१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
२o८१ असोज १४ सोमबार o८:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पहिरोले राजमार्ग अवरुद्ध हुँदा नागरिकलाई सास्ती : भौतिक पूर्वाधारमन्त्रीलाई  बधाई थाप्न भ्याइनभ्याई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार o८:५३:oo

 मुलुकले बाढीपहिरोको त्रासदी भोगिरहेका वेला भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल भने सम्मान र बधाई थाप्नमा व्यस्त रहे । दसैँको मुखमा कसरी चाँडो सडक खुलाउने भनेर २४सै घण्टा खटिनुपर्ने वेला विभागीय मन्त्री भने गृहजिल्लामा रमाइरहे । उनी आइतबार मात्रै काठमाडौं फर्केका छन् । 

तीन दिनको वर्षाले धेरैजसो राजमार्गमा क्षति पुगेको छ । काठमाडौं उपत्यकासँग जोडिएका राजमार्ग अवरुद्ध छन् । पुल भत्किएर तथा बगाएर नागरिकले सास्ती व्यहोरिरहेका छन् । अपेक्षाकृत उद्धार नहुँदा नागरिकहरू ठाउँठाउँमा अलपत्र छन् । यस्तो वेला भौतिक पूर्वाधारमन्त्री झनै सक्रिय हुनुपर्ने हो– सचिव, विभागीय प्रमुखसँगको सहकार्यमा सडक खुलाउन । दसैँ नजिकिएसँग सर्वसाधारणले राजधानी छाड्ने गर्छन् । क्षतिग्रस्त सडक, पुल चाँडो निर्माणका लागि सक्रियता र सडक यातायात सञ्चालनका लागि सहजतामा भूमिका खेल्नुपर्नेमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालको प्राथमिकतामा नागरिक परेका छैनन् ।

तीन दिनअघि गृहजिल्ला झापा पुगेका मन्त्री दाहाल संकटका वेला पनि सम्मान थापेर गृहजिल्लामै बसिरहे । उनले आइतबार गृहजिल्लामा एमाले झापाको स्वागत तथा बधाई थापेका छन् । झापामा सञ्चालित योजनाको अनुगमन गर्न पुगेका भनिए पनि उनी एमालेले बधाई तथा शुभकामनामा व्यस्त देखिए । उनी आइतबार काठमाडौं फर्केका छन् ।

एमाले झापाका अध्यक्ष प्रेम गिरीले मन्त्री दाहाललाई खासमा जिल्लाका योजना दिने कार्यक्रम राखिए पनि योजना दिने कार्यक्रमभन्दा असहज सुनिने भएपछि स्वागत तथा बधाई कार्यक्रम राखिएको जिकिर गरे । यद्यपि, कार्यक्रममा मन्त्री दाहाललाई बधाईपत्र नै टक्य्राइएको थियो । ‘जिल्लाका योजना अनुगमन गर्न आउनुभएको थियो । शनिबार नै अनुगमन सकिएको हो । तर, प्लेन नपाएर बस्नुभयो । उहाँ आइतबार काठमाडौं फर्कनुभयो,’ उनले भने, ‘हामीले सम्मान गरेका होइनौँ । योजना, मागपत्र दिने कार्यक्रम राखेको हो । तर, त्यसो भन्न असहज हुने भएकाले स्वागत तथा बधाई कार्यक्रम राख्यौँ,’ एमाले झापा अध्यक्ष गिरीले नयाँ पत्रिकासँग भने ।