१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
२o८१ कार्तिक ७ बुधबार १४:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भिड जम्मा गरेर छानबिन प्रभावित नगर्न रास्वपालाई सत्तागठबन्धनको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार १४:२o:oo

सत्तारूढ दलले छानबिनको प्रक्रिया चलिरहँदा सडकमा भिड जम्मा गरेर छानबिनको प्रक्रियालाई प्रभावित नगर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई आग्रह गरेको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकबारे जानकारी दिँदै एमाले महासचिव शंकर पोखरेलले भिड जम्मा गरेर अदालतलाई प्रभावित गर्नु लोकतन्त्रका लागि उचित नहुने बताए।

‘छानबिन र न्यायिक निरुपणको आफ्नो विधि र प्रक्रिया हुन्छ। त्यस अर्थमा छानबिनको प्रक्रिया अघि बढिरहेको वेलामा सडकमा भिड जम्मा गरेर छानबिनको प्रक्रियालाई प्रभावित गर्ने र अदालतलाई समेत प्रभावित गर्ने हिसाबले गतिविधि गर्ने कुरा लोकतान्त्रिक दृष्टिकोणले पनि उचित होइन,’ पोखरेलले भने, ‘कानुनी राज्यका दृष्टिकोणले भन्ने हो भने फौजदारी अभियोगमा छानबिन चलिरहेका वेलामा सडकबाट छानबिनको प्रक्रियालाई प्रभावित गर्ने खालको कुरा उचित होइन।’

अहिले प्रतिपक्षमा रहेका तीन दलसमेतको सहमतिमै सहकारी ठगीसम्बन्धी प्रतिवेदन तयार भएको स्मरण गराउँदै पोखरेलले सोही प्रतिवेदनका आधारमा छानबिन प्रक्रिया अघि बढेको बताए।

‘छानबिन समितिमा रहेका दलहरूले नै प्रश्न उठाउने कुरा नैतिक रूपमा उचित होइन। किनकि उहाँहरूले नै छानबिन गरी सहमतिका आधारमा प्रतिवेदन तयार गर्ने र त्यही  प्रतिवेदनका आधारमा छानबिनको प्रक्रिया अघि बढ्दा त्यसमा प्रश्न उठ्ने कुरा उचित होइन,’ उनले भने।

नयाँ दल रास्वपाले गलत राजनीतिक संस्कार देखाएको टिप्पणी गर्दै महासचिव पोखरेलले नेपालको लोकतान्त्रिक प्रक्रियामा यसप्रकारको गलत तरिका विगतमा कहिल्यै नभएको दाबी गरे। अहिले गरिएका छानबिनका विषयमा प्रश्न भए अदालतमै गएर प्रश्न उठाउन उनले आग्रह गरेका छन्।