१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
दीपक भट्ट रामेछाप
२o८१ कार्तिक ७ बुधबार १२:४८:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

सुनापति गाउँपालिकाले बाढी प्रभावित परिवारलाई नगद र जस्तापाता दिने

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार १२:४८:oo

असोज १०, ११ र १२ गते परेको अविरल वर्षाका कारण घरवारविहीन भएका नागरिकलाई सुनापति गाउँपालिकाले घर निर्माणका लागि जस्तापात र चौपाया मरेका किसानको हकमा नगद दिने निर्णय गरेको छ। पालिकाका अध्यक्ष ठुलाकान्छा तामाङको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

बैठकले अविरल वर्षाका कारण घर भत्किएर बसोवास गर्न नमिलेका, पशु चौपाया, खेतबारीसहित अन्नबालीको क्षति व्यहोरेका पीडितलाई नगद र जस्तापाता सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाकी उपाध्यक्ष गीता विष्ट चौलागाईंले जानकारी दिइन्।

उनले भनिन्, ‘सुनापति गाउँपालिकामा वर्षाका कारण घरवारविहीन बन्न पुगेका नागरिकको वडा कार्यालयमार्फत तथ्यांक संकलन गरी पालिकाको विपत् व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि– २०७८ अनुसार राहत प्रदान गर्ने निर्णय गरेका छौँ ।’ तत्कालका लागि अस्थायी आवास निर्माणका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पेस गर्ने र तत्कालै गाउँपालिकाबाट घर पूर्ण क्षति भएर बसोवास गर्न समस्या भएका परिवारलाई तत्काल तीन बन्डल जस्तापाता दिने निर्णय गरिएको उपाध्यक्ष विष्टले बताइन्।

बैठकले हाल वैकल्पिक व्यवस्था गरी बसोवास गर्दै आएका प्रभावितलाई दुई बन्डल जस्तापाता दिने निर्णय गरेको छ । त्यसैगरी, पहिरोमा पुरिएर मरेका चौपायाको समेत राहत रकम दिने निर्णय गरेको हो। पहिरोमा परी मरेका एक भैँसीबराबर २० हजार नगद, गोरु र गाई मरेकामा प्रतिगोटा १२ हजारका दरले, प्रतिबाख्रा आठ हजार, बाख्राको पाठापाठीको हकमा दुई हजारका दरले नगद प्रदान गर्ने निर्णय गरेको छ।

उक्त निर्णयपश्चात् अहिले पालिकाका पाँचवटै वडामा विवरण संकलन गर्न कर्मचारीहरू परिचालन गरिएको र विवरण प्राप्त हुनासाथ निर्णयअनुसारका राहत वितरण गर्ने गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिए।