१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024
टम गिन्सबर्ग/अजिज हक
२o८१ कार्तिक ६ मंगलबार o९:o८:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पुन: निर्वाचित भए थप घातक हुनेछन् ट्रम्प 

Read Time : > 2 मिनेट
टम गिन्सबर्ग/अजिज हक
नयाँ पत्रिका
२o८१ कार्तिक ६ मंगलबार o९:o८:oo

ट्रम्पले अर्को मौका पाए भने अघिल्लो राष्ट्रपतीय कार्यकालको अनुभवबाट लाभ पाउनेछन् र थप निर्मम हुनेछन्

के ट्रम्पको दोस्रो राष्ट्रपतीय कार्यकालले अमेरिकी लोकतन्त्रलाई खतरामा पार्न सक्छ ? कतिपयले ट्रम्प एकदमै ‘कमजोर’ वा तानाशाह हुनका लागि पर्याप्त रूपमा चतुर नभएको तर्क गर्छन्, तर इतिहासले केही भिन्न उदाहरण देखाउँछ । अन्य देशलाई हेर्दा निरंकुश प्रवृत्ति भएका राजनीतिक आन्दोलन सत्ता गुमाएपछि प्रायः निर्मम हुन्छन् । पहिलो–अवधिपछिको हारले नेता वा पार्टीलाई कट्टरपन्थी बनाउन सक्छ अर्थात् उनीहरूलाई फेरि कहिल्यै नहार्न सुनिश्चित हुन प्रेरित गर्छ । जब यी शक्तिले सत्ता पुनः प्राप्त गर्छन्, तब तिनले आफूमाथि नियन्त्रण गर्न वा चुनौती दिन सक्ने संस्थालाई भत्काउन तीव्र रूपमा काम गर्छन् ।

भिक्टर ओर्बनको फिडेज पार्टीले हंगेरीमा दुईपटक शासन गरेको छ । आफ्नो पहिलो कार्यकाल (सन् १९९८देखि २००२)का दौरान ओर्बनले मूल धारको युरोपेली पुरातनपन्थलाई धेरै हदसम्म पछ्याएका थिए । तर, सन् २००२ मा पराजित भएर आठ वर्ष प्रतिपक्षमा बिताएपछि उनी फेरि नहार्ने संकल्प गर्दै सन् २०१० मा सत्तामा फर्किए । आफूअनुकूल निर्वाचन क्षेत्रमा हेरफेर, मतदाता नियमावलीमा परिवर्तन गरेर र निर्वाचन आयोग, अदालत एवं राज्य स्वामित्वको मिडियामाथि नियन्त्रण लिएका ओर्बनलाई विपक्षीले पराजित गर्न लगभग असम्भव बन्यो ।

यस्तै अवस्था पोल्यान्डमा ल एन्ड जस्टिस (पिआइएस) पार्टीमा देखा परेको थियो । यसको स्थापना जरोस्लअ र लेक क्याकिन्स्कीले गरेका थिए । सन् २००५ देखि २००७ सम्मको सत्तामा पिआइएसले आर्थिक असमानता र क्याथोलिक मूल्यमा ध्यान केन्द्रित गरेको थियो । सन् २०१० मा सत्ता गुमाएपछि र पिआइएसका सह–संस्थापक लेकको हवाई दुर्घटनामा मृत्यु भएपछि जरोस्लअले केही काल्पनिक र वास्तविक शत्रुमाथि आक्रमण बढाए । पिआइएसले २०१५ मा संसदीय बहुमत प्राप्त गरेपछि यसले पोल्यान्डका लोकतान्त्रिक संस्थालाई ध्वस्त पार्ने प्रयासका लागि मार्गप्रशस्त गर्‍यो । 

सरकारले संवैधानिक न्यायाधीकरणलाई आफूअनुकूल बनायो, चुनावी क्षेत्र पुनः निर्धारण गर्‍यो र मिडिया, आयोग एवं न्यायिक नियुक्तिमा नियन्त्रण लियो । राज्य स्वामित्वको मिडिया पिआइएसको एक फगत संयन्त्र बन्यो र विपक्षी दललाई प्रमुख संसदीय भूमिकाबाट हटाइयो । 

अर्को उदाहरणका रूपमा भारतको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)लाई लिन सकिन्छ । भाजपा सन् १९८९ मा छोटो समयका लागि सत्तामा थियो, तर सन् १९९९ देखि २००४ सम्म अटल बिहारी वाजपेयीको नेतृत्वमा एकमना सरकार चलाएको थियो । यो सरकार आर्थिक उदारीकरण र पाकिस्तान एवं चीनसँगको सम्बन्ध सुधारमा केन्द्रित थियो र देशलाई ‘भगवाकरण’ गर्ने यसको प्रयास निकै सीमित थियो । निष्पक्ष चुनावमा भाजपाले सत्ता गुमाएपछि नरेन्द्र मोदीले सन् २०१४ मा भाजपालाई ठुलो जित दिलाए । प्रधानमन्त्रीका रूपमा मोदीले आर्थिक सुधार जारी राखे पनि प्रेस स्वतन्त्रतालाई कमजोर पारे, आलोचकमाथि आक्रमण गरे, र मुसलमान एवं अन्य काल्पनिक शत्रुविरुद्ध हिन्दु समूहको हिंसालाई अनदेखा गरे ।

