१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ६ मंगलबार २१:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

जलवायु सम्मेलनलाई सम्बोधन गर्न अजरबैजान जाँदै राष्ट्रपति पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ६ मंगलबार २१:२९:oo

जलवायुसम्बन्धी २९औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप २९) मा नेपालको नेतृत्व राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भएका छन्। सम्मेलन २६ कात्तिकदेखि ७ मंसिरसम्म अजरबैजानको बाकु सहरमा हुँदै छ। अजरबैजानका राष्ट्रपति इहाम हेइदर ओग्लु अलिभेभको निमन्त्रणामा राष्ट्रपति पौडेल सम्मेलनमा सहभागी हुन लागेका हुन्। 

‘जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको सिलसिलामा राष्ट्रपति अजरबैजानको भ्रमणमा जाने कार्यक्रम तय भएको छ,’ राष्ट्रपति पौडेलका राजनीतिक सल्लाहकार सुनीलबहादुर थापाले नयाँ पत्रिकासँग भने। राष्ट्रपति कार्यालयका जलवायु तथा वातावरणविज्ञ, परराष्ट्र एवं वन तथा वातावरण मन्त्रालयका अधिकारी पनि सम्मेलनमा सहभागी हुने कार्यक्रम छ। 

यसपालि सम्मेलनको मूल नारा ‘हरित विश्वका लागि ऐक्यबद्धता’ तय भएको छ। सम्मेलनको उद्घाटन २६ कात्तिकमा हुनेछ भने २७ र २८ कात्तिकमा विश्वका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ। राष्ट्रपति पौडेलले हिमाल र जलवायु परिवर्तन तथा जलवायु न्यायका विषयमा सम्बोधन गर्ने तयारी छ। 

राष्ट्रपति पौडेलले यसअघि अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुने क्रममा जेठ अन्तिम साता स्विट्जरल्यान्ड भ्रमणमा गएका थिए। त्यहाँबाट जर्मनी भ्रमण गरेर राष्ट्रपति पौडेल स्वदेश फर्केका थिए। राष्ट्रपति पौडेलले उपचारका लागि भारत भ्रमण गए पनि औपचारिक भ्रमण भएको छैन। उनी औपचारिक रूपमा दोस्रोपटक विदेश भ्रमणमा जान लागेका हुन्।