१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
न्युयोर्क टाइम्स
२o८१ कार्तिक ७ बुधबार o९:३२:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिकी राष्ट्रपति चुनावमा एक करोड ७० लाखले गरिसके मतदान

Read Time : > 1 मिनेट
न्युयोर्क टाइम्स
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार o९:३२:oo

अमेरिकामा राष्ट्रपतीय चुनावको मुख्य मतदानको दिन आउन अब दुई हप्ता मात्र बाँकी रहँदा एक करोड ७० लाखभन्दा बढी मतदाताले आफ्नो मत जाहेर गरिसकेका छन् । अग्रिम मतदानको यस उच्च संख्याले कोरोना भाइरस महामारीका कारण अमेरिकीमा अग्रिम मतदानको बानी बलियो गरी गढेको र अग्रिम मतदान सधैँका लागि अमेरिकी लोकतान्त्रिक प्रक्रियाको स्थायी विशेषता भएको संकेत गरेको छ । 

अमेरिकाका पचास राज्यमा अग्रिम निर्वाचनको अलग–अलग व्यवस्था छ । केही राज्यमा अग्रिम मतदानको व्यवस्था नै छैन । अग्रिम निर्वाचनको व्यवस्था भएका राज्यमा धेरैमा पनि मुख्य निर्वाचन हुने दिनको एक महिनाअघिदेखि वा दश दिनअघिसम्मबाट निर्वाचन खुला गरिन्छ । त्यस्तै अग्रिम मतदान गर्न चाहनेका लागि दुवै विकल्प उपलब्ध छन्, इमेलमार्फत गरिने मतदान र मुख्य चुनावअघि नै खुलेका मतदान केन्द्रमा मतदाता आफैँ गएर गरिने मतदान ।

सन् २०२० को राष्ट्रपतीय चुनावको समयमा विश्व कोरोना महामारीबाट गुज्रिरहेको थियो । महामारीको समयमा भिड गराउँदा खतरा उत्पन्न हुने डरले त्यतिवेला धेरैले अग्रिम मतदानमा भाग लिए । सन् २०२० को चुनावमा देशभर मतदान गर्ने बानीमा व्यापक परिवर्तन देखिएको थियो, जुन वर्ष झनडै ६ करोड ५६ लाख मतदाताले इमेलमार्फत मतदान गरे भने थप तीन करोड ५८ लाख मानिसले आफैँ चुनावको मुख्य दिनअघि नै मतदान केन्द्रमा गएर भोट दिए । अहिले विश्व महामारीबाट बाहिरिसकेको अवस्थामा पनि धेरै अमेरिकी मतदाताले अग्रिम मतदान रोज्नुले यो बलियो गरी बानीमा विकास भएको संकेत गर्छ । अग्रिम मतदान विकल्पहरू विस्तार गर्ने नयाँ कानुनले पनि यस उच्च संख्यामा योगदान गरेको हुन सक्छ । 

यसपटक धेरै राज्यमा अग्रिम मतदानको पहिलो दिनमा उच्च मतदानको रेकर्ड बनेका छन् । बिहीबार राष्ट्रपतीय चुनावमा महत्वपूर्ण भूमिका निभाउने ‘स्विङ स्टेट’मध्ये एक उत्तरी क्यारोलिनामा तीन लाख ५३ हजार मतपत्र खसेका थिए । जबकि, राज्य अझै ‘हेलेन’ नामक समुद्री आँधीको असरबाट पूर्ण बाहिरिसकेको छैन । त्यस्तै शुक्रबार लुइसियाना राज्यमा लगभग एक लाख ७७ हजार मतदाताले मतदान गरे, जुन यस राज्यको लागि कीर्तिमान हो । अग्रिम मतदान प्रवृत्तिको परिवर्तन जर्जियामा सबैभन्दा स्पष्ट देखियो, जहाँ मंगलबारदेखि अग्रिम मतदान खुलेदेखि लगभग हरेक दिन मतदाताले रकेर्ड मतदानको दैनिक रेकर्ड बनाइरहेका छन । चुनावी परिणाममा महत्वपूर्ण प्रभाव पार्ने यस राज्यमा झन्डै १५ लाखभन्दा बढी मतदाताले अग्रिम मतदान गरेका छन् ।