सन् २०१९ मा मोदीले विवादित एवं मुसलमान बाहुल्य कस्मिरको विशेष दर्जा खारेज गरे र त्यहाँ सैन्य शासन लगाए । मुसलमानलाई बेवास्ता गर्ने नागरिकता कानुन पारित गरियो । बहुसंख्यकलाई तुष्टीकरण गर्ने यो राजनीतिले भाजपालाई हराउन गाह्रो बनायो । हालैको चुनावमा भाजपा कमजोर भए पनि अन्तर्राष्ट्रिय निगरानीकर्ताले मोदीको हालको भारतलाई चुनावी निरंकुशताको रूपमा वर्गीकृत गरेका छन् । उल्लिखित तीनै मामिलामा समानता भनेको एक लोकप्रिय नेताले विरोधीलाई सत्ताका लागि विश्वास गर्न सकिन्छ भन्ने विचारलाई अस्वीकार गर्छ । यी लोकप्रिय नेता वा दलको पराजयले लोकतन्त्रविरोधी क्रोधलाई उत्तेजित गर्छ । र, जब आफ्नो निरंकुशताको ध्येय पूरा गर्छन्, यी दक्षिणपन्थी शक्ति लोकतान्त्रिक संस्थालाई ध्वंस गर्न उद्यत हुन्छन् ।

ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ (मागा) अभियान र भाजपा, पिआइएस र फिडेजजस्ता पार्टीबिचको समानता स्पष्ट छ । उल्लिखित पार्टी सत्तामा पुनः फर्किंदा जसरी परिवर्तन भए, त्यसरी नै रिपब्लिकन पार्टीले आफ्नो रेगन युगको पहिचान तोडेर नाटकीय रूपान्तरण भएको छ । उसो त ट्रम्पको चुनावी बयान र सन् १९७० एवं १९८० को रिपब्लिकन पार्टीको दक्षिणी क्षेत्रको रणनीतिबिच सम्बन्ध छ, तथापि राजनीतिक रूपमा बाहिरिया रहेका ट्रम्पले (सन् २०१६ मा मात्रै राजनीति थालेका) पार्टी संस्थापनलाई चकनाचुर पारेका छन् । सन् २०२४ को रिपब्लिकन पार्टीको राष्ट्रिय अधिवेशनले पार्टीलाई एक व्यक्तिवादी पार्टीका रूपमा प्रस्तुत गर्‍यो, जुन सन् २००८ वा २०१२ को भन्दा एकदमै फरक थियो । फिडेज, पिआइएस र भाजपाझैँ ‘मागा’ २०१६ मा एक अनुभवहीन अभियान थियो । ट्रम्पकालमा यो अभियान सरकारी शक्ति चलाउन संघर्ष गर्दै थियो । यद्यपि यो अभियानले अर्को मौका पाए अघिल्लो राष्ट्रपतीय कार्यकालको अनुभवबाट लाभ पाउनेछ । हाल प्रोजेक्ट २०२५ को खाका तयार गरेको हेरिटेज फाउन्डेसनजस्ता सम्बद्ध संस्था ट्रम्पको अघिल्लो कार्यकालभन्दा बढी तयार छन् ।

फिडेज, पिआइएस र भाजपाझैँ चुनावी पराजयले रिपब्लिकन पार्टी नरम बनेको छैन । यसको जनाधारले ती उम्मेदवारलाई समर्थन गर्न जारी राख्छ, जसले ट्रम्पको लोकतन्त्रविरोधी विचार बोक्छन् र निष्पक्ष चुनावलाई अस्वीकार गर्छन् । ओर्बनलाई ‘मागा’ अभियानले गरेको प्रशंसाले यो प्रवृत्तिलाई प्रतिबिम्बित गर्छ । रिपब्लिकन पार्टीले हंगेरी, पोल्यान्ड र भारतको जस्तै मार्ग अनुसरण गरेको छ । ट्रम्पका सीमितताका बाबजुद उनी अब प्रतिभा र अनुभवसाथ एक अभियानको नेतृत्व गर्छन् र सत्तालाई पुनः प्राप्त गर्ने ल्याकत राख्छन् ।

(गिन्सबर्ग सिकागो विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुन एवं राजनीतिशास्त्रका र हक कानुनका प्राध्यापक हुन्) 
प्रोजेक्ट सिन्डिकेटबाट