१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
अजित अधिकारी काठमाडाैं
२o८१ कार्तिक ७ बुधबार १o:५७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तिहारमा खपत हुने २५ लाख माला आन्तरिक उत्पादनबाटै 

पछिल्लो समय युरोप र अमेरिकामा रहेका नेपालीले समेत  मखमली माला मगाउन थालेका छन् 

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार १o:५७:oo

तिहारमा खपत हुने २५ लाख मालाको जोहो गर्न किसान र व्यवसायी जुटेका छन् । तिहारमा माग हुने फूल र मालामा पछिल्लो ५–६ वर्षदेखि आत्मनिर्भर भएकाले गाउँका कान्लादेखि सहरका नर्सरीसम्म फूलहरू फुलाएर राखिएको फ्लोरिकल्चर एसोसिएसनका पूर्वअध्यक्ष कुमार कसजू श्रेष्ठले जानकारी दिए । ‘तिहारको खपतका लागि फूलहरू ढकमक्क फुलेर तयार छन् । अब केही दिनमा टिपेर माला उन्ने तथा गुच्छा बनाउने काम सुरु हुन्छ,’ उनले भने ।

मखमली फूल भने टिप्न सुरु भइसकेको उनले जानकारी दिए । सयपत्रीको तुलनामा ढिला ओइलाउने र विदेशसमेत निर्यात हुने भएकाले मखमली फूलको कारोबार छिटो सुरु हुने गरेको उनले बताए । ‘तिहारमा सबैभन्दा बढी सयपत्री फूलको माला र गुच्छा खपत हुन्छ,’ उनले भने ।

सहरी क्षेत्रमा व्यावसायिक रूपले सयपत्रीको माला मात्रै २० देखि २२ लाखवटासम्म खपत हुने गरेको एसोसिएसनको तथ्यांक छ । ‘गाउँघरमा आफ्नै बारीमा फुलाएको फूलले माला उन्नेबाहेक मात्रै २२ लाखवटाजति सयपत्री मालाको कारोबार हुन्छ,’ उनले भने, ‘मखमली र गोदावरीको थप तीन लाखजति मालाको बजार छ ।’

काठमाडौंमा सबैभन्दा बढी फूल र मालाको कारोबार हुने गरेको छ । उपत्यकाका तीन जिल्लामा प्रशस्त फूलखेती हुने गरे पनि तिहारमा हुने उच्च माग धान्न मुस्किल हुने भएकाले बाँके, बर्दिया, कैलाली, सिन्धुली, मकवानपुर, कास्की, तनहुँलगायतका जिल्लाबाट ल्याइने गरिएको छ । काठमाडौं ल्याइएको फूलबाट माला बनाएर पुनः पोखरा, भैरहवालगायतका ठूला सहरमा पठाउने गरिएको श्रेष्ठले जानकारी दिए । ‘दक्ष कामदार काठमाडौंकेन्द्रित छन् । त्यसैले बाहिरी जिल्लाबाट फूल मगाएर माला बनाउने र पुनः त्यतै पठाउनेसमेत गरिन्छ,’ उनले भने ।

व्यवसायीले भारतबाट अवैद्य रूपमा आयात हुने फूलको माला नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका छन् । खुला बोर्डरबाट आयात हुने भारतीय फूलका माला तराईका जिल्लामा छ्याप्छ्याप्ती पाइने गरिएको छ ।

डेढ लाख मखमली माला निर्यात हुने
विगतमा जस्तै यो वर्ष पनि डेढ लाखवटासम्म मखमली माला विदेशमा निर्यात हुने व्यवसायीको अपेक्षा छ । अहिलेदेखि नै विभिन्न देशबाट अर्डर आउन थालेको फ्लोरिकच्चर एसोसिएसनका अध्यक्ष कुमार कसजू श्रेष्ठले जानकारी दिए । ‘भाइटीका लगाउनका लागि विदेशमा रहेका नेपालीले मखमली माला अर्डर गर्नुहुन्छ,’ उनले भने, ‘अस्ट्रेलिया र हङकङबाट सबैभन्दा बढी माग हुन्छ ।’

पछिल्लो समय युरोप र अमेरिकामा रहेका नेपालीले समेत नेपालबाट मखमली माला लैजान थालेका छन् । यी देशमा रहेका अधिकांश नेपालीले आफन्तजनबाट माला मगाउने गरेको श्रेष्ठको अनुभव छ ।