१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ कार्तिक ६ मंगलबार o६:o५:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

धरहराको दैलोमा सुन्धाराको बेहाल

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ६ मंगलबार o६:o५:oo

सुन्धारावरिपरिको संरचना चिराचिरा परेको छ । धारा राखिएको गहिरो ठाउँमा हिलो र पानी जमेको छ । वरिपरि बिछ्याइएका ढुंगाहरू चर्किएका छन् । सिँढीमा ढुंगा र फोहोर थुप्रिएको छ । हिटी (सुनका धारा)को टुप्पोमा खिया लागेको छ । 

२२ तलाको धरहरा ३ असोजदेखि सर्वसाधारणका लागि खुल्यो । आजभोलि धरहरा चढ्न आउनेको ठेलमठेल भिड हुन्छ । तर, टिलिक्क टल्किने धरहराको दैलोमै रहेको सुन्धाराको भने बेहाल छ । 

सुन्धारावरिपरिको संरचना चिराचिरा परेको छ । धारा राखिएको गहिरो ठाउँमा हिलो र पानी जमेको छ । वरिपरि बिछ्याइएका ढुंगाहरू चर्किएका छन् । सिँढीमा ढुंगा र फोहोर थुप्रिएको छ । हिटी (सुनका धारा)को टुप्पोमा खिया लागेको छ । जब कि भौतिक रूपमा धरहरा अग्लो भए पनि ऐतिहासिक अग्लाइ सुन्धाराकै उचो छ । मल्लकालमै बनेको सुन्धाराको आडमा भीमसेन थापाले १८८२ मा धरहरा बनाएका थिए । त्यसैले त धरहराआसपासको क्षेत्र नै सुन्धाराको नामले चर्चित छ । 

सम्पदा र संस्कृतिमा रुचि राख्नेहरूलाई सुन्धाराको स्वरूप देख्दा मन अमिलिन्छ । बिहीबार धरहरा अवलोकनमा पुगेका कीर्तिपुरका राजेश महर्जनलाई पनि यस्तै भयो । उनले भने, ‘यो ठाउँको चिनारी नै सुन्धारा हो, यो खानेपानी प्रणालीको एउटा सभ्यता पनि हो । सुन्धारा भएन भने यो ठाउँ नै अधुरो हुन्छ, बरु धरहरा पछि पुनर्निर्माण गरेर पहिले सुन्धारालाई व्यवस्थित गर्नुपथ्र्यो । एउटा जीवन्त संस्कृतिको यो रूप देख्दा दुःख लाग्यो ।’ महर्जन आफैँ पनि सांस्कृतिक सम्पदा जोगाउन लागिरहेका अभियन्ता हुन् । आफूहरूले पुरातत्व विभाग, काठमाडौं महानगरपालिकालगायतलाई सुन्धारा पुनर्निर्माणका लागि ध्यानाकर्षण गराए पनि अझै जीर्ण अवस्थामै रहेको बताए । 

एसवेला पानी आउने सुनका धारा भएकाले नै सुन्धारा नाम राखिएको थियो । यहाँ करिब २५ वर्षअघिसम्म पनि बाह्रैमास पानी आउँथ्यो । वसन्तपुरदेखि भोटेबहालसम्मका बासिन्दा सुनको धाराको पानी ग्रागीमा बोकेर लैजान्थे । स्थानीयहरू धारामै पुगेर नुहाउँथे भने बटुवाहरू तिर्खा लाग्दा सुन्धाराकै पानी पिउँथे । तर, अहिले सुनको लेपन भएका पाँच धारामध्ये दुईवटा त हराइसके  । तीन धारामा पनि सुनको लेपन उप्किएको छ । 

वसन्तपुरका बासिन्दा गौतम शाक्य बाल्यकालमा सुन्धारामा नुहाउने गरेको स्मरण गर्छन् । ‘मलाई अझै याद छ, हामी सानोमा नुहाउन र खानेपानी लिन त्यहीँ जान्थौँ, अग्ला भवन बनेपछि सुन्धारा सुक्यो, पाँच धारामध्ये दुइटा त हराइसके,’ उनले भने, ‘यसमा भइरहेको विवाद समाधान गरेर सुन्धारा छिटोभन्दा छिटो बनाउन आवश्यक छ ।’ उनले सुन्धारा सुक्नुको प्रमुख कारण आसपासमा बनेका अग्ला कंक्रिटका भवन नै रहेको बताए । 

सुन्धारावरिपरि गहिराइबाट जग उठाएर निजी मल र घरहरू बन्दा सुन्धारा सुक्ने क्रम सुरु भयो । अहिले त सरकारले नै धरहरामै पार्किङका लागि भन्दै भूमिगत दुई तला बनाएको छ । यसरी संरचना बन्दा नै सुन्धारामा पानी आउने प्रणाली अर्थात् बाटो खलबलिएको सरोकारवालाहरू बताउँछन् । २५ वर्षअघिसम्म बाह्रैमासा पानी झर्ने सुन्धारामा १५ वर्षअघिसम्म पनि बर्खायाममा पार्नी आउँथ्यो । तर, अहिले पानीको थोपा नै चुहिँदैन । 

सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन निकायका प्रमुख प्रकाश अर्याल सुन्धारालाई के गर्ने भन्नेमा अझै अन्योल रहेको बताउँछन् । ‘सुन्धाराको विषयमा के गर्ने भन्नेबारे अन्योल छ,’ उनले भने, ‘यदि पुरातत्वलाई दिने हो भने हामीले मात्रै दिएर हुँदैन, माथिल्लो निकायको सहमति चाहिन्छ ।’

०७२ को भूकम्पमा सुन्धाराको बाहिरी संरचनामा समेत असर पार्‍यो । पुराना पर्खाल र भुइँमा बिछ्याइएका ढुंगा भूकम्पमा चर्किए । त्यसलाई मर्मत–सम्भार गरेर सुन्धारामा पानी खसाल्नेसहितको योजना अघि सार्न स्थानीयले काठमाडौं महानगरपालिकालाई ध्यानाकर्षण गराएका थिए । धरहराको पुनर्निर्माण गरिरहेको रमण कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर दीपक सिंहले सुन्धारा र धरहराको पुरानो ठुटो भने आफूहरूले नछुने बताए । ‘सुन्धाराको विषय हाम्रो प्रोजेक्टभित्र छैन, सुन्धारा र पुरानो ठुटो हामी छुँदैनौँ, यो पुरातत्वले बनाउने हो,’ उनले भने, ‘सुन्धारा पुनर्निर्माणका लागि स्थानीयवासीले पनि सहजीकरण गरिदिनुपर्छ ।’

सुन्धारा र भत्किएको पुरानो धरहराको ठुटोको संरक्षण अलमलमा छ । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगले भने सहरी विकास मन्त्रालयले सुन्धारा र धरहराको ठुटो हस्तान्तरण नगर्दा काम अघि बढाउन नसकिएको बताइन् । ‘पुनर्निर्माण प्राधिकरण खारेजपछि भूकम्पसँग सम्बन्धित पुनर्निर्माण र संरचना हेर्ने जिम्मा सहरी विकास मन्त्रालयको हो, तर सुन्धारा र धरहराको ठुटोलाई हामी संरक्षण र पुनर्निर्माण गर्छौँ भन्दा पनि सहरी विकासले कार्यक्रम हस्तान्तरण गरेको छैन,’ उनले भनिन्, ‘बजेटसहित सहरी विकासले सुन्धारा पुनर्निर्माण हामीलाई हस्तान्तरण गर्‍यो भने सुन्धारा व्यवस्थित र पुरानै अवस्थामा पुर्‍याउँछौँ ।’ यसअघि सुन्धाराको मौलिकताको विषयमा स्थानीयले विभिन्न माग राखेर विवाद गरे पनि अहिले विवाद नहुने र मिल्ने अवस्था रहेको बताउँदै जतिसक्दो छिटो पुनर्निर्माण गर्नुपर्ने बताइन् ।

मौलिकताका लागि भए पनि सुन्धाराको पुनर्निर्माण गर्दा धारामा सुन लेपन गर्नुपर्ने हुन्छ । दुईवटा धारामा यसअघि लेपन गरिएको सुन खुइलिएको छ । त्यसमा लेपन गर्न एक किलो लाग्ने पुरातत्व विभागको अनुमान छ । धरहरा पुनर्निर्माण गरेको ठेकेदार कम्पनीले यसअघि सुनको लागत स्टिमेट गर्दा करिब ६० लाखको सुन लाग्न सक्ने अनुमान गरेको थियो । 

संस्कृतिविद् हरिराम जोशीले सुन्धारा र वसन्तपुर क्षेत्रमा रहेका सबैजसो ढुंगेधारा सुकेको बताए । यी क्षेत्रका ढुंगेधारामा पानी आउन छाड्नुको मुख्य कारण अग्ला र अन्डरग्राउन्डसहितका नयाँ भवन नै हुन् । डिपबोरिङ र अन्डरग्राउन्डसहितका भवनले ऐतिहासिक महत्व बोकेको सम्पदालाई नै खतरामा पारेको जोशीको भनाइ छ । ‘सुनको धाराबाट कलकल पानी आउने सुन्धाराको इतिहास हो, सहरमा नयाँ–नयाँ भवन बन्दै जाँदा ढुंगेधारामा पानी आउन छाड्यो, आधुनिक विकासले परम्परागत पानी प्रणालीलाई ख्याल गरिएन,’ उनले भने । 

सुन्धारा पुनर्निर्माणलाई लिएर विगतमा भएको थियो विवाद
केन्द्र सरकारले सुन्धारालाई पनि नयाँ धरहरा र वरिपरिको संरचनासँगै पुनर्निर्माण गर्न खोजेको थियो । तर, अन्य कंक्रिट संरचना बनाउने ठेकेदारलाई ऐतिहासिक सुन्धारा पुनर्निर्माण गर्न दिन नहुने भन्दै स्थानीय बासिन्दाले रोकेका थिए । स्थानीयले बाहिरी आकार मात्रै नभएर भित्री संरचना अर्थात् धाराको पानीको निकास पनि व्यवस्थित हुनुपर्ने माग राखेका थिए । तर, ठेकेदारले निकास भेटाउन नसक्ने र बाहिरी संरचना मात्रै निर्माण गर्ने भनेपछि स्थानीयले रोकेका थिए । 

जानकारहरूका अनुसार सुन्धाराको पुरानो निकास टुकुचा खोलामा जोडिएको छ । तर, अहिले यसमा जोड्न निकै कठिन छ । दुई–तीन तलासम्म भूमिगत पार्किङ बनाउँदा निकास नै मासिएको छ । सुन्धारा गहिरो स्थानमा छ । भूमिगत पार्किङ नभएको ठाउँबाट निकास खोजे पनि टुकुचामा जोड्न २७ फिट गहिरो खन्नुपर्छ । तर, त्यो सम्भव देखिँदैन । तर, यसअघि ०७९ मा सुन्धारा क्षेत्रको पानी निकास हुने गहिराइबराबरको पाइप पनि भेटिएकाले निकास त्यसबाटै पठाउने कि भन्ने विषयमा पनि पुरातŒव र स्थानीयबिच छलफल भइरहेको छ ।