१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
रिचार्ड हास
२o८१ असोज १३ आइतबार ११:४६:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नयाँ ‘ग्याङ अफ फोर’को चुनौती

Read Time : > 2 मिनेट
रिचार्ड हास
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार ११:४६:oo

ग्याङ अफ फोरको सामना गर्ने प्राथमिक औजार युरोप र हिन्द–प्रशान्त क्षेत्रमा अवस्थित अमेरिकी गठबन्धनलाई बलियो बनाउनु हो 

'ग्याङअफ फोर’ अर्थात् ‘चारजनाको गिरोह’ले मूल रूपमा चिनियाँ सांस्कृतिक क्रान्तिको कट्टरपन्थी पक्षसँग जोडिएका चार वरिष्ठ चिनियाँ अधिकारीलाई जनाउँथ्यो । माओत्सेतुङको निधनपछि यी चारजनालाई गिरफ्तार गरेर जेल हालियो । आज फेरि एक नयाँ ग्याङ अफ फोर देखापरेको छ जसमा चीन, इरान, उत्तर कोरिया र रुस पर्छन् । औपचारिक गठबन्धन नभए पनि यो समूह अमेरिकी नेतृत्वमा रहेको विश्व व्यवस्थाका कट्टर विरोधी हुन् । र, यो समूहमा सैन्य, आर्थिक र राजनीतिक समर्थन आदानप्रदान हुने गर्छ ।

नयाँ ग्याङ अफ फोरले पश्चिमा उदारवादको फैलावट रोक्न खोज्छ । यो समूहले उदारवादलाई आफ्नो सत्ता र अधिनायकवादी प्रणालीका लागि खतराका रूपमा हेर्छ । समूहले अमेरिकी नेतृत्व र यसका मापदण्डको पनि विरोध गर्छ । विशेषतः बलद्वारा गरिने भूमि अधिग्रहणको विरोध गर्छ । यी समर्थनका विभिन्न रूप छन् ः रुसले युक्रेनमा सन् २०२२ मा आक्रमण गर्नुअघि चीनले रुससँग ‘सीमाविहीन’ मित्रताको घोषणा गरेको थियो । त्यसैगरी, रुसले ताइवानमाथि चीनको अडानलाई समर्थन गरेको छ । त्यसयता चीनले युक्रेन युद्धबारे रुसी भाष्य प्रतिध्वनित गर्दै आएको छ जहाँ चीनले नेटोलाई दोषी बनाउँदै र रुसी मिथ्या सूचनालाई प्रोत्साहन गरिरहेको छ ।

आर्थिक रूपमा चीनले रुसमा युद्धसम्बन्धी प्रतिबन्धको विरोध गर्छ । चीन इरानको तेलको सबैभन्दा ठुलो आयातकर्ता हो र उत्तर कोरियाप्रति चीनको सदासयता छ । इरानले रुसलाई क्षेप्यास्त्र र ड्रोन उपलब्ध गराउँछ जब कि उत्तर कोरियाले तोपखाना गोला आपूर्ति गर्छ र चीनले रुसलाई सैन्य अनुप्रयोगसाथ दोहोरो प्रयोग प्रविधि प्रदान गर्छ । बदलामा रुसले यी देशलाई तिनको आणविक, क्षेप्यास्त्र वा पनडुब्बी कार्यक्रम बढाउन र पश्चिमी हतियारबारे खुफिया जानकारी साझा गर्न मद्दत गर्छ । र, सन् १९७० को दशकमा चीन–सोभियत विभाजनविपरीत दोहन गर्न सकिने विभाजन मौजुद छैनन् । यसबाहेक विश्वव्यापी अर्थतन्त्रमा चीनको गम्भीर संलग्नताका कारण चीनलाई व्यापार वा लगानी प्रतिबन्धमार्फत अलग्याउने प्रयासका पनि सीमितता छन् ।

चीन आफ्नो विदेश नीति लक्ष्यलाई अनुकूलन गर्न अन्तर्राष्ट्रिय व्यवस्थालाई उल्टाउनुको सट्टा पुनः आकार दिन खोज्दै समूहका अन्य तीन सदस्यभन्दा पृथक् छ । इरान, उत्तर कोरिया र रुस विश्वव्यापी अर्थतन्त्रमा चीनजति जोडिएका छैनन्, तर आपसी र भारतजस्ता अन्य व्यापार साझेदारमा भर पर्छन् किनभने यी साझेदारले रुसी ऊर्जा र हतियार खरिद गरी नै रहेका छन् । कथित दक्षिणी गोलार्धका देशले रुसको निन्दा वा प्रतिबन्धलाई समर्थन गर्ने मामिलामा उदासीनता व्यक्त गरेका छन् । उत्तरकोरिया सबैभन्दा पृथक् छ । र, चीनले अस्थिरताबाट बच्न उत्तर कोरियाली पतनलाई रोक्छ र उत्तर कोरियाली तोपखानामा निर्भर रुसले किम जोङ–उनको शासनलाई आफ्नो समर्थन बढाउने सम्भावना छ ।

यो चुनौती सामना गर्न अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाले आफ्नो आणविक र क्षेप्यास्त्र कार्यक्रम सीमित गरेमा प्रतिबन्ध खुकुलो पार्ने विचार गर्न सक्छन् । बलियो अमेरिका–दक्षिण कोरिया सम्बन्धले उत्तर कोरियाको आक्रामकतालाई रोक्नुपर्छ । रुसले युक्रेनमा जित्नु हुँदैन । निरन्तर सैन्य समर्थन एवं सुरक्षा आश्वासन र युक्रेनलाई युरोपियन युनियनको सदस्यता पनि दिन आवश्यक छ । यसो गर्दा भ्लादिमिर पुटिनलाई पश्चिमलाई पछाडि पार्न सकिँदैन भन्ने सन्देश दिनेछ । यी कदमले सम्भावित रूपमा युक्रेनको स्वतन्त्रता जोगाउँदै कूटनीतिका लागि मार्गप्रशस्त गर्छ । युक्रेनको रक्षाले चीनलाई पनि ताइवानसँग मनलाग्दी गर्न नसक्ने संकेत पनि दिन्छ ।

इरानका लागि दीर्घकालीन प्राथमिकता भनेको आवश्यक परेमा कूटनीति वा सैन्य बलमार्फत परमाणु हतियार विकासमा रोक लगाउनु हो । तत्कालका लक्ष्यमा मध्यपूर्वमा आफ्ना छद्म लडाकु समूहका लागि तेहरानको समर्थन रोक्न र इजरायल–हमास द्वन्द्वलाई क्षेत्रीय रूपमा भड्किनबाट रोक्न आवश्यक छ । आफ्नो रणनीतिक महत्वाकांक्षा र आर्थिक एवं सैन्यशक्तिको प्रयोगलाई ध्यानमा राख्दै चीनले सबैभन्दा जटिल चुनौती खडा गरेको छ । प्रविधि र बजारको पहुँचमा चीनको चासोको फाइदा उठाउँदै चीनको व्यवहारलाई प्रभाव पार्न संवाद, प्रतिरोध र आश्वासनको मिश्रण आवश्यक हुनेछ । 

अमेरिका र यसका साझेदारले ग्याङ अफ फोर कायम रहने र सम्भावित रूपमा गम्भीर हुने अनुमान गर्नुपर्छ, तर कूटनीतिलाई औजारकै रूपमा भए पनि जारी राख्नुपर्छ । यसले अमेरिकाले नीति परिवर्तन खोज्छ सत्ता परिवर्तन होइन भन्ने संकेत गर्छ र यसो गर्दा ग्याङलाई संयमित गर्न सकिन्छ । अमेरिका, युरोप र हिन्द–प्रशान्त क्षेत्रमा रक्षा औद्योगिक आधारको मर्मतका साथै सम्भावित बहुक्षेत्रीय द्वन्द्वका लागि सैन्य क्षमता एकीकरण आवश्यक छ । र, पश्चिमले यी चार देशको निर्भरतालाई बेवास्ता गर्दै महत्वपूर्ण वस्तुका लागि स्वतन्त्र आपूर्ति शृंखला स्थापना गर्नुपर्छ ।

चीनको महत्वपूर्ण आणविक निर्माण, उत्तर कोरियाको प्रयास र सन् २०२६ मा रुससँगको न्यु स्टार्ट सम्झौताको आसन्न म्याद सकिँदै गएको अवस्थामा अमेरिकाले आफ्नो आणविक हतियारलाई आधुनिकीकरण गर्नुपर्छ । घरेलु रूपमा अमेरिकाले आफ्नो ऋण घटाउनुपर्छ जुन त्यहाँको कुल गार्हस्थ्य उत्पादनभन्दा बढी छ र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई बाधा पुर्‍याउने राजनीतिक विभाजनलाई बेवास्ता गर्नुपर्छ । ग्याङ अफ फोरको सामना गर्ने प्राथमिक औजार युरोप र हिन्द–प्रशान्त क्षेत्रमा अवस्थित अमेरिकी गठबन्धनलाई बलियो बनाउनु हो । अमेरिकाले लगातार उपस्थिति सुनिश्चित गर्न आवश्यक छ, जब कि यसका साझेदारले साझा प्रतिरक्षामा बढी योगदान दिनुपर्छ र ग्याङ अफ फोरबाट आउने साझा चुनौतीलाई सम्बोधन गर्ने नीतिमा समन्वय गर्नुपर्छ ।

(हास वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्) प्रोजेक्ट सिन्डिकेटबाट