१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
दक्षिण कोरियाका उपविदेशमन्त्री किम हङ क्युनले रुसी राजदूत गिओरगी जिनोभिभसँग विरोध जनाउँदै । 
२o८१ कार्तिक ७ बुधबार o९:३९:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

उत्तर कोरियाले युक्रेनमा सेना पठाउने भएपछि दक्षिण कोरियाले हतियार सहयोग गर्ने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार o९:३९:oo

उत्तर कोरियाले युक्रेनमा जारी युद्धमा रुसको पक्षमा लड्न सेना पठाउन लागेको आरोपपछि अब दक्षिण कोरियाले रुस र उत्तर कोरियाबिचको सैन्य सहयोगविरुद्ध जवाफी कदम चाल्ने चेतावनी दिएको छ । 

मंगलबार दक्षिण कोरियाली अधिकारीले रुस र उत्तर कोरियाबिचको सैन्य गठबन्धनले अन्तर्राष्ट्रिय रूपमा जोखिम निम्त्याउने बताउँदै आफूहरूले पनि युक्रेनलाई हतियारको सहयोग दिनेदेखि साझेदार देशसँग मिलेर अन्य सम्भावित प्रतिरोधी कदम चाल्ने वाचा गरेको छ ।

दक्षिण कोरियाको जासुसी एजेन्सीले केहीअघि उत्तर कोरियाली विशेष सैन्य बल युक्रेनमा तैनाथीको तयारीका लागि सुदूरपूर्व युक्रेनमा प्रशिक्षणका लागि गएको सार्वजनिक गरेको थियो । एजेन्सीका अनुसार उत्तर कोरियाले युक्रेनमा रुसको पक्षमा लड्न एक हजार ५०० सैनिक पठाउन लागेको छ । आरोपसँगै दक्षिण कोरियाले सोमबार रुसी राजदूतलाई सियोलमा बोलाएर यस विषयमा प्रश्न गरेको छ । उत्तर कोरियाले सियोलको आरोपलाई ‘निराधार अफवाह’ भनी खारेज गरेको छ । तर, सियोलले भने मंगलबार उत्तर कोरियाको खण्डन विश्वसनीय नभएको भन्दै कारबाहीमा अघि बढ्ने वाचा गरेको छ । 

‘युक्रेनमा जारी रुसको गैरकानुनी आक्रामक युद्धमा सेना पठाउनु दक्षिण कोरियाको लागि मात्र नभई अन्तर्राष्ट्रिय समुदायका लागि नै ठुलो सुरक्षा खतराको विषय हो,’ दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले भन्यो, ‘युक्रेनमा उत्तर कोरियाली सेनाको तैनाथीपछि, हाम्रो सरकारले चरणबद्ध जवाफी कदम लागू गर्नेछ ।’ 

दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलको कार्यालयका एक वरिष्ठ अधिकारीका अनुसार रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना परिचालनको जवाफमा कूटनीतिक, आर्थिक र सैन्य उपाय तयार भइरहेका छन् । नयाँ घटनाक्रमको विकास भएको सन्दर्भमा अब दक्षिण कोरियाले युक्रेनलाई हतियार नपठाउने भनेर पहिले गरेका निर्णयमाथि पनि पुनः विचार गर्न सक्छ । 

सियोलले हालसम्म युक्रेनलाई मानवीय सहायता मात्र प्रदान गर्दै आएको छ । उसलाई पहिलेदेखि नै पश्चिमी साझेदार राष्ट्र र किभले हतियार सहयोगका लागि दबाब दिँदै आएका छन् । ‘हामी अब चरणबद्ध रूपमा प्रतिरक्षात्मक हतियार आपूर्ति गर्ने विषयमा छलफल गर्नेछौँ । यदि उनीहरूले सीमा नाघ्दै गए भने हामी पनि आक्रामक अभियानमा प्रयोग गरिने हतियार आपूर्तिबारे विचार गर्नेछौँ,’ दक्षिण कोरियाली अधिकारीले पत्रकारलाई भने । 

हालैका महिनामा रुसी सेनालाई हतियार आपूर्ति गरिरहेको भन्ने दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले लगाइरहेको आरोपलाई उत्तर कोरियाले अस्वीकार गर्दै आएको छ । अब सेना पठाउन लागेको भन्ने आरोपलाई पनि उत्तर कोरियाले सोमबार खण्डन गरेको छ । 

‘रुससँग तथाकथित सैन्य सहयोगको सन्दर्भमा मेरो प्रतिनिधिमण्डल त्यस्ता आधारहीन, पूर्वाग्रहपूर्ण अफवाहप्रति टिप्पणी गर्नसमेत आवश्यकता ठान्दैन,’ संयुक्त राष्ट्र संघको महासभाको एक समितिको बैठकमा बोल्ने क्रममा उत्तर कोरियाली प्रतिनिधिले भने । ‘उत्तर कोरियालाई बदनाम गर्न र दुई सार्वभौम राज्यबिचको वैध, मैत्री र सहयोगी सम्बन्धलाई कमजोर पार्ने उद्देश्य’ले सियोलको आरोप आएको ती प्रतिनिधिले भने । 

रुसले प्योङयाङको सेना तैनाथ गरेको पुष्टि गरेको छैन । तर, सोमबार उसले उत्तर कोरियासँगको आफ्नो सैन्य सहयोगको प्रतिरक्षा गर्दै उक्त सहकार्य दक्षिण कोरियाको सुरक्षाको हितविरुद्ध निर्देशित नभएको स्पष्टीकरण दियो । सन् २०२२ मा युक्रेनमाथिको आक्रमणले उनीहरूलाई नजिक बनाएको छ ।