१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ७ बुधबार १२:१३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय मुद्दामा एकढिक्का भएर प्रस्तुत हुने सत्तारूढ दलहरूको निष्कर्ष

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार १२:१३:oo

सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरूको बुधबारको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणाका साथ एकढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवाप्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ काम गरिरहेको अवगत गराइएको छ। प्रधानमन्त्री केपी ओलीले सरकारको सय दिन पुगेको अवसरमा आज दिउँसो ३ बजे सिंहदरबारबाट समग्र कामको उपलब्धिबारे सम्बोधन गर्नेबारे बैठकलाई जानकारी गराइएको छ।

बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय छानबिन समितिबाट सर्वसम्मत रूपमा तयार गरेको प्रतिवेदन कार्यान्वयनका क्रममा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेतलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको जानकारी गराए। उनले फौजदारी घटनामा न्यायिक छानबिन भइरहेका वेला अदालत र सरकारलाई दबाब दिने हिसाबले भइरहेका विरोध प्रदर्शन उचित नभएको बताएका थिए। यस्ता घटनाका विषयमा सत्तामा रहेका दलहरूले आ–आफ्नातर्फबाट वक्तव्य जारी गरी न्यायिक छानबिन र लोकतान्त्रिक पद्धतिलाई निष्पक्ष रूपमा अगाडि बढाउन आग्रह गर्ने भन्नेमा बैठकमा समझदारी भएको छ।

सरकारको हालसम्मको काम र आगामी योजनालगायत विषयमा यही कात्तिक ९ गते शुक्रबार दिउँसो ३ बजे अर्को बैठक गरी साझा धारणा सार्वजनिक गर्ने पनि आजको बैठकबाट तय भएको सत्तारूढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री ओलीले सत्तासमीकरणमा रहेका दलहरू एकता र एकढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिँदै लोकतान्त्रिक पद्धति, मूल्य र मान्यताप्रति आफूहरू प्रतिबद्ध रहेको स्पष्ट गर्दै राष्ट्रिय सदभाव र हितको रक्षाका प्रश्नमा कुनै सम्झौता नहुने बताए।

बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री लेखक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव पोखरेल, जनता समाजवादी पार्टीकी सहअध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलगायत सहभागी थिए।