबापत थप डेढ लाख रुपैयाँ लिएको बताए पनि उक्त पैसा भेटिएको छैन । घटनाको एक सातापछि इन्स्पेक्टर शाहीलाई निलम्बन गरिएको थियो । घटना संगठित प्रकृतिको देखिएकाले संगठित अपराधसम्बन्धी कसुरमा समेत अनुसन्धान गर्नेबारे प्रहरीले छलफल गरिरहेको छ । हाल आपराधिक लाभ मुद्दामा अनुसन्धान भइरहेको छ । 

एसपी पनि छानबिनमा 
हनी ट्र्यापिङमा फसाउने गिरोहसँग नेपाल प्रहरीकै एसपी कमल थापाको पनि शंकास्पद भूमिका देखिएको छ । उनीमाथि छुट्टै समितिमार्फत छानबिन गर्न सिफारिस भएको छ । घटनाको दिन मुख्य आरोपी ताज र एसपी थापाबिच एयरपोर्टको एक रेस्टुरेन्टमा भेट भएको थियो । साथै ताज र इन्स्पेक्टर शाहीबिच समेत उनले नै चिनजान गराइदिएर ती व्यापारीलाई थुन्न लगाएको छानबिनमा खुलेको छ ।

ताजको मोबाइल नै गायब बनाइएकाले एसपीसँगको उनको सम्बन्धबारे विस्तृत खुल्न सकेको छैन । एसपी थापा सुनसरीको प्रहरी प्रमुखका रूपमा हुँदा ताजसँग नजिकिएका थिए । सोही समूहको हनी ट्र्यापिङको अर्काे घटनामा पनि छानबिन भइरहेको छ ।

गत जेठमा ताजनिकट एक युवतीले ठेकेदार विदुर शर्माविरुद्ध समेत दरबारमार्ग वृत्तमा जाहेरी दिएकी थिइन् । पछि १६ लाख लेनदेन गरी जाहेरी फिर्ता गराउन लागिएको खुलेको छ । दोलखाका गणेश उप्रेतीको योजनामा त्यसरी शर्मालाई हनी ट्र्यापिङमा फसाइएको पुष्टि भइसकेको छ । यसमा पनि एसपी थापाको भूमिकामाथि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ । एसपी थापा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् ।