१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
२o८१ असोज १४ सोमबार o७:३५:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

२६ जलविद्युत्मा अढाई अर्ब क्षति

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार o७:३५:oo

बिहीबार रातिबाट आइतबार दिउँसोसम्म अविरल परेको वर्षापछि आएको बाढीले देशभरका २६ जलविद्युत्गृहमा अढाई अर्ब रुपैयाँबराबरको पूर्वाधारमा क्षति पुर्‍याएको प्रारम्भिक आकलन छ । यसमध्ये ६२५.९६ मेगावाट विद्युत् उत्पादन भइरहेका ११ परियोजना छन् ।

निर्माणाधीन एक हजार १० मेगावाटजडित क्षमताका १५ परियोजनामा पनि क्षति पुगेको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार सबैभन्दा ठुलो जलविद्युत्गृह माथिल्लो तामाकोशीमा अनपेक्षित क्षति भएको, तर यकिन विवरण संकलन भइसकेको छैन । त्यस्तै, मकवापुरस्थित २२ मेगावाटको बागमती साना जलविद्युत्को विद्युत्गृहमा एक अर्ब रुपैयाँको क्षति पुगेको छ । २२.१ मेगावाटको तल्लो हेवा खोला डुबानमा परेको छ । असार ०८० को बाढीले पनि उक्त परियोजना प्रभावित भएको थियो । यसपटक उक्त परियोजनामा २५ करोड रुपैयाँ क्षति भएको छ ।

१४.९ मेगावाटको हेवा खोला–१ जलविद्युत् परियोजना यसै साताबाट सञ्चालनमा आउने तयारीमा थियो । तर, पावरहाउसलगायत संरचनामा क्षतिग्रस्त भएको छ । ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत् परियोजनाको हेडवक्र्समा क्षति पुगेको छ । तीन मेगावाटको माइखोला क्यासकेडको बाँध र टेलरेसमा क्षति पुगेको छ । उक्त परियोजनामा पाँच करोड रुपैयाँको क्षति भएको छ । 

त्यसैगरी, ९.६ मेगावाटको माई खोला जलविद्युत् परियोजनाको बाँध र प्रसारणलाइन क्षतिग्रस्त हुदाँ सात करोड रुपैयाँको नोक्सानी भएको छ । एक मेगावाटको फेमे खोला जलविद्युत् परियोजना बाँध र विद्युत्गृह पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । जसकारण १० करोड रुपैयाँको क्षति भएको प्रवद्र्धक कम्पनीको भनाइ छ । 

पाँच मेगावाटको सिउरी खोला, दुई मेगावाटको खानी खोला र ४.३६ मेगावाटको टुंगुन ठोस्ने जलविद्युत्मा असर परेको छ । त्यस्तै, निर्माणाधीन अवस्थामा रहेका १५ आयोजनामा पनि ठुलो क्षति पुगेको ऊर्जा मन्त्रालयले जनाएको छ ।बाढीपहिरोका कारण तीनवटा प्रसारणलाइनमा समेत क्षति पुगेको छ । शनिबार खिम्ती–लामो साँघु प्रसारणलाइनको दुई नम्बर टावर तामाकोशी नदीले बगाएको थियो । सोही प्रसारणलाइनबाट काठमाडौंमा पनि विद्युत् आपूर्ति गरिन्छ । तर, उक्त प्रसारणलाइन सञ्चालन नभएपछि अहिले काठमाडौंको विद्युत् अपूर्ति प्रभावित भइरहेको छ । त्यस्तै, सोलु करिडोरको प्रसारणलाइन पनि क्षतिग्रस्त भएको छ ।

पुनर्निर्माणमा सरकारले सहयोग गर्छ 
वर्षाले जति भएको छ, त्यो दुःखद हो । माथिल्लो तामाकोशीमा मानवीय क्षति हुनु दुःखद छ । मौसम पूर्वानुमानअनुसार पहिला नै सतर्क भएर सम्भावित क्षति न्यूनीकरण गर्ने काम परियोजनाहरूबाट भयो । त्यसले गर्दा यतिको ठूलो बाढीपहिरोमा पनि धेरेै नोक्सानी हुन पाएन । अब यसको पुनर्निर्माणमा सरकारले आवश्यक सहयोग र सहकार्य गर्नेछ ।

 नबन्दै बाढीमा परेका १५ परियोजना

  • दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ मा १० करोडको क्षति ।  
  • पाँच मेगावाटको हेवा खोलाको क्रसर पुरिएको छ । १० करोड क्षति । 
  • १५ मेगावाटको सभा खोला ‘बी’मा कुल ७ करोडको क्षति । 
  • ६.३ मेगावाटको सभा खोला ‘सी’को पहुँचमार्ग क्षतिग्रस्त छ । ३ करोडको क्षति । 
  • ८६.५९ मेगावाटको लान्दुक मोदीमा ८ करोडको नोक्साानी । 
  • १०० मेगावाटको सुपर त्रिशूलीको स्काभेटर, लोडर, ट्रिपर र बेलीब्रिज बगाउँदा २५ करोडको नोक्सानी । 
  • १४.९ मेगावाटको मायाखोलामा बाँध र पहुँचमार्गसहित दुई करोड क्षति । आठ आयोजनामा भएको क्षति मूल्यांकन हुन बाँकी छ
  • ९९.४ मेगावाटको लाप्चे, ४० मेगावाटको भोटेकोशी–१, ८२ मेगावाटको तल्लो सोलु, १४० मेगावाटको तनहुँ, २० मेगावाटको लाङटाङ, ४० मेगावाटको सुपर न्यादी, २५ मेगावाटको इलेप र १२० मेगावाटको रसुवा भोटेकोशीको क्षति यकिन हुन बाँकी छ ।

 विद्युत् उत्पादन भइरहेका ११ जलविद्युत्मा भएको क्षति
-माथिल्लो तामाकोशी, दोलखा (४५६ मेगावाट)
क्षति : यकिन भइनसकेको
-बागमती जलविद्युत्, मकवानपुर (२२ मेगावाट)
क्षति : १ अर्ब 
-हेवा खोला जलविद्युत्, पाँचथर (२२.१ मेगावाट)
क्षति : २५ करोड
-हेवा खोला १, पाँचथर (१४.९ मेगावाट)
क्षति : यकिन भइनसकेको
-सोलु दुधकोशी, सोलुखुम्बु (८६ मेगावाट)
क्षति : यकिन हुन नसकेको
-माई खोला क्यासकेड, इलाम (३ मेगावाट)
क्षति : ५ करोड
-माई खोला जलविद्युत्, इलाम (९.६ मेगावाट)
क्षति : ७ करोड 
-फेमे खोला जलविद्युत्, पाँचथर (१ मेगावाट)
क्षति : १० करोड
-सिउरी खोला जलविद्युत्, लमजुङ (५ मेगावाट)
क्षति : २ करोड
-खानी खोला जलविद्युत्, ललितपुर (२ मेगावाट)
क्षति : १० करोड
-टुंगुन ठोस्ने जलविद्युत्, ललितपुर (४.३६ मेगावाट)
क्षति : १५ करोड

विद्युत् उत्पादन १८ सय मेगावाटमा सीमित
शुक्रबारसम्म दैनिक २८–२९ सय मेगावाट विद्युत् उत्पादन भइरहेकोमा जलविद्युत्गृहमा भएको क्षतिले बिजुली उत्पादन घटेको छ । अहिले दैनिक १८ सय मेगावाट राष्ट्रिय प्रसारणलाइनमा जडान भएको विद्युत् प्राधिकरणले जनाएको छ । यसअघि शनिबार दिउँसो उत्पादन ६–७ सय मेगावाटमा सीमित भएको थियो । उक्त समयमा माग धान्न भारतबाट विद्युत् आयात गरिएको थियो ।

निर्यातमा कटौती,जरिवाना लाग्ने जोखिम
उत्पादन घटेपछि भारततर्फको विद्युत् निर्यात पनि कटौती गरिएको छ । शुक्रबारसम्म भारतमा आठ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात गरिएकोमा आइतबार दुई सय ५० मेगावाट हाराहारी मात्रै निर्यात भइरहेको प्राधिकरणका प्रवक्ता चन्दन घोषले जानकारी दिए । ‘उत्पादन घटेपछि विद्युत् निर्यात प्रभावित भएको छ । अहिले मध्यकालीन सम्झौताअन्तर्गतको विद्युत् निर्यात भइरहेको छ,’ उनले भने, ‘तर, खुला बजारमा प्रतिस्पर्धी मूल्यमा विद्युत् बिक्री गर्न पुगेको छैन ।’ शनिबार तोकिएको परिमाणमा विद्युत् निर्यात नहुँदा भारतलाई पेनाल्टी तिर्नुपर्ने अवस्था रहेको उनले बताए ।

२१ सय ७१ वटा बिजुलीका पोल ढले, ४७ ट्रान्सफर्मर क्षतिग्रस्त
प्राधिकरणका अनुसार देशभर २१ सय ३१ वटा टावर ढलेका छन् । त्यसमा लुम्बिनीमा एक सय ४३, कर्णालीमा चार सय ७२, सुदूरपश्चिममा ७९, कोशीमा तीन सय ४३, मधेशमा तीन सय २८ र बागमतीमा सात सय ६६ वटा वितरण लाइनका पोल ढलेका छन् । यसैगरी, देशभर ४७ वटा ट्रान्सफर्मर पनि क्षतिग्रस्त भएका छन् । त्यसमा गण्डकीमा १५, लुम्बिनीमा चार, सुदूरपश्चिममा आठ, कोशीमा तीन, मधेशमा दुई र बागमतीमा १५ वटा ट्रान्सफर्मर क्षतिग्रस्त भएका छन् । यसको पनि क्षति रकम यकिन हुन बाँकी छ । 

काबेली करिडोरको चारवटा टावरमा क्षति, १८५ मेगावाट उत्पादन बन्द 
इलामको माई नदीमा आएको बाढीले काबेली करिडोरको एक सय ३२ केभी प्रसारणलाइनका चारवटा टावरमा क्षति पुर्‍याएको छ । बाढीले प्रसारणलाइनमा क्षति पुर्‍याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरूको करिब एक सय ८५ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । टावर ढल्नुभन्दा अगाडि उक्त लाइनबाट दैनिक रूपमा १८०–१८५ मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो । काबेली करिडोरअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको  खण्डमा पर्ने ५०, ५१, ५२ र ५३ नम्बर टावरलाई माई नदीको बाढीले क्षति पुर्‍याएको हो ।