१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ६ मंगलबार १९:५७:oo
Read Time : > 1 मिनेट
समाचार

भिस्टाराको जहाजमा ‘बम’ राखेको हल्ला मात्रै, शंकास्पद वस्तु भेटिएन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ६ मंगलबार १९:५७:oo

भारतको नयाँ दिल्लीबाट मंगलबार दिउँसो साढे दुई बजे भिस्टारा एयरलाइन्सको ए३२० कल साइनको जहाज १५७ यात्रु बोकेर काठमाडौंका लागि ‘टेकअफ’ लियो । जहाज उडिसकेपछि अज्ञात समूहबाट भिस्टाराकै काठमाडौंस्थित कार्यालयमा कार्यरत एक कर्मचारीलाई जहाजमा ‘बम’ राखेको भन्दै फोन आयो । साढे ४ बजेतिर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग¥यो, ती कर्मचारीले हस्याङफस्याङ गर्दै विमानस्थलको टर्मिनल कार्यालयलाई जहाजमा कसैले बम राखेको भन्दै फोन आएको जानकारी गराए ।

जहाज अवतरण गरेर ‘पार्किङ ‘वे’मा आइसकेपछि ‘बम’ राखेको सूचना थाहा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । विमानस्थलमा नेपाल आर्मीको बम डिस्पोजल टिम, आर्मी र पुलिसका तालिमप्राप्त कुकुरह ‘अलर्ट’ अवस्थामै हुन्छन् । लगत्तै सुरक्षाकर्मीले जहाजलाई नियन्त्रणमा लिएर ‘पार्किङ वे’बाट अलग्यै राखेर खानतलासी सुरु गरे । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार कुनै पनि जहाजमा बम वा अन्य कुनै खतराजन्य वस्तु राखेको सूचना आएपछि सुरक्षाकर्मीले जहाज नियन्त्रणमा लिएर खानतलासी गर्ने अन्तर्राष्ट्रिय प्रोटोकल हुन्छ । 

आर्मी र पुलिसले आ–आफ्नो प्रोसिड्योरअनुसार जहाजको खानतलासी सुरु गरे । केही समय अरु उडान पनि अवरुद्ध भए । जहाज पार्किङ वेमा आउने बित्तिकै सर्च अभियान सुरु भयो । सुरुमा यात्रु, यात्रुको ह्यान्ड ब्याग खानतलासी गरेर बाहिर पठाइयो । त्यसपछि जहाजमा रहेका यात्रुका लगेज र कार्गो चेकजाँच भयो । दुई घण्टा लगाएर जहाजको बाहिर–भित्र सबैतिर विस्तृत चेकजाँच गर्दा कुनै शंकास्पद वस्तु फेला परेन । अर्थात जहाजमा ‘बम’ राखेको सूचना हल्ला मात्रै थियो ।

सुरक्षाकर्मीले खानतलासी गर्दा कुनै पनि शंकास्पद वस्तु नभेटेपछि साढे ६ बजे जहाजलाई उडानका लागि  ‘रिलिज’ गरेको महाप्रबन्धक निरौलाले बताए । जहाज यात्रु बोकेर नयाँ दिल्ली फर्किने तयारी गर्दैछ । जहाजमा बम नभेटिएपछि विमानस्थलमा अन्य आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू पनि सामान्य रुपमा भएका छन् । 

पछिल्लो समय अज्ञात समूहले भारतीय वायुयानहरूमा  ‘बम’ राखेको फेक हल्ला चलाइरहेका छन् । अहिलेसम्म दर्जनौं आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा बम राखेको हल्ला फैलाएर धम्की दिइसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्, जसले गर्दा भारतीय उड्डयन क्षेत्र नै त्रासदीमा छ । यसै क्रममा काठमाडौं आएको भिस्टाराको जहाजमा पनि बम राखेको धम्कीपूर्ण हल्लाको सामना गर्नुप¥यो । 

यसरी बम राखेको भन्दै दिइने गलत सूचना (धम्की) लाई ‘फेक कल वा होक्स कल’ भनिने सहप्रवक्ता भुलले बताए । ‘यात्रुलाई अत्याउन, कुनै पनि विमानस्थल वा वायुसेवा कम्पनीलाई बदनाम गराउन यस्ता फेक कल आउने गर्छन्,’ उनले भने, ‘अर्कोलाई दुःख दिएर वा धम्काएर आनन्द लिने इन्टेन्सन भएका व्यक्तिहरूले यस्तो फेक सूचना फैलाउने गर्छन् ।’ पछिल्लो समय एयर इन्डिया र भिस्टारा मर्ज भएर विश्वकै ठूलो वायुसेवा कम्पनी बन्ने तयारीमा छ । यस्तो बेलामा वायुसेवा कम्पनीलाई बदनाम गराउन कुनै व्यक्ति वा समूह परिचालित भएको पनि हुन सक्छन् । 

‘भिस्टाराको जहाजको बाहिरी र भित्री भाग सम्पूर्ण सुरक्षा चेकजाँच गर्दा कुनै शंकास्पद वस्तु भेटिएन,’ सहप्रवक्ता भुलले भने, ‘बम राखेको सूचनालाई फेक कल घोषणा गरेर जहाजलाई अर्को उडान गर्न रिलिज गरियो ।